नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्समाथि ४ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ।
कर्णालीले प्रस्तुत गरेको १६७ रनको लक्ष्य चितवनले १९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। चितवनको जितमा रवि बोपारा र सैफ जैबले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरे।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सका लागि प्रियंक पञ्चालको विस्फोटक ब्याटिङका बाबजुद टोली पराजित हुन पुग्यो।
१६७ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको चितवन राइनोजले सन्तुलित ब्याटिङ प्रदर्शन गर्यो। उसका लागि अनुभवी अलराउन्डर रवि बोपाराले सर्वाधिक ५२ रनको योगदान दिए। ३६ बलको सामना गरेका उनले ३ चौका र ३ छक्का प्रहार गरे।
त्यस्तै, दीपक बोहराले ४२ रन जोड्दा कप्तान कुशल मल्लले २० रन बनाए। अन्त्यतिर आक्रामक ब्याटिङ गरेका सैफ जैबले केवल १६ बलमा २ चौका र ४ छक्काको मद्दतले ३८ रनको महत्वपूर्ण पारी खेल्दै टोलीको जित सुनिश्चित गरे।
खेलको १९ औं ओभरमा बोपारा आउट भएपछि खेल केही रोमाञ्चक मोडमा पुगेको थियो। तर अर्जुन साउदले अविजित ८ रन बनाउँदै ५ बल बाँकी छँदै टोलीलाई जित दिलाए।
कर्णालीका लागि सोमपाल कामीले सर्वाधिक २ विकेट लिए भने मार्क वाट, युनिश सिंह र युवराज खत्रीले एक-एक विकेट लिए।
यसअघि, पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६६ रन बनाएको थियो। उसका लागि ओपनर प्रियंक पञ्चालले उत्कृष्ट ब्याटिङ गर्दै मात्र ४८ बलमा ७ चौका र ६ छक्कासहित ९० रनको विशाल पारी खेले। उनी शतक बनाउनबाट १० रनले चुके।
पञ्चालले पहिलो विकेटका लागि म्याक्स ओडोडसँग ६१ रनको साझेदारी गरे। ओ'डडले ३० बलमा २० रन जोडे। त्यस्तै, पवन सर्राफले १६ बलमा १ चौका र ३ छक्कासहित अविजित २७ रन बनाउँदा मार्क वाटले १६ रनको योगदान दिए।
चितवनका लागि रवि बोपारा, सैफ जैब र सोहेल तनवीरले एक-एक विकेट लिए। बोपारा र जैबले ब्याटिङमा मात्र नभई बलिङमा पनि किफायती प्रदर्शन गरेका थिए।
यो जितसँगै चितवन राइनोजले प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
प्रकाशित: २ मंसिर २०८२ १५:२६ मंगलबार





