पछिल्ला केही महिनायता नेपाली फुटबलको अभिभावक अखिल नेपाल फुटबल संघ (एन्फा) विवादमुक्त रहन सकेको छैन। प्रायः हरेक दिनजसो कुनै न कुनै प्रसङ्गमा एन्फा आलोचनाको केन्द्रमा पर्दै आएको छ।
एन्फा विवादमा नपर्नु पनि किन ? सानातिना विषयदेखि लिएर ठूला निर्णयसम्मका कारण संघ अहिले चारैतिरबाट घेराबन्दीमा परेको छ। यस्तो अवस्थाले एन्फालाई समस्याको भुमरीबाट बाहिर निस्किन झन् कठिन बनाएको छ।
एकपछि अर्को विवादले एन्फालाई नेपाली खेलकुद जगतमा आलोचनाको पात्र बनाइरहेको छ। कहिले नेपाल फुटबल खेलाडी संघसँग मतभेद, कहिले लिग खेल्ने डिभिजन क्लबहरूसँग असहमति, त कहिले राष्ट्रिय खेलकुद परिषद् (राखेप)सँगको टकराव - एन्फा निरन्तर समाचारको शीर्षकमा छ।
डिभिजन क्लब र खेलाडी संघसँगका विषयमा एन्फाले कुनै न कुनै रूपमा समायोजन खोजे पनि राखेपासँगको विवाद भने गम्भीर बनेको छ। यही क्रममा एन्फाले आफ्नै घरेलु मैदानमा नेपाल र हङकङबीच मैत्रीपूर्ण खेल आयोजना गर्ने तयारी गरेको थियो।
लामो समयपछि नेपालमा अन्तर्राष्ट्रिय खेल आयोजना हुने अपेक्षा गरिएको थियो। त्यसका लागि एन्फाले आवश्यक तयारीसमेत अघि बढाएको थियो। तर आइतबार दिउँसो एन्फाले प्रेस विज्ञप्ति जारी गर्दै उक्त मैत्रीपूर्ण खेल स्थगित भएको जानकारी गरायो। एन्फाका अनुसार राष्ट्रिय खेलकुद परिषद्ले मैदान उपलब्ध नगराएकै कारण खेल रोकिएको हो।
यससँगै एन्फा र राखेपबीच आरोप-प्रत्यारोपको शृङ्खला सुरु भयो।
एन्फाले फागुन १० गते नै पत्रमार्फत रंगशालाको प्रयोग तथा आवश्यक पूर्वाधार-फ्लडलाइट, स्कोरबोर्डलगायत-उपलब्ध गराइदिन अनुरोध गरेको जनाएको छ। तर राखेपले भने चैत ५ गते नै स्वीकृति दिइसकेको दाबी गर्दै एन्फाको भनाइलाई अस्वीकार गरेको छ।
राखेपले एन्फामाथि भ्रमपूर्ण आरोप लगाएर आफ्ना कमजोरी ढाकछोप गर्न खोजेको आरोपसमेत लगाएको छ। दुवै पक्षका फरक-फरक दाबीले नेपाली फुटबल क्षेत्रमा अन्योल सिर्जना गरेको छ, जसको प्रत्यक्ष असर खेलाडीको भविष्यमा पर्ने देखिन्छ।
विवाद यतिमै सीमित रहेन। राखेपको प्रतिक्रिया आएपछि एन्फाले सोमबार पुनः प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना कर्मचारी स्वीकृति लिन कार्यालय पुगे पनि आवश्यक पत्र नपाएको दाबी दोहोर्यायो। अन्तर्राष्ट्रिय खेलको तयारीका लागि समय अभाव र औपचारिक स्वीकृति नपाउँदा प्रतियोगिता स्थगित गर्नुपरेको एन्फाले जनाएको छ।
खेलाडी टिकाउनै मुस्किल
पछिल्ला वर्षहरूमा नेपाली फुटबलले प्रतिभावान खेलाडीलाई देशमै टिकाइराख्न कठिनाइ भोग्दै आएको छ। झन्डै तीन दर्जनभन्दा बढी खेलाडी विदेश पलायन भइसकेका छन्।
यसको प्रमुख कारण घरेलु प्रतियोगिताको अभाव र अन्तर्राष्ट्रिय खेल तालिकामा असमञ्जस नै हो। खेलाडीहरू विदेशिने क्रम बढेसँगै राष्ट्रिय टोली निर्माणमा प्रशिक्षकहरूलाई समेत कठिनाइ हुने गरेको छ।
केही समयअघि घरेलु फुटबलमा पुनः चहलपहल देखिएको थियो। पुरुष राष्ट्रिय लिग सञ्चालन भइरहँदा खेलाडीहरूले जीविकोपार्जनको आधार पाएका थिए। तर विदेशी खेलाडीको भिसासम्बन्धी समस्याका कारण लिग स्थगित भयो। महिलातर्फ पनि अवस्था उस्तै रह्यो - राष्ट्रिय लिग केही खेलमै सीमित रहँदै रोकियो।
समयमै प्रतियोगिता सञ्चालन हुन नसक्नु नेपाली फुटबलको दीर्घकालीन समस्या बनिसकेको छ। लिग सञ्चालनमा देखिने लापरवाहीका कारण खेलाडीहरू नै संकटमा पर्ने गरेका छन्।
एन्फाभित्रका दीर्घकालीन विवाद र प्रतियोगिताको अनिश्चितताले नेपाली खेलाडीलाई स्वदेशमै फुटबल खेलिरहनु चुनौतीपूर्ण बन्दै गएको छ।
प्रकाशित: ९ चैत्र २०८२ १६:२९ सोमबार





