नेपाल प्रिमियर लिग (एनपीएल) तेस्राे सिजनका लागि जनकपुर बोल्ट्सले अमेरिकी अलराउन्डर हरमीत सिंहलाई टोलीमा अनुबन्ध गरेको छ।
जनकपुरले आगामी सिजनका लागि हरमीतलाई विदेशी खेलाडीका रूपमा टोलीमा समेटेको हो। ब्याटिङसँगै स्पिन बलिङ गर्न सक्ने हरमीतको आगमनले जनकपुरको टोली थप सन्तुलित हुने अपेक्षा गरिएको छ। भारतीय मूलका हरमीतले पछिल्लो समय अमेरिकी राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आएका छन्। उनी बायाँ हाते ब्याटर तथा बायाँ हाते स्पिन बलर हुन्।
हरमीत यसअघि एनपीएलको पहिलो र दाेस्राे संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए। त्यसपछि उनी एनपीएलमा पुनः फर्किँदै यसपटक जनकपुरको जर्सीमा देखिने भएका हुन्। टी–२० क्रिकेटमा ब्याटिङ र बलिङ दुवैतर्फ योगदान दिन सक्ने भएकाले हरमीतलाई जनकपुरका लागि उपयोगी खेलाडीका रूपमा हेरिएको छ।
विशेषगरी मध्यक्रमको ब्याटिङ र स्पिन बलिङमा उनले टोलीलाई विकल्प दिन सक्नेछन्। एनपीएलको आगामी सिजनलाई लिएर जनकपुरले टोली निर्माणलाई तीव्रता दिइरहेको छ। हरमीतको अनुबन्धनसँगै जनकपुरको विदेशी खेलाडी संयोजनसमेत थप बलियो बनेको छ। अब जनकपुरको जर्सीमा हरमीतको प्रदर्शन कस्तो रहनेछ भन्नेमा समर्थकको नजर रहनेछ।
प्रकाशित: २३ श्रावण २०८३ ०८:३८ शनिबार





