जापानमा जारी एसियाली खेलकुदअन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा प्रतिस्पर्धा गर्दैछ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार आज टेनिसको महिला डबल्समा शिभाली गुरुङ र स्वस्तिका विष्टको जोडीले पहिलो चरणमा जापानका मोमोको कोबोरी र आयानो शिमिजुको जोडीको सामना गर्ने छ।
महिला सिङ्गल्समा भने शिभाली र स्वस्तिका दुवै पहिलो चरणबाटै बाहिरिएका थिए। शिभाली दक्षिण कोरियाकी दायोन बाकसँग ६–१, ६–० तथा स्वस्तिका जापानकी मोयुका उचिजिमासँग ६–१, ६–१ को सेटमा पराजित भएकी थिइन्।
मिक्स्ड डबल्समा पनि शिभालीले दोस्रो चरणको यात्रा तय गर्न सकिनन्। पुरुष सिङ्गल्सको दोस्रो चरणमा अभिषेक बास्तोलाले आज काजकिस्तानका एलेक्सेन्डर सेभचेन्कोविरुद्ध खेल्नेछन्। अभिषेकले यसअघि प्रदीप खड्कासँगको जोडीमा पुरुष डबल्सतर्फ जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेका थिए।
एथलेटिक्सतर्फ आज महिला पाँच हजार मिटरको फाइनलमा नेपालका सन्तोषी श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपानेले प्रतिस्पर्धा गर्नेछन्।
प्रकाशित: १२ आश्विन २०८३ ०८:१५ सोमबार





