२४ मंसिर २०८२ बुधबार
image/svg+xml
खेल

यु-१६ क्रिकेटमा चम्किएका शुभमलाई गृह जिल्लामा सम्मान

मलेसियामा सम्पन्न एसिसी यु-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका युवा क्रिकेटर शुभम खनाललाई गृह जिल्ला अर्घाखाँचीमा सम्मान गरिएको छ।

अर्घाखाँची क्रिकेट संघले आइतबार सन्धिखर्कस्थित टुँडिखेलमा एक कार्यक्रम आयोजना गरी बाँया हाते स्पिनर खनाललाई स्वागत तथा सम्मान गरेको हो।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१, ढाकाबाङमा जन्मिएर हाल दाङमा बस्दै आएका खनालले प्रतियोगितामा नेपालका लागि सानदार प्रदर्शन गरेका थिए।

उनले प्रतियोगिताका ६ खेलमा १२ विकेट लिएका थिए भने जापानविरुद्धको खेलमा एक्लैले ५ विकेट लिँदै सनसनी मच्चाएका थिए।

कार्यक्रममा बोल्दै अर्घाखाँची क्रिकेट संघका अध्यक्ष ऋषिकेश भट्टराईले शुभमको उत्कृष्ट प्रदर्शनले जिल्लाको गरिमालाई अझ उँचो बनाएको बताए। ‘जिल्लाबाट खेलाडीहरू उत्पादन भइरहेका छन्, यो हाम्रो लागि अत्यन्तै खुसीको कुरा हो,’ उनले भने।

सम्मान ग्रहणपछि क्रिकेटर शुभमले गृह जिल्लाबाट पाएको माया र सम्मानले आफूलाई थप हौसला मिलेको प्रतिक्रिया दिए। ‘पहाडी जिल्ला भएर पनि यहाँ क्रिकेटको क्रेज देखेर खुसी लाग्छ। यो सम्मानले मलाई अझ राम्रो गर्न प्रेरणा दिनेछ,’ उनले भने, ‘जिल्लाको क्रिकेट विकासमा संघको भूमिका अतुलनीय छ।’

शुभमले केही महिनाअघि भएको पाँचौं अर्घाखाँची प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै ‘इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट’ को उपाधि जितेका थिए।

अर्घाखाँचीले पछिल्लो समय राष्ट्रिय क्रिकेटमा राम्रा खेलाडीहरू उत्पादन गर्दै आएको छ। यसअघि देव खनाल, सौरभ खनाल, विक्रम भुसाल र उत्तम थापा मगरले राष्ट्रिय तथा १९ वर्षमुनिको टोलीबाट खेलिसकेका छन्।

प्रकाशित: २९ असार २०८२ २१:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App