विश्वकप २०२६ बाट विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा डेब्यु गरेका चार राष्ट्रमध्ये अफ्रिकाको केप भर्डे नकआउट चरणमा पुग्दै इतिहास बनाउन सफल भयो।
समूहचरणमा अपराजित रहँदै इतिहास रचेको केप भर्डेको अबको चुनौती भने विश्व फुटबलकै सबैभन्दा बलियो टोलीमध्ये एक तथा साबिक विजेता अर्जेन्टिना हो। यी दुई टोली शुक्रबार राती अमेरिकाको मियामीमा अन्तिम ३२ को रोमाञ्चक भिडन्त हुनेछ। अर्जेन्टिना र केप भर्डे दुवै यस विश्वकपमा अहिलेसम्म अपराजित छन्। अर्जेन्टिनाले समूहचरणका तीनै खेल जित्दै शतप्रतिशत नतिजा पाएको थियो। केप भर्डेले तीनवटै खेल बराबरी खेल्दै नकआउटमा स्थान सुरक्षित गरेको हो। रोचक पक्ष के भने केप भर्डेको समूहमा दुई वटा पूर्वविश्वकप विजेता राष्ट्रसमेत थिए। यद्यपि, भर्डे दुवै टोलीलाई रोक्न सफल भयो। समूह ‘जे’ को अन्तिम खेलमा अर्जेन्टिनाले डेब्यु राष्ट्र जोर्डनलाई ३–१ ले हराउँदै आफ्नो उत्कृष्ट लय कायम राख्यो।
अल्जेरिया र अस्ट्रियामाथि पनि अर्जेन्टिनाले प्रभावशाली प्रदर्शन गरेको छ। जोर्डनसँग बेन्चबाट मैदान छिरेका कप्तान लियोनेल मेसीले यस विश्वकपमा आफ्नो छैटौं गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे। विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता मिरोस्लाभ क्लोजलाई मेसीले पछि पारिसकेका छन्। जोर्डनविरुद्ध उनी लगातार सात विश्वकप खेलमा गोल गर्ने पहिलो खेलाडी बने। ती सात खेलमा उनले ११ गोल गरेका छन्। पछिल्ला पाँच नकआउट खेलमा पाँच गोल र चार असिस्टसहित कुल ९ गोलमा उनको प्रत्यक्ष योगदान छ।
केप भर्डेविरुद्ध पनि अर्जेन्टिनाको सबैभन्दा ठूलो हतियार सेट पिस हुन सक्छ। केप भर्डेको रक्षापंक्ति निकै अनुशासित छ। उसले स्पेन र साउदी अरेबियाविरुद्ध गोलरहित बराबरी खेलेको थियो भने उरुग्वेसँग २–२ को रोमाञ्चक बराबरी गर्यो। ती प्रदर्शनका क्रममा गोलकिपर भोजिन्हाले दुई क्लिन सिट राखे। विश्वकपमा ४० वर्ष वा सोभन्दा माथि उमेरमा दुई क्लिन सिट राख्ने उनी तेस्रो गोलकिपर हुन्। यसअघि यस्तो कीर्तिमान पिटर शिल्टन र डिनो जोफको नाममा थियो। समूह ‘एच’ मा स्पेनपछि दोस्रो स्थानमा रहँदै नकआउटमा पुगेको केप भर्डे समूहका तीन खेलमै अपराजित रहने पहिलो नवप्रवेशी टोली पनि बन्यो। केप भर्डेले धेरै कीर्तिमान आफ्नो नाममा गरेको छ। यसअघि सन् २००२ मा सेनेगलले यस्तो उपलब्धि हासिल पाएको थियो।
सन् १९९८ पछि तीनवटै समूह खेल बराबरी खेल्दै नकआउट पुग्ने पहिलो टोली पनि केप भर्डे नै रह्यो। यसअघि यस्तो उपलब्धि चिलीले हासिल गरेको थियो। विश्वकप इतिहासमा वेल्स, क्यामरुन र आयरल्यान्डपछि पहिलो तीन खेल नै बराबरीमा टुङ्गाउने चौथो टोली पनि केप भर्डे नै हो। यो तथ्यले अर्जेन्टिनालाई सतर्क बनाउनेछ। पछिल्ला १३ विश्वकप नकआउट खेलमध्ये अर्जेन्टिना सात खेल अतिरिक्त समयमा पुगेको छ।
विश्वकप इतिहासमा अर्जेन्टिना, जर्मनी र इटालीले समान ११ पटक नकआउट खेल अतिरिक्त समयसम्म खेलेका छन्, जुन सबैभन्दा धेरै हो। चार वर्षअघि अर्जेन्टिनाले क्वार्टरफाइनलमा नेदरल्यान्ड्स र फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमार्फत हराएर उपाधि जितेको थियो। त्यसैले केप भर्डे पनि खेललाई लम्ब्याएर अर्जेन्टिनामाथि दबाब सिर्जना गर्ने योजनामा हुनेछ। अर्जेन्टिना र केप भर्डेबीच यो पहिलो प्रतिस्पर्धात्मक भेट हुनेछ। विश्वकपमा अफ्रिकी राष्ट्रविरुद्ध अर्जेन्टिनाले पछिल्ला सात खेल लगातार जितेको छ। यद्यपि सन् १९९० मा अफ्रिकी टोलीविरुद्ध खेलेको आफ्नो पहिलो विश्वकप खेलमा भने अर्जेन्टिना क्यामरुनसँग १–० ले पराजित भएको थियो।
केप भर्डेले पनि अर्को ऐतिहासिक उपलब्धि पाएको छ। विश्वकपमा पहिलो सहभागितामै साविक विजेतासँग नकआउट चरणमा खेल्ने विश्व इतिहासको तेस्रो टोली हो। यसअघि सन् १९३८ मा नर्वे इटालीसँग र सन् २००६ मा घाना ब्राजिलसँग पराजित भएका थिए। पछिल्ला चार वर्षमा केप भर्डेले दक्षिण अमेरिकी टोलीहरूसँग तीन खेल खेलेको छ।
सन् २०२२ मा इक्वेडरसँग १–० ले हार बेहोरेको थियो भने यस वर्ष मार्चमा चिलीसँग ४–२ ले पराजित भयो। यसै विश्वकपको समूहचरणमा भने उरुग्वेसँग २–२ को बराबरी खेलेर उसले आफ्नो क्षमता प्रमाणित गरेको छ। तथ्यांक विश्लेषण गर्ने ‘अप्टा’ सुपरकम्प्युटरका अनुसार अर्जेन्टिना बलियो दाबेदार हो। खेलअघि गरिएको २५ हजार सिमुलेसनमध्ये ८१ प्रतिशतमा अर्जेन्टिनाले निर्धारित ९० मिनेटभित्र जित हासिल गरेको देखिएको छ।
केप भर्डेको प्रत्यक्ष जितको सम्भावना ६.८ प्रतिशत रहेको छ। बराबरी हुने सम्भावना १२.३ प्रतिशत आँकलन गरिएको छ। अतिरिक्त समय र पेनाल्टी सुटआउटसमेत जोडेर समग्र सम्भावना हेर्ने हो भने अन्तिम १६ मा पुग्ने अर्जेन्टिनाको सम्भावना ८९.४ प्रतिशत देखिन्छ। केप भर्डेले भने १०.६ प्रतिशत सिमुलेसनमा मात्रै अर्को चरणको यात्रा तय गरेको देखिएको छ।
मेसीको मियामी
केप भर्डेले अन्तिम ३२ को चरणमा मेसीको नयाँ घर फ्लोरिडाको मियामी खेल्दै छ। यो त्यही ठाउ“ हो, जसलाई उनी आफ्नो नया“ घर मान्छन्। उनी अमेरिकाका नै व्यावसायिक फुटबल खेल्दैछन्। अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाएपछि उनले अमेरिकाको मेजर लिग सकर (एमएलएस) लाई आफ्नो नया“ यात्रा बनाएका थिए। जहाँ मेसीको क्ललब मियामी हो। उनकै प्रेरणा मियामीले क्लब इतिहासमै पहिलोपटक एमएलएसको उपाधि जित्यो। यो खेलमा मेसीले घरेलु समर्थकको पनि साथ पाउनेछन्, जुन भर्डेका लागि थप कठिन हुन सक्छ।
प्रकाशित: १९ असार २०८३ ०८:५५ शुक्रबार





