१४ कार्तिक २०८३ शनिबार
image/svg+xml
खेल

५ ओभरमा विराटनगरको विष्फोटक ब्याटिङ, सुदूरपश्चिमले पायो १०६ रनको विशाल लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत वर्षाले ५ ओभरमा छोट्टिएको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्ससामु जितका लागि १०६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित ५ ओभरमा २ विकेट गुमाएर १०५ रनको विशाल योगफल खडा गरेको हो।

विराटनगरका लागि सुरुवाती ब्याटरहरूले मैदानमा चौका र छक्काको वर्षा गराएका छन्। ओपनर शेहान जयसूर्याले मात्र ११ बलमा ५ छक्का र २ चौका प्रहार गर्दै सर्वाधिक ३९ रनको आक्रामक इनिङ्स खेलेका छन्।

पहिलो विकेटका लागि जयसूर्या र लोकेश बमबीच २.४ ओभरमै ६८ रनको विष्फोटक साझेदारी भएको थियो। आक्रामक ब्याटिङ गरेका लोकेशले १० बलमा ३ छक्का र १ चौकाको मद्दतले २५ रन जोडेका छन्।

त्यसपछि क्रिजमा आएका आन्द्रे रसेलले समेत सुदूरपश्चिमका बलरहरूमाथि दबाब कायम राखेका छन्। रसेलले अविजित रहँदै १० बलमा ३ छक्का र २ चौकासहित २९ रन जोडेपछि विराटनगरले प्रतिओभर २१ को औसतमा रन बटुल्न सफल भएको छ।

सुदूरपश्चिमका बलरहरू विराटनगरका ब्याटरसामु निकै महँगा साबित भएका छन्। अविनाश बोहराले २ ओभरमा २८ रन खर्चेर २ विकेट लिन सफल भएका छन्।

बलिङतर्फ थरिन्दु रत्नायकेले १ ओभरमा ३१ रन र हेमन्त धामीले १ ओभरमा २५ रन खर्चिएका छन् भने स्कट कुगेलेइनले १ ओभरमा १७ रन दिएका छन्।

सुदूरपश्चिमले अब जितका लागि ३० बलमा १०६ रन बनाउनुपर्नेछ।

प्रकाशित: १४ कार्तिक २०८३ २२:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App