विराटनगर किंग्सका ब्याटर बासिर अहमदले ४३ बलमा ६२ रनको ‘गेम चेञ्जिङ’ इनिङ खेलेपछि विराटनगर किंग्सले कर्णाली याक्ससँग ३ विकेटको सनसनीपूर्ण जित निकालेको छ।
एक समय कर्णाली याक्सको कित्तामा पुगिसकेको खेलमा बासिर अहमदले उत्कृष्ट इनिङ खेलेर कर्णालीको मुखबाट जित छिनेका हुन्।
ब्याटिङका लागि निकै चुनौतीपूर्ण देखिएको पिचमा १६१ रनको कठिन लक्ष्य पछ्याएको विराटनगरले एक समय ६५ रनमा ५ विकेट गुमाइसकेको थियो। त्यो बेला १२ औँ ओभर चल्दैथियो।
त्यही बेला बासिर र नारायण जोशीले छैटौँ विकेटका लागि ३० बलमा ६९ रनको साझेदारी खेलेर विराटनगरलाई खेलमा फर्काए। नारायणले १६ बलमा २५ रनको तेज पारी खेलेर बासिरको साथ निभाएका थिए।
उनी १८ औँ ओभरको चौथो बलमा आउट हुन पुगेका थिए। त्यसपछिको खेल सम्हाल्दै बासिरले विराटनगरलाई जितसम्म पु¥याए।
कर्णालीका बलर बासिर र नारायण जोशीको उक्त गेम चेन्जर साझेदारीबाहेक अन्य खेलमा हाबी देखिएका थि। जसमा गुलशन झा र सोमपाल कामीले २–२ विकेट लिँदा पवन सर्राफ, नन्दन यादव र विलियम बासिस्टोले १–१ विकेट लिए।
तर खेलको अन्तिममा कर्णालीका बलरले खेल आफ्नो पक्षमा पार्न चुके। निर्णायक अवस्थामा विकेट किपर दीपक डुम्रेबाट पनि केही चुक भएको थियो।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले ओपनर प्रियांक पाञ्चालको अर्धशतकको मद्दतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६० रन जोडेको थियो।
जसमा प्रियांकले ४७ बलमा ६३ रन जोड्दा उनले विलियम बसिस्टोसँग ९६ रनको साझेदारी गरेका थिए। बसिस्टोले ४८ रन बनाए। अन्तिममा गुलशन झाले १० बलमा २० रन र नजिबुल्लाह जदरानले ६ बलमा १२ रनको योगदान दिए।
प्रकाशित: १२ मंसिर २०८२ १९:३६ शुक्रबार





