विभागीय टोली एपिएफले नव जनजागृति युवा क्लबलाई फराकिलो अन्तरले हराउँदै राष्ट्रिय लिगमा पाँचौं जित आत्मसात् गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा एपिएफले मोफसलको टोली नव जनजागृतिमाथि ४–१ को जित निकालेको हो। एपिएफको जितमा हरि कार्की, युवराज खड्का, समीराज थोकर र अनीशा घर्ती क्षेत्रीले समान एक गोल गरे। नव जनजागृतिका लागि निश्चय थापाले सान्त्वना गोल गरेका थिए। पहिलो हाफको खेल १–१ को बराबरीमा नै सकियो तर दोस्रो हाफमा भने एपिएफ आक्रामक बन्यो। तीन गोल थप्दै मोफसलको टोलीमाथि सहजै हाबी भयो। लिगमा नव जनजागृतिको लगातार छैटौं हार हो। यो जितसँगै एपिएफले ६ खेलबाट १६ अंक जोडेको छ। एपिएफले एक मात्र बराबरी एनआरटीसँग सामना गरेको छ। जितविहीन जनजागृतिक अंकविहीन छ।
एपिएफले सुरुआतदेखि नै आक्रमण खेलेको थियो। तर, नव जनजागृतिले खेलमा अग्रता लिएको थियो। त्यो अग्रता गुमाएको टोलीले उल्टै फराकिलो हार सामना गर्यो। खेलको आठौं मिनेटमा एपिएफले अवसर बुन्यो। तर, प्रदीप तामाङको पासमा मणिकुमार लामाले प्रहार गरेको बलले लक्ष्य लिन सकेन।
२०औं मिनेटमा पनि एपिएफले अर्को अवसर बुन्यो। युवराज थापाले दिएको पासमा बुद्धिमान राईले गोल गर्न सकेनन्। २९औं मिनेटमा निश्चल थापाले गोल गर्दै जनजागृतिलाई सुरुआती अग्रता दिलाए तर जनजागृतिको अग्रता लामो समय टिक्न सकेन। ४३औं मिनेटमा एपिएफ खेलमा फर्कियो। कप्तान हरि कार्कीले उत्कृष्ट गोल गर्दै एपिएफलाई १–१ को बराबरीमा ल्याए।
यससँगै पहिलो हाफ बराबरीमा नै सकियो। तर दोस्रो हाफमा विभागीय टोलीले उत्कृष्ट प्रदर्शन गर्यो। ४६औं मिनेटमा युवराजको गोलमा एपिएफ २–१ ले अघि रह्यो। ५९औं मिनेटमा समीराज थोकरले गोल गर्दै एपिएफलाई ३–१ को स्थिति ल्याए। यसको तीन मिनेटपछि एपिएफले चौथो गोल थप्यो। अनीश घर्ती क्षेत्रीले गोल गरेपछि एपिएफ ४–१ ले अग्रता लियो। त्यसपछि बाँकी समयमा गोल हुन सकेन र एपिएफले मोफसलको टोली नव जनजागृतिमाथि रबाफिलो जित निकाल्यो।
प्रकाशित: ११ फाल्गुन २०८२ ०७:०७ सोमबार





