राष्ट्रिय खो खो प्रतियोगिताको उदघाटन खेलमा नेपाल आर्मीले पुरुष र महिला समूह दुवैतर्फ विजयी सुरुवात गरेको छ।
कीर्तिपुरस्थित कभर्ड हलमा आयोजित आठौँ पुरुष र सातौँ महिला प्रतियोगितामा नेपाल आर्मीका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेसँगै विजयी सुरुवात गरेका हुन्।
पुरुषतर्फ बागमती प्रदेशविरुद्ध आर्मीले २८ अंक प्राप्त गरेको छ। बागमतीले भने जम्मा ७ अंक बटुल्न सक्यो।
यस्तै, महिलातर्फ आर्मी समूहले ४२ अकंको फराकिलो अन्तरले कोशी प्रदेशलाई पराजित गर्यो। कोशीले भने एक अंक पनि जोड्न सकेन।
यसअघि पुरुषतर्फ कोशी प्रदेशले २१ अंक प्राप्त गरी कर्णाली प्रदेशलाई हराएको थियो। कर्णालीले १९ अकं पाएको थियो।
यस्तै, महिलातर्फ २ अंक रहेको वागमती प्रदेशलाई लुम्बिनी प्रदेशले १० अंकले पराजित गरेको छ।
चारदिनसम्म चल्ने खेलमा पुरुष समूहमा आठ वटा समूह र महिला समूहमा सातवटा समूहले प्रतिस्पर्धा गर्दैछन्।
प्रतियोगितामा प्रथम हुनेलाई मेडलसहित ७५ हजार, दोस्रोेलाई मेडलसहित ५० हजार र तेस्रोलाई मेडलसहित २५ हजार नगद पुरस्कार प्रदान गरिने जनाइएको छ। यस्तै, वेष्ट चेसर र वेष्ट रनरलाई १० हजार पुरस्कार मेडल र प्रमाणपत्र प्रदान गरिन नेपाल खो खो संघका महासचिव शंकर महर्जनले जानकारी दिए।
प्रकाशित: २८ चैत्र २०८२ १३:५८ शनिबार





