केही समय विवादित र अव्यस्थित फाइनलमा सफलता निकाल्दै अन्नपूर्ण स्पाइकर किङ्स नेपाल भलिबल लिग (एनभिएल) को पहिलो सिजनको च्याम्पियन भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनलमा अन्नपूर्ण स्पाइकरले शनिबार कर्णाली शिवराजलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि उचाल्यो । आयोजक केडिया ग्रुपले क्षमताभन्दा बढी दर्शक उपस्थित प्रवेश गराएपछि एनभिएलको पहिलो सिजनको फाइनलमा अस्तव्यस्त बनिरहेको थियो ।
फाइनलको दोस्रो सेटमा खेलका रेफ्री विजय केसीले गलत निर्णय दिएको भन्दै कर्णालीका खेलाडीले कोर्ट छाडे । विवादपछि कर्णालीका खेलाडीले करिब २० मिनेटभन्दा बढी कोर्ट छाडे । नेपाल भलिबल संघका उपाध्यक्ष भरत शाहको लगातारको आग्रहपछि कर्णाली कोर्टमा फर्कियो । तर, कर्णालीले आफ्नो लय भने फर्काउन सकेन ।
क्षमताभन्दा बढी समर्थक भित्राएपछि कभर्डहलमा तैनाव सुरक्षाकर्मीले व्यवस्थापनमा नै चुनौतीपूर्ण बन्यो । दर्शकले भने फाइनलमा प्रतिस्पर्धात्मक र रोमाञ्चक खेल देख्न पाएनन् । फाइनल खेल एक पक्षीय नै रह्यो । दोस्रो सेटमा विवाद हुँदा कर्णाली ५–२ ले पछि थियो ।

फाइनलमा खराब खेलेको कर्णालीले विवादपछि कोर्टमा फर्किए पनि प्रदर्शन सुधार गर्न सकेन । उसका विदेशी खेलाडीले पनि स्वाभाविक लय देखाएनन् । यससँगै दोस्रो सेट पनि अन्नपूर्ण स्पाइकरले २५–२० ले सहजै आफ्नो बनाउँदै उपाधिनजिक पुग्यो । पहिलो सेट भने २५–१५ ले आफ्नो पक्षमा राख्दै अन्नपूर्ण स्पाइकरले राम्रो सुरुआत पाएको थियो । त्यही लय जारी राख्दा कर्णाली दबाबमा पर्यो ।
तेस्रो सेटमार्फत कर्णाली खेलमा फर्किन आशा गरिएको थियो । तर, आशाअनुरूप कर्णालीले प्रदर्शन गर्न सकेन । यो सेट पनि २५–१८ ले सहजै अन्नपूर्णको पक्ष्मा रह्यो ।
तीन सेटमा २० कटाउन नसकेको कर्णालीको फाइनलमा प्रदर्शन बिर्सनलायक बन्यो । साथै अन्नपूर्ण स्पाइकरले लिगमा बेहोरेको हारको बदला पनि लियो । लिग चरणमा कर्णालीले अन्नपूर्ण स्पाइकरलाई ३–१ ले हराएको थियो ।
अन्नपूर्ण स्पाइकरको जितमा मंगोलियाली खेलाडी उरानबायर मंखबायर, इंख एर्डेन जारगालसोट र तुर्मान्डाख गान्खुयागले उत्कृष्ट प्रदर्शन गरे । उरानबायर प्लेर अफ दी म्याच पनि भए ।
यता कर्णालीको विदेशी खेलाडी भने चल्न सकेन । लिगको विजेता अन्नपूर्ण स्पाइकरले २० लाख रुपैयाँ पायो । दोस्रो हुने टोलीको पुरस्कार भने आयोजकले घोषणा गरेको छैन । केडिया ग्रुपद्वारा आयोजित एनभिएलको पहिलो सिजनमा कुल ६ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
लिगमा खप्तड फाल्कन्स, काठमाडौं रेड्स, मधेश वारियर्स र सगरमाथा स्म्यासर्स गरी ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरेका थिए ।
प्रकाशित: २७ भाद्र २०८३ २०:४७ शनिबार





