दृष्टिविहीन महिला विश्वकप टी२० क्रिकेटमा नेपालले पाकिस्तानमाथि फराकिलो जित निकालेको छ।
भारत र श्रीलंकाको संयुक्त आयोजनामा जारी प्रतियोगितामा नेपालले मंगलबार पाकिस्तानलाई १० विकेटले पराजित गरेको हो। कोलम्बोमा पाकिस्तानले दिएको १७१ रनको लक्ष्य नेपालले बिना क्षति १३ ओभरमा पूरा गर्यो। नेपालको जितमा विनिता पुनले ५४ बलमा १०७ रन र मनकेसी चौधरीले ३१ बलमा ४३ रनको योगदान गरे।
यसअघि नेपालले टस जितेर पहिला फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाएर १५८ रन बनाएको थियो। पाकिस्तानका लागि मेहरिन अलीले नटआउट ७७ रन बनाइन्। पाकिस्तानका ६ ब्याटर रन आउट भएका थिए।
नेपालले यसअघि अमेरिकालाई १० विकेटले, अष्ट्रेलियालाई ८ विकेटले र श्रीलंकालाई ९ विकेटले हराएको थियो। भारतसँग भने नेपाल ८५ रनले पराजित भएको थियो।
प्रकाशित: २ मंसिर २०८२ १३:१२ मंगलबार





