सरिता विकको उत्कृष्ट प्रदर्शनमा आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लबले जारी एन्फा महिला लिग छनोटमा दोस्रो जित निकालेको छ।
च्यासलस्थित च्यासल फुटबल मैदानमा सोमबार आरएस रिसोर्ट एन्ड बिचले सिन्धुपाल्चोक एफसीमाथि ८–३ को फराकिलो जित निकालेको छ। आरएस रिसोर्टमा सरिताले चार, ईशा चौधरीले दुई तथा सलिना सरु र तुलसी शाहीले समान एक गोल गरे।
सिन्धुपाल्चोकका लागि अनु भुसालले दुई तथा मिन्जल लामाले एक गोल गरे। समूह ‘ए’ को आरएस रिसोर्ट एन्ड बिचले तीन खेलबाट दोस्रो जित आत्मसात् गर्यो। आरएस रिसोर्ट एन्ड बिचले तीन खेलबाट ६ अंक जोडेको छ। तीनै खेलमा पराजित सिन्धुपाल्चोक अंकविहीन छ। दिनको अन्तिम खेलमा समूह ‘बी’ को एनबिएम पोखरा महिला फुटबल टिम र लम्की फुटबल ट्रेनिङ सेन्टरबीचको खेल गोलरहित बराबरीमा रोकियो।
आरएस रिसोर्ट एन्ड बिच र सिन्धुपाल्चोकबिच पहिलो हाफको खेल केही प्रतिस्पर्धात्मक बन्यो। पहिलो हाफमा आरएस रिसोर्टले तीन र सिन्धुपाल्चोकले दुई गोल गरे। सिन्धुपाल्चोकले अग्रता लिए पनि एकपछि अर्को गोल बेहोर्यो। खेलको सातौं मिनेटमै अनुको गोल मार्फ त सिन्धुपाल्चोकले अग्रता लिएको थियो। तर, पाँच मिनेटपछि नै ईशाले आरएस रिसोर्ट एन्ड बिचलाई बराबरीमा ल्याइन्।
सलिनाले ३२औं मिनेटमा गोल गर्दा आरएस रिसोर्ट २–१ ले अगाडि बढ्यो। सात मिनेटपछि सरिताले टोलीका लागि तेस्रो गोल गरिन्। सिन्धुपाल्चोकका मिन्जलले ४४औं मिनेटमा गोल गर्दै खेल ३–२ को स्थितिमा ल्याइन्। दोस्रो हाफमा भने आरएस रिसोर्ट पूर्ण रूपमा हाबी भयो।
दोस्रो हाफको सुरुमै सिन्धुपाल्चोकले गोल फर्काउँदै बराबरीको स्थितिमा ल्यायो। ५६औं मिनेटमा अनुले व्यक्तिगत दोस्रो गोल गरिन्। यससँगै सिन्धुपोल्चोकले खेल ३–३ को बराबरीमा ल्यायो। तर, यसपछि आरएस रिसोर्ट एन्ड बिचले लगातार गोल थप्यो। ईशाले ५९औं र सरिताले ७०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। यससँगै आरएस रिसोर्टले ५–३ को अग्रता लियो। सरिताले ८५औं मिनेटमा ह्याट्रिक पूरा गरिन्।
आरएस रिसोर्टले निर्धारित समयमा दुई गोल थप्यो। खेल सकिन दुई मिनेट बाँकी छँदा सरिताले व्यक्तिगत चौथो गोल गरिन्। आरएस रिसोर्टले सातौं गोल ग¥यो। इन्जुरी समयमा तुलसीले अर्को गोल गरिन्। यससँगै आरएस रिसोर्टले ८–३ को सानदार जित निकाल्दै जारी लिगमा दोस्रो सफलता निकाल्यो।
प्रकाशित: १० भाद्र २०८२ ०८:१४ मंगलबार





