विभागीय टोली एपिएफ क्लब जारी एन्फा राष्ट्रिय लिगमा सातौं जित निकाल्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला बिहीबार भएको अन्तिम खेलमा एपिएफले विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबमाथि १–० को साँघुरो जित निकाल्यो। सबिन गुरुङको एक मात्र गोल नै एपिएफलाई जित दिलाउन पर्याप्त बन्यो। एपिएफ जारी एन्फा लिगमा अपराजित दुई टोलीमध्ये एक हो। एपिएफसँगै लालीगुराँस एसोसिएसन पनि १०औं खेलसम्म अपराजित छ। विभागीय डर्बी निकै प्रतिस्पर्धात्मक रह्यो । दुवै टोलीले खेल अवधिभर धेरै अवसर सिर्जना गरे । यद्यपि, खेलको पहिलो हाफ गोलरहित बराबरीमा नै सकियो । दोस्रो हाफमा पनि गोलका लागि लामो समय प्रतीक्षा गर्नुपर्यो। ७६औं मिनेटमा सबिनले गोल गर्दै अग्रता दिलाए। कर्नर प्रहारबाट आएको बललाई उनले नजिकै दूरीबाट जाली चुमाएका हुन् ।
त्यसपछि बाँकी समयमा आर्मीले गोलका लागि धेरै अवसर बुन्यो। कप्तान जर्जप्रिन्स कार्कीले केही सुन्दर अवसर बुने पनि आर्मीको हार टार्न सकेनन् । एपिएफले १० खेलमा सातौं जित निकाल्यो। १० खेलबाट आर्मी २० अंकसहित चौथो स्थानमा यथावत् छ। एपिएफ २४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । ९ खेलबाट समान २२ अंकसहित चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र क्लब गोलअन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। चर्च ब्वाइज युनाइटेडले पनि बिहीबार नै सातौं जित निकाल्दै शीर्ष स्थानमा दाबेदारी दिएको हो। दशरथ रंगशाला नै भएको पहिलो खेलमा चर्च ब्वाइजले सुर्खेतको काँक्रे बिहार क्लबलाई २–१ ले हराएको हो।
चर्च ब्वाइजको जितमा रिचार्ड कोफी जुनियर विल्सनले दुई गोल गरे । सुदेनविक्रम सिंह विश्वकर्माले एक गोल फर्काए। पहिलो हाफमा दुई गोल र दोस्रो हाफमा एक गोल भयो । चर्च ब्वाइजले पहिलो हाफमा दुई गोल गर्दै दबाब सिर्जना गरेको थियो। दोस्रो हाफमा गोल गर्दै काँक्रे बिहारले खेलमा फर्कने प्रयास गरे पनि सफल हुन सकेन । खेलको सातौं मिनेटमा नै रिचार्ड कोफीको गोलबाट चर्च ब्वाइजले अग्रता लियो । उनले नै ३९औं मिनेटमा अर्को गोल गरे । पहिलो हाफमा थप गोल हुन सकेन र चर्च ब्वाइज २–० ले अगाडि रह्यो । दोस्रो हाफमा काँक्रे बिहारले गोल फर्कायो । ६६औं मिनेटमा सुदेनले पेनाल्टीमार्पmत गोल फर्काए। त्यससँगै काँक्रे बिहारले चर्च ब्वाइजसँगको अग्रता २–१ मा छोट्याउँदै खेलमा फर्कने संकेत गर्यो।
त्यसपछि थप गोल हुन सकेन र काँक्रे बिहारले आठौं हार बेहोर्यो। कुल ९ खेलमा जितविहीन काँक्रे बिहारले एक मात्र बराबरी निकालेको छ। काँक्रे बिहार एक अंकसहित पुछारबाट दोस्रो स्थानमा छ । चर्च ब्वाइजले ९ खेलबाट २२ अंक जोड्दै शीर्ष स्थानमा दाबेदारी बलियो बनाएको छ। चर्च ब्वाइजले सात जित, एक बराबरी र एक हार सामना गरेको छ। कृष्णबहादुर आलेको गोलमा संकटा क्लबले बिहीबार श्री भगवती क्लबमाथि १–० को साँघुरो जित निकाल्यो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा नै सकियो । दोस्रो हाफमा एक गोल भयो, जुन निर्णायक बन्यो । ६९औं मिनेटमा कृष्णबहादुरले पेनाल्टी बक्सबाहिरबाट सुन्दर गोल गरेका हुन्।
पेनाल्टी बक्सभित्रबाट गणेश हमालले चार डिफेन्डरका बीचबाट कृष्णबहादुरलाई ब्याक पास दिए । करिब १९ यार्डमा उक्त बल नियन्त्रण लिएका कृष्णबहादुर दोस्रो बार च्याप्दै गोल गरेका हुन्। उनको प्रहारमा श्री भगवतीका विश्वास चौधरीले डाइभ गरे पनि भेट्टाउन सकेनन् । त्यसपछि दुवै तर्पmबाट केही अवसर सिर्जना भए । तर, गोल निस्किएन र संकटाले साँघुरो जित निकाल्यो। दसौं खेलमा संकटाको यो तेस्रो जित हो। संकटाले १३ अंक जोड्दै आठौं स्थानमा उक्लिएको छ।
प्रकाशित: २९ फाल्गुन २०८२ ०६:२७ शुक्रबार





