क्रिकेट क्लब चितवन राइनोजले आफ्ना समर्थकलाई काठमाडौं लैजाने र ल्याउने बसको व्यवस्था गरेको छ। नेपाल प्रिमियम लिग (एनपीएल)को फ्रेन्चाइज टिम चितवन राइनोजले आफ्नो खेल हुने दिनमा चितवनका समर्थकलाई चितवनदेखि काठमाडौंसम्म नि:शुल्क बस सेवाको व्यवस्था गरेको हो।
राइनोजको खेल हुने दिन बिहान खेल हुँदा ५ बजे र दिउँसो खेल हुँदा बिहान ९ बजे चितवनबाट बस छुट्ने चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले जानकारी दिए। खेल समाप्त भएपछि पुन: चितवन ल्याइने छ। यसका लागि ६ वटा बसको व्यवस्था गरिएको छ। खेलको अनलाइन टिकट हुने दर्शकलाई बसमा लैजाने व्यवस्था गरिएको हो।
बस चितवन मेडिकल कलेज (सीएमसी)को प्राङ्गणबाट छुट्ने छ भने समर्थकलाई त्रिवि मैदानसम्म लैजाने छ। चितवन राइनोजको पहिलो खेल आज ११:४५ बजे कर्णाली याक्ससँग भइ रहेको छ। यसैगरी मङ्सिर ४ गते दिउँसो ४ बजे लुम्बिनी लायन्ससँग, मङ्सिर १० गते ४ बजे विराटनगर किङ्ससँग, मङ्सिर १२ गते ११:४५ बजे काठमाडौं गोर्खाजसँग चितवन राइनोज खेल्दैछ। यसैगरी मङ्सिर १६ गते ११:४५ बजे जनकपुर बोल्टस्सँग, मङ्सिर १८ गते ४ बजे सुदूरपश्चिम रोयल्ससँग र मङ्सिर २० गते ३:३० बजे पोखरा एभेन्जरसँग चितवन राइनोज खेल्दैछ। यी खेलपछि अंक तालिकाका आधारमा अरु खेल तय हुने छन्।
खेलको पूर्वसन्ध्यामा चितवन र आसपासका जिल्लामा चितवन राइनोजको समर्थनमा ठाउँठाउँमा झण्डा, तुल, ब्यानर, स्टिकर टाँसिएका छन्।
प्रकाशित: २ मंसिर २०८२ १२:१८ मंगलबार





