१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

अष्ट्रेलियाले आयरल्याण्डलाई दियो १८३ रनको लक्ष्य

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा रंगशालामा जारी आइसीसी पुरुष टी-२० विश्वकप अन्तर्गत समूह ‘बी’ को खेलमा अष्ट्रेलियाले आयरल्याण्डलाई जितका लागि १८३ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।

बुधबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८२ रनको योगफल तयार पारेको हो।

अष्ट्रेलियाको ब्याटिङमा मध्यक्रमका ब्याटर मार्कस स्टोइनिसले सर्वाधिक ४५ रनको योगदान दिए।

उनले २९ बलको सामना गर्दै २ चौका र १ छक्का प्रहार गरे। त्यस्तै, जोस इन्ग्लिसले विष्फोटक ब्याटिङ गर्दै १७ बलमा ६ चौका र १ छक्काको मद्दतले ३७ रन बनाए। म्याट रेनशाले पनि ३३ बलमा ३७ रन जोड्दै टोलीको स्कोर उकास्न मद्दत गरे।

खेलको सुरुवातमा ओपनर ट्राभिस हेड ७ बलमा ६ रन बनाएर रनआउट भएका थिए। अर्का ब्याटर क्यामरुन ग्रीनले ११ बलमा २१ रन जोडे भने ग्लेन म्याक्सवेल ९ रनमा आउट भए।

इनिङ्सको अन्त्यतिर कुपर कोनोली र जेभियर बार्टलेटले अविजित रहँदै समान ११-११ रन जोडेका थिए।

आयरल्याण्डका तर्फबाट बलिङमा मार्क एडेयर सबैभन्दा सफल रहे। उनले ४ ओभरमा ४४ रन खर्चिएर २ विकेट लिए। त्यस्तै म्याथ्यू हम्फ्रेज, जर्ज डकरेल र ह्यारी टेक्टरले समान १-१ विकेट हात पारे। ग्यारेथ डेलानीले २ ओभरमा मात्र १२ रन खर्चे पनि कुनै विकेट लिन सकेनन्।

१८३ रनको विशाल लक्ष्य पछ्याउँदै अहिले आयरल्याण्डले जवाफी ब्याटिङको तयारी गरिरहेको छ।

प्रकाशित: २८ माघ २०८२ १७:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App