विभागीय टोली नेपाल पुलिस क्लबले जारी एन्फा यु–१६ युथ लिगमा आफ्नो विजययात्रा चौथो खेलसम्म जारी राखेको छ।
सातबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको तेस्रो खेलमा पुलिसले प्लानिङ ब्वाइज युनाइटेडमाथि ६–० को फरालिको जित निकाल्यो। यससँगै पुलिस चौथो जित निकाल्दै १२ अंकका साथ जारी लिगको शीर्ष स्थानमा यथावत् छ। पुलिसको जितमा समीर कुमारले ह्याट्रिकसहित चार गोल गरे। प्रसन राईले दुई गोल थपे। पुलिसले पहिलो हाफमा चार र दोस्रो हाफमा दुई गोल गरेको हो। खेलको पहिलो मिनेटमा नै प्रसनको गोलबाट पुलिसले अग्रता लियो। समीरले २८औं र २९औं मिनेटमा लगातार दुई गोल गरे। तीन मिनेटपछि नै प्रसनले पुलिसका तर्फबाट चौथो गोल गरे। यससँगै पहिलो हाफमा पुलिसले सहज अग्रता बनायो।
दोस्रो हाफमा पनि पुलिसले छोटो समयको अन्तरमा लगातार दुई गोल गर्यो। ६२औं मिनेटमा समीरले गोल गर्दै ह्याट्रिक पूरा गरे। पाँच मिनेटपछि नै उनले व्यक्तिगत चोथो गोल गरेपछि पुलिस ६–० ले अगाडि बढ्यो। तर, त्यसपछि भने चर्च ब्वाइज केही रक्षात्मक बन्यो र थप गोल बेहोरेन। तर पनि चर्च ब्वाइज जारी लिगमा अर्को फराकिलो हार सामना गर्न बाध्य भयो। चौथो खेलमा चर्च ब्वाइजको यो तेस्रो हार हो। चर्च ब्वाइज तीन अंकसहित पुछारबाट दोस्रो स्थानमा छ। जारी लिगमा चर्च ब्वाइजले २२ गोल बेहोरिसकेको छ।
मनाङ र फ्रेन्ड्सको तेस्रो जित मनाङ मर्स्याङ्दी र फ्रेन्ड्स क्लबले एन्फा यु–१६ युथ लिगमा सोमबार सफलता प्राप्त गर्दै तेस्रो जित निकालेका छन्।
सातबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दोस्रो खेलमा फ्रेन्ड्सले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० ले हराएको हो। फ्रेन्ड्सको जितमा पूरण श्रेष्ठ र मन्दीप ढुंगेलले समान एक गोल गरे। अर्को गोल फ्रेन्ड्सले आत्मघाती रूपमा उपहार पायो। आर्मीको यो लगातार तेस्रो हार हो। समान खेलमा फ्रेन्ड्सको तेस्रो जित हो। यो जितसँगै ९ अंक जोड्दै फ्रेन्ड्स चौथो स्थानमा छ। हारसँगै चार खेलमा तीन अंक जोडेको आर्मी ११औं स्थानमा झरेको छ। फ्रेन्ड्सले पहिलो हाफमा नै दुई गोल गर्यो। खेलको २०औं मिनेटमा पूरण श्रेष्ठले गोल गर्दै अग्रता दिलाए। त्यसको आठ मिनेटमा मन्दीपले दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए।
यससँगै पहिलो हाफमा फ्रेन्ड्स २–० ले अगाडि रह्यो। दोस्रो हाफमा पनि आर्मीले गोल फर्काउन सकेन। ८९औं मिनेटमा बादल पोख्रेलले आत्मघाती गोल गरे। यससँगै फ्रेन्ड्सले आर्मीमाथि सहजै जित निकाल्यो। दिनको पहिलो खेलमा मनाङले साविक विजेता चर्च ब्वाइजमाथि ४–३ को रोमाञ्चक जित निकाल्यो। मनाङको जितमा राम अर्जेलले दुई तथा रोहन थापामगर र धर्बिन्द्र बोहराले समान एक गोल गरे। चर्च ब्वाइजका सुशान थापामगरले दुई गोल गरे। सुजित लामाको नाममा एक गोल रह्यो। जितसँगै मनाङले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ। मनाङले चार खेलबाट तीन जित र एक बराबरी गरेको छ।
मनाङ १० अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। गोलअन्तरका आधारमा मच्छिन्द्र मनाङभन्दा अगाडि छ। लिगमा चर्च ब्वाइजको यो तेस्रो हार हो। चर्च ब्वाइज तीन अंक जोड्दै दशौं स्थानमा झर्यो। चर्च ब्वाइज र मनाङबीचको खेलको पहिलो निकै रोमाञ्चक रह्यो। पहिलो हाफमा नै कुल ६ गोल भए। तर, खेलको छैटौं मिनेटमा नै मनाङले रामको गोलबाट अग्रता लियो। १७औं मिनेटमा रोहनले गोल गर्दै मनाङलाई २–० ले अगाडि बढाए। तर, तीन मिनेटपछि नै चर्च ब्वाइजले गोल फर्काउँदै खेलमा फर्कने संकेत गर्यो। चर्च ब्वाइजका लागि सुशानले गोल गरेका हुन्।
यद्यपि, २४औं रामले व्यक्तिगत दोस्रो गोल गर्दै फेरि मनाङको अग्रता बढाए। ३१औं मिनेटमा सुशानले गोल गर्दै मनाङको अग्रता ३–२ मा छोट्याए। पहिलो हाफको थप समयमा सुजित लामाले गोल गर्दै चर्च ब्वाइजलाई ३–३ को बराबरी गरे। तर, दोस्रो हाफमा मनाङले गोल थप्यो। त्यो नै निर्णायक बन्यो। ८४औं मिनेटमा धर्विन्द्रले गोल गरेका हुन्।
प्रकाशित: ३१ असार २०८२ ०७:५६ मंगलबार





