नेपालमा पहिलोपल्ट हुने एसियन पावरलिफ्टिङ च्याम्पियनसिपमा आयोजक राष्ट्रसहित पाँच राष्ट्रका एक सय २० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।
नेपाली युथ फिटनेस एन्ड केलिसथेनिक्सको आयोजनामा आगामी साउन ३० देखि भदौ १ गतेसम्म काठमाडौंमा एसियन पावरलिफ्टिङ च्याम्पियनसिप हुँदै छ। पहिलोपल्ट नेपालमा पावरलिफ्टिङको एसियन च्याम्पियन हुन लागेको हो।
काठमाडौंमा बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै नेपाली युथ फिटनेस एन्ड केलिसथेनिक्सले आफ्नो तयारी पूरा भएको र च्याम्पियनसिप नेपाल पुलिस क्लबमा हुने जनाकारी दिएको हो। नेपालसहित भारत, अस्ट्रेलिया, श्रीलंका र पाकिस्तानका गरी एक सय २० भन्दा बढी खेलाडीले यस च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने नेपाली युथ फिटनेस एन्ड केलिसथेनिक्सका अध्यक्ष शुकदेव कार्कीले जानकारी दिए।
खुलाअन्तर्गत स्क्वाड, बेन्च प्रेस र डड लिफ्टमा रहेर प्रतिस्पर्धा गर्न पाउनेछन्। अन्यमा भने स्क्वाड, बेन्च प्रेस र डेड लिफ्टमध्ये एउटा विधामा प्रतिस्पर्धा गर्न पाउनेछन्। यी सबैमा गरेर कुल पाँच सय १२ विधामा खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। यस च्याम्पियनसिपमा नेपालबाट १७ महिला गरी कुल ४० खेलाडीको चुनौती रहने भएको छ।
७३ वर्षे खेलाडी ज्ञानरत्न शाहीले पनि यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ। यस च्याम्पियनसिपमा जुनियरतर्फ १८–२३ वर्षमुनि र मास्टर्सबाट प्रतिस्पर्धा गर्नेछन्। सबैभन्दा धेरै भारतबाट ५८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
यस प्रतियोगिताबाट १० जना खेलाडी छनोट गरी श्रीलंकामा हुने विश्वकपमा खेलाइने नेपाली युथ फिटनेस एन्ड केलिसथेनिक्सका अध्यक्ष कार्कीले बताए। ओपनमा पनि खेलाडीले प्रतिस्पर्धा गराइने उनको भनाइ छ। हिमालय क्विस्टा प्रो को मुख्य प्रायोजनामा हुने यस च्याम्पियनसिपमा सूर्य प्लाई र विश्व पारलिफ्टिङको साझेदारीमा हुँदै छ।
प्रतियोगिता आयोजना गर्न ८६ लाख अनुमानित खर्च हुने आयोजकले जनाएको छ। साथै च्याम्पियनसिपका दौरान प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले पाँच जना नेपाली खेलाडीलाई लक्की ड्रमार्फत एक वर्षसम्मका लागि १० लाख बराबरको इन्स्योरेन्स प्रदान गर्ने भएको छ।
प्रत्येक तौलसमूह र उमेरसमूहमा शीर्ष तीन स्थानमा रहने खेलाडीले ट्रफी र पदकका साथै आकर्षक पुरस्कार पाउने आयोजकले जनाएको छ। आफ्नो दशौं वार्षिकोत्सवको अवसरमा १० वर्षभित्रका आफ्ना गतिविधि समेट्दै म्यागजिन पनि प्रकाशन गरेको नेपाली युथ फिटनेस एन्ड केलिसथेनिक्सककी महासचिव लक्ष्मी अधिकारीले जानकारी दिइन्।
प्रकाशित: २२ श्रावण २०८२ ०६:५४ बिहीबार





