विराटनगर किङ्सले नेपाल प्रिमियर लिग(एनपिएल) को दोस्रो सिजनका लागि अर्को विश्वस्तरीय क्रिकेटर मार्टिन गप्टिललाई भित्राएको छ।
विराटनगरले आइतबार विज्ञप्ती जारी गर्दै न्युजिल्यान्डका ब्याटर गप्टिललाई निरन्तरता दिएको जनाएको हो। उनी गत सिजन पनि विराटनगरबाट नै खेलेका थिए। लेग स्पिनर सन्दीप लामिछाने मार्की रहेको विराटनगरले एक हप्ताभित्र नै अर्को विश्वस्तरीय क्रिकेटरलाई अनुबन्ध गरेको हो।
गत शुक्रबार नै विराटनगरले दक्षिण अफ्रिकाका चर्चित ब्याटर डु प्लेसिस अनुबन्ध गरिसकेको छ। विश्वप्रख्यात क्रिकेटर डु प्लेसिस आगामी एनपिएलको दोस्रो संस्करणमा खेल्ने विदेशी खेलाडीमध्ये अहिलेसम्मको सबैभन्दा ठूलो नाम हो। त्यसमा गप्टिल पनि दोहोरिएका छन्। पहिलो सिजनमा ६ खेलबाट गप्टिलले एक अर्धशतकसहित एक सय ३७ रन प्रहार गरेका थिए।
स्टार क्रिकेटर भित्राए पनि गत संस्करण विराटनगरले कमजोर प्रदर्शन गरेको थियो । सिंगल राउन्ड रोविन लिगमा विराटनगर छैटौं स्थानमा रहँदै पहिलो चरणबाटै बाहिरिएको थियो। यस पल्ट पनि विराटनगरले गत संस्करणका एकजना विदेशी खेलाडीलाई फर्काएको छ। गप्टिल विराटनगरले भित्राएको चौथो विदेशी खेलाडी हुन्।
विराटनगरले फाफसँगै अस्ट्रेलियाका साम हिजलेट र स्कटल्यान्डका जर्ज मुन्सेलाई अनुबन्ध गरेको छ। गप्टिलसँग अन्तर्राष्ट्रिय क्रिकेट र फ्रेन्चाइज लिगको धेरै अनुभव छ। न्युजिल्यान्डबाट गप्टिलले एक सय २२ टी ट्वान्टी खेलमा तीन हजार पाँच सय ३१ रन बनाएका छन्।
उनले मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाब किङबाट इन्डियन प्रिमियर लिग (आइपिएल) खेलिसकेका छन्। साथै उनीसँग बिग बास लिग, क्यारेबियन प्रिमियर लिग र पाकिस्तान सुपर लिगलगायत अन्य फ्रेन्चाइज लिगसमेत खेलेको अनुभव छ।
डु प्लेसिस विश्व क्रिकेटका चर्चित खेलाडी हुन्। विश्वकै सबैभन्दा ठूलो फ्रेन्चाइच इन्डियन प्रिमियर लिगमा पनि उनले फरक चारवटा टोलीबाट खेलेका छन्। चेन्नई सुपर किङ्सले सन् २०१८ र २०२१ मा आइपिएलको उपाधि जितेको थियो। त्यति बेला डु प्लेसिस टोलीका महत्त्वपूर्ण सदस्य हुन्। उनीसँग आइपिएलमा रोयल चेलन्जर्स बैंगलुरुको नेतृत्व गरेको अनुभव पनि छ।
विराटनगरले यसपल्ट मार्की खेलाडी सन्दीप, लोकेश बम, प्रतीश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारीलाई रिटेन गरेको छ। मिनी अक्सनबाट पनि विराटनगरले सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, श्रवण किस्कु र शंकर राना अनुबन्ध गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो सिजन आगामी मंसिर १ देखि २७ सम्म आयोजना गर्दै छ।
गत वर्षबाट सुरु भएको एनपिएलमा आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्। साविक विजेता जनकपुर बोल्ट्स, उपविजेता सुदूरपश्चिम रोयल्स, विराटनगर, कर्णाली याक्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स यस सिजन पनि उपाधिका लागि भिड्नेछन्।
प्रकाशित: १७ कार्तिक २०८२ ०८:०१ सोमबार





