१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

क्लाउड फ्याक्ट्रीले जित्यो कर्पोरेट क्रिकेटको उपाधि

तेस्रो संस्करणको सीई कर्पोरेट टि-टेन इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि क्लाउड फ्याक्ट्रीले जितेको छ। 

काठमाण्डौ बुढानिलकण्ठ, चुनिखेल स्थित रोयल स्पोर्ट्स पार्कमा शनिबार राति सम्पन्न फाइनलमा क्लाउड फ्याक्ट्रीले राष्ट्रिय वाणिज्य बैंकलाई ५ विकेटले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्‍यो। 

फाइनल जित्न पाएको ७३ रनको लक्ष्य क्लाउड फ्याक्ट्रीले १ बल बाँकी हुँदा ९.५ ओभरमा ३ विकेट गुमाएर भेटायो। 

क्लाउड फ्याक्ट्रीको लागि ओपनर जुलेन महर्जनले सर्वाधिक २७ रन बनाए। यस्तै सुबोध ढुङ्गेलले १५, चन्द्र कुमार राईले अविजित ११ तथा सबिन डिसीले अविजित ५ रन बनाए। 

यसअघि टस हारेर ब्याटिङ गरेको राष्ट्रिय वाणिज्य बैंकले निर्धारित १० ओभरमा २ विकेट गुमाएर ७२ रन बनाएको थियो। 

वाणिज्य बैंकको लागि ओपनर विवेक श्रेष्ठले सर्वाधिक ३१ रन बनाए भने कप्तान सुशील देवकोटाले अविजित २८ रन बनाए। 

उपाधि विजेता क्लाउड फ्याक्ट्रीले १ लाख १ हजार रुपैयाँ तथा उपविजेता राष्ट्रिय वाणिज्य बैंकले ५० हजार ५ सय रुपैयाँ पुरस्कार पायो। 

प्रतियोगिताकै उत्कृष्ट खेलाडी क्लाउड फ्याक्ट्रीका सुबोध ढुङ्गेल घोषित भए। उनले १० हजार रुपैयाँ पाए। यस्तै उत्कृष्ट ब्याटर सलिकोका स्पन्दन न्यौपाने, उत्कृष्ट बलर सिद्धार्थ बैंकका सञ्जीव मदैया, उत्कृष्ट विकेटकिपर सिद्धार्थ बैंकका ब्रिज नन्दन तिवारी घोषित भए जसले समान ५ हजार रुपैयाँ पाए। मस्ट चियर्ड टिमको अवार्ड एनएलजी इन्सुरेन्सले पायो। यस्तै फेयर प्ले टिमको अवार्ड हिमालयन एभरेष्ट इन्सुरेन्सले पायो। यस्तै इनर्जेटिक टिमको अवार्ड सानिमा जीआईसी इन्सुरेन्सले पायो। 

सीई कन्स्ट्रक्सनको आयोजना र चित्रा स्पोर्ट्सको सहकार्यमा दुई दिन चलेको प्रतियोगितामा १२ कर्पोरेट टिमको सहभागिता रहेको थियो।

प्रकाशित: २३ कार्तिक २०८२ ११:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App