जय ट्रफी मेन्स एलिट कप प्रतियोगिता खेल्ने ६ वटै टोलीको टुंगो लागेको छ।
बुधाबार प्रधानमन्त्री क्रिकेट कप प्रतियोगिताको समूह चरणको अन्तिम खेल सकिएसँगै उक्त प्रतियोगिता खेल्ने सबै ६ वटै टोलीको टुंगो लागेको हो।
फाइनलिस्ट त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम रोयल्यसँगै, सशस्त्र प्रहरी बल एपीएफ, मधेश प्रदेश, लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लबले जय ट्रफी खेल्ने भएका छन्। जय ट्रफी खेल्ने दौडमा गण्डकी प्रदेश रहेपनि रनरेटमा पछि पर्दै लिग चरणमै रोकियो। पुलिस क्लब र लुम्बिनी प्रदेशसँग समान ९ अंक भएपनि रनरेटमा पछि पर्दै गण्डकी सातौं स्थानमा रह्यो ।
अपराजित रहेको आर्मीको १७, दोस्रो स्थानमा रहेको सुदूरको १२, समान ११ अंक भएपनि रनरेटका आधारमा एपीएफ तेस्रो र मधेश प्रदेश चौथो स्थानमा रहे। पुलिस पाँचौ र लुम्बिनी छैठौ स्थानमा रहे।
यसअघि, जय ट्रफीमा कुल ४ टाेलीले प्रतिस्पर्धा गर्ने प्रावाधान थियो। नेपाल क्रिकेट संघ (क्यान)ले आगामी वर्षदेखि जय ट्रफीमा कुल ६ टोलीले खेल्ने योजना बनाएको हो।
यसअघि प्रधानमन्त्री क्रिकेट कप प्रतियोगिताको शीर्ष ४ मा रहेका टोलीले उक्त प्रतियोगिता खेल्दै आइरहेका थिए।
जारी पिएम कपको उपाधिका लागि भने आर्मी र सुदूरपश्चिम शुक्रबार प्रतिस्पर्धा गर्नेछन्।
प्रकाशित: २ वैशाख २०८३ १४:४९ बुधबार





