एन्टिगुआ एन्ड बारबुडा फाल्कन्सले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा पहिलोपटक च्याम्पियन बन्दै इतिहास रचेको छ। ब्रिजटाउनमा भएको फाइनलमा फाल्कन्सले जमैका किङ्समेनलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो।
१७१ रनको लक्ष्य पछ्याएको फाल्कन्सले १६.४ ओभरमा २ विकेट गुमाएर १७३ रन बनाउँदै खेल आफ्नो पक्षमा पार्यो। फाइनलमा फाल्कन्सका लागि अमिर जाङ्गुले ३४ बलमा अविजित ५७ रन बनाए। उनले ४ चौका र ३ छक्का प्रहार गरे।
हसन नवाजले पनि उत्कृष्ट ब्याटिङ गर्दै ३५ बलमा अविजित ४७ रन जोडे। उनको इनिङ्समा ३ चौका र ३ छक्का समावेश थियो। यसअघि इभिन लुइसले २६ बलमा ३८ तथा रहकीम कर्नवालले ६ बलमा २० रन बनाए।
फाल्कन्सको ऐतिहासिक उपाधि यात्रामा तीन पाकिस्तानी खेलाडीको पनि महत्वपूर्ण भूमिका रह्यो। अमिर जाङ्गु, हसन नवाज र शादाब खानले फाइनलमा प्रभाव छाड्नुका साथै प्रतियोगिताभर टोलीको सफलतामा योगदान दिए। शादाबले फाइनलमा बलिङ गर्दै एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जमैका किङ्समेनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७० रन बनाएको थियो। उसका लागि माज सदाकतले असाधारण ब्याटिङ गर्दै ५८ बलमा ११४ रनको शतकीय इनिङ्स खेले। उनले ८ चौका र ९ छक्का प्रहार गरे।
सदाकतले एकतर्फबाट लगातार रन बनाए पनि किङ्समेनका अन्य ब्याटरले ठूलो साझेदारी गर्न सकेनन्। साइ अयुबले २२ बलमा २९ रन बनाए भने केसी कार्टीले ८ बलमा ९ रन जोडे। कप्तान रोभम्यान पावेलसहित केही प्रमुख ब्याटर सस्तैमा आउट भएपछि किङ्समेन दबाबमा परेको थियो।
फाल्कन्सका सुफियान मोकिमले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १४ रन खर्चेर ४ विकेट लिए। अल्जारी जोसेफले २ तथा जेडेन सिल्स, शादाब खान र शमर स्प्रिङ्गरले समान १ विकेट लिए।
किङ्समेनले बनाएको १७० रन फाल्कन्सका लागि पर्याप्त चुनौती बन्न सकेन। कर्नवालले सुरुआतमै आक्रामक २० रन बनाएपछि फाल्कन्सले तीव्र सुरुवात गरेको थियो। कर्नवाल आउट भएपछि लुइसले जाङ्गुसँग मिलेर इनिङ्स अघि बढाए।
लुइस ३८ रनमा आउट भएपछि जाङ्गु र नवाजले तेस्रो विकेटका लागि अविजित साझेदारी गर्दै फाल्कन्सलाई सहज जित दिलाए। उनीहरूले आक्रामक ब्याटिङ गर्दै लक्ष्यलाई १६.४ ओभरमै पूरा गरे।
यससँगै एन्टिगुआ एन्ड बारबुडा फाल्कन्सले आफ्नो सीपीएल इतिहासमै पहिलोपटक उपाधि जितेको छ। फाइनलमा तीन पाकिस्तानी खेलाडीको प्रभावशाली प्रदर्शनसमेत फाल्कन्सको ऐतिहासिक सफलताको महत्वपूर्ण पक्ष बन्यो।
प्रकाशित: ५ आश्विन २०८३ ०९:२८ सोमबार





-600x400.jpg)