राष्ट्रिय खेलकुद परिषद(राखेप) ले अखिल नेपाल फुटबल संघ(एन्फा) नेतृत्वमाथि लगाएको निलम्बन फुकुवा गरेको छ।
एन्फाका महासचिवसहित पदाधिकारीहरूले शुक्रबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललगायतसँग भेटवार्ता गरेपछि निलम्बन फुकुवा गर्ने सहमति बनेको हो।
एन्फाका प्रवक्ता सुरेश शाहले निलम्बन बिना शर्त फुकुवा गरिएको पुष्टि गरे। उनले फिफालाई यसबारे जानकारी गराएपछि थप विवरण सार्वजनिक गरिने बताए।
उनका अनुसार निलम्बन फुकुवासँगै नेपाली महिला टोलीको साफ महिला च्याम्पियनसिपमा सहभागिता जनाउने सम्भावना पनि बलियो बनेको छ।
यसअघि राखेपले पटक–पटक दिएको निर्देशन पालना नगरेको भन्दै गत चैत ११ गते खेलकुद विकास ऐन, २०७७ को दफा २९ (२) अनुसार एन्फा नेतृत्वलाई निलम्बन गर्ने निर्णय गरेको थियो।
शाहले सामाजिक सञ्जालमा लेखेका छन् "नेपाली फुटबलमा देखिएको गतिरोध अन्त्य गर्दै बिना सर्त एन्फा माथिको प्रतिबन्ध फुकुवा गरिदिएकोमा नेपाल सरकार, माननीय शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलज्यू, प्रमुख सल्लाहकार सिद्दी ब्यन्जन्कारज्यू, सल्लाहकार राजु सिंहज्यू, सदस्य सचिव राम चरित्र मेहताज्यू लगायत यस कार्यमा संलग्न सम्पूर्ण व्यक्तित्वहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। नेपाली फुटबलको विकासका लागि यो अत्यन्त सराहनीय र ऐतिहासिक निर्णय हो।"
प्रकाशित: १ जेष्ठ २०८३ १९:२८ शुक्रबार





