२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

अशोकको अलराउन्ड प्रदर्शन: नेपाली किशोर टोली सेमिफाइनलमा

अशोक धामीको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा नेपाली किशोर टोलीले ओमानमा जारी एसिसी यु-१९ प्रिमियर कपमा लगातार दोस्रो जितसँगै सेमिफाइनलमा स्थान बनाएको छ।

समूह ‘ए’ को आफ्नो दोस्रो खेलमा नेपालले बिहीबार हङकङमाथि एक सय १९ रनको जित निकाल्दा अशोकले ब्याटिङ र बलिङमा यादगार प्रदर्शन गरे। अशोकले ७२ रन बनाएसँगै बलिङमा पनि तीन विकेट लिए। तीन राष्ट्र रहेको समूहमा दुई जितसँगै नेपाल विजेताका रूपमा सेमिफाइनलमा पुगेको हो।

नेपालले सेमिफाइनलमा मलेसियासँग आगामी नोभेम्बर २९ तारिखमा खेल्नेछ। मलेसिया पनि समूह ‘डी’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेको हो। चार समूहका विजेताले सेमिफाइनलमा खेल्नेछन्। ५० ओभरमा खेलिएको प्रिमियर कपको शीर्ष तीन राष्ट्रले संयुक्त अरब इमिरेट्स (युएई) मा आगामी डिसेम्बर १५ देखि सुरु हुने एसिसी यु–१९ एसिया कपमा स्थान बनाउनेछन्।

प्रिमियर कपको अर्को सेमिफाइनलमा समूह ‘बी’ को विजेता युएई र ‘सी’ विजेता ओमानबीच प्रतिस्पर्धा हुनेछ। सेमिफाइनलमा स्थान बनाउन हङकङ र नेपाल दुवैलाई बिहीबारको खेल जित्नैपर्ने थियो। दुवै टोलीले पहिलो खेलमा साउदी अरेबियालाई हराउँदै समूहविजेताको दाबेदारी दिएको थियो तर अशोक चम्किएपछि नेपालले हङकङमाथि रबाफिलो जित निकाल्यो। अजमानको सेभेन्स डिस्ट्रिक्ट्स क्रिकेट मैदानमा नेपाली किशोर टोलीले दुई सय ७१ रनको लक्ष्य दियो तर जबाफमा हङकङ ४०.५ ओभरमा एक सय ५१ रनमै अलआउट हुन पुग्यो। विकेटकिपर तथा कप्तान शिव माथुरले ३० रन जोडे । यो नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो।

ओपनरद्वय जुड लीले २२ र रियान्स शर्मा १८ रन जोडे। अब्दुल सामदले १९, आरेज दारले १५ र अफ्ताब हुसेनले १० रन जोडे। त्यसबाहेकका ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालको बलिङमा अशोक र अपराजित पौडेलले संयुक्त सात विकेट लिँदै हङकङको इनिङ धराशयी बनाए।

१० ओभरमा दुई मेडन राख्दै अपराजितले चार विकेट लिए। समान ओभर बलिङमा अशोकले पनि दुई मेडनसहित २९ रन मात्र दिए। दयानन्द मण्डल, सुशील रावल र रोशन विश्वकर्माले एक विकेट दिलाए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले पूरै ओभरमा सात विकेट गुमाई दुई सय ७० रनको योगफल बनायो। शीर्ष क्रमका ब्याटरले ठूलो इनिङ खेल्न नसक्दा नेपाली टोली दबाबमा पर्‍यो।

१६२ रन जोड्दा नेपालका ६ ब्याटर पभेलियन फर्किसकेका थिए तर, सातौं विकेटका लागि अशोकले दर्श सोनारसँग एक सय ८ रनको महत्त्वपूर्ण साझेदारी गरे। इनिङको अन्तिम बलमा आउट भएका अशोकले ५१ बलमा तीन चौका र चार छक्का हिर्काए। दर्श ५८ बलमा ४५ रन जोड्दै नटआउट रहे। उनको इनिङमा तीन चौका रह्यो। त्यसअघि ओपनरद्वय नीरजकुमार यादवले २२ र भान्स क्षेत्रीले २४ रनको योगदान दिए।

नीरजले पहिलो खेलमा शतक बनाएका थिए। दोस्रो खेलमा भने उनी चल्न सकेनन्। मध्य क्रमका ब्याटर दिलसाद अलीले ३२ रन, सिबरिन श्रेष्ठले २५ र रोशन विश्वकर्माले २१ रन जोडे। हङकङको बलिङमा ड्यानिएल म्याप र अभिमन्यु गनेसनले दुई तथा प्रीत माङ्गुकिया र अफ्ताब हुसेनले एक विकेट लिए।  

प्रकाशित: १२ मंसिर २०८२ ०९:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App