१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

‘चेल्सीमा पर्याप्त समय दिनुपर्छ’

चेल्सीका प्रशिक्षक लियाम रोजेनियरले पर्याप्त समय आफूले पाएको खण्डमा लामो समयदेखि क्लबको अस्थिरता अन्त्य गर्न सकिने विश्वास व्यक्त गरेका छन्।

फ्रेन्च क्लब आरसी स्ट्रासबर्गबाट उनी गत जनवरीमा इन्जो मारेस्काको स्थानमा चेल्सीको प्रशिक्षण समाल्न आएका हुन्। साथै ४१ वर्षे रोजेनियर चेल्सीका सहमालिकद्वारा नियुक्त गरिएको पाँचौं स्थायी प्रशिक्षकसमेत बने। केयर टेकर (अस्थायी प्रशिक्षक) हरूलाई समेत गणना गर्दा पछिल्लो ६ वर्षमा उनी चेल्सीको प्रशिक्षण समाल्ने नवौं प्रशिक्षक हुन्।

यही अवधिमा मिकेल आर्टेटाले इङ्लिस प्रिमियर लिगमा आर्सनललाई राम्रो स्थितिमा अगाडि बढाउँदै आएका छन्। प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनलले आइतबार चेल्सीलाई घरेलु मैदानमा आतिथ्यता गर्दैछ। यस अवधिभित्र चेल्सीमा खेलाडी र प्राविधिक समूहमा पनि ठूलो फेरबदल भएको छ। सन् २०२१ मा युइएफए च्याम्पियन्स लिग जितेको चेल्सी टोलीबाट गत सेप्टेम्बरसम्म रिसे जेम्स मात्र बाँकी छन्।

म्यानचेस्टर सिटीविरुद्ध च्याम्पियन्स लिग फाइनल जिताएका चेल्सीका प्रशिक्षक थोमस टुचेललाई नयाँ मालिक आएपछि चार महिनामै बर्खास्त गरिएको थियो। त्यसपछि ग्राहम पोटर र माउरिसियो पोचेटिनोको कार्यकाल पनि छोटो रह्यो। मारेस्का भने क्लब नेतृत्वसँगको विवादपछि नयाँ वर्षको दिनमा नै पदमुक्त भएका थिए।

लिगका पछिल्ला ६ खेलमध्ये चार जित्दै उनले चेल्सीलाई राम्रो सुरुआत दिलाए। तर, लिड्स र बर्नलीसँग बराबरी खेलेपछि आफ्नो भविष्यबारे सोधिएको प्रश्नमा रोजेनियरले धैर्यता नै सफलताको मुख्य आधार हुने बताए। लामो समय चेल्सीमा बिताउने चाहना रहेको उनले धारणा राखेका छन्। यसका लागि क्लबले पनि ध्यान दिनु पर्ने उनले औंल्याए।

‘यो कुर्सीमा सकेसम्म लामो समय रहन चाहन्छु। म मात्र होइन टोली, प्रशिक्षक समूह, मालिक र खेल निर्देशकसँग मिलेर लामो समयसम्म सफलताको हिस्सा बन्न चाहन्छु,’उनले भने, ‘यही चुनौती स्वीकार गरेर म यहाँ आएको हुँ।’

 रोजेनियरले गुणस्तरीय खेल आउन समय लाग्ने पनि उल्लेख गरे। ‘फुटबलको सफलता आउन समय दिनुपर्छ। खेल मात्र होइन हरेक दिन आफ्नो गुणस्तर देखाउनुपर्छ। खेलाडीहरूको विकास, प्रशिक्षण सञ्चालन र बैठकहरूको व्यवस्थापनमा हरेक दिन उत्कृष्ट हुन आवश्यक हुन्छ,’उनले भनेका छन्।

रोजेनियरले क्लबमा लामो समयदेखि चलिरहेको अस्थिरता अन्त्य हुने आशा व्यक्त गरे। ‘यो क्लबमा हुने उथलपुथल अब समाप्त हुनेछ भन्ने आशा गर्छु। यहाँ लामो समय रहन पाउँ र सफलता दिलाउन सकुँ भनेर आएको हुँ,’ चेल्सीका प्रशिक्षकले भनेका छन्।  

प्रकाशित: १७ फाल्गुन २०८२ ०६:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App