स्पेनिस टेनिस स्टार कार्लोस अल्काराज साङ्घाई मास्टर्स टेनिस प्रतियोगिताको अन्तिम ३२ बाटै बाहिरिएका छन्। सोमबार भएको खेलमा सात पटकका ग्रान्डस्लाम विजेता अल्काराज बेल्जियमका जिजु बर्ग्ससँग ७-५, ७-६ (४) ले पराजित भएका हुन्।
वरीयताविहीन बर्ग्सले दोस्रो वरीयताका अल्काराजलाई हराउँदै आफ्नो खेल जीवनकै सबैभन्दा ठूलो जित दर्ता गरे। यस नतिजासँगै अलेक्जेन्डर ज्वेरेभ एटीपीको वर्षको अन्त्यमा विश्व नम्बर एक खेलाडी बन्ने पनि निश्चित भएको छ।
२७ वर्षीय बर्ग्सले दुई घण्टा दुई मिनेट चलेको प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गरे। उनले अल्काराजको सर्भिस तीन पटक तोड्दै जित सुनिश्चित गरेका थिए। तीव्र गतिमा खेलिएको प्रतिस्पर्धामा बर्ग्सले निर्णायक क्षणमा संयमित खेल देखाए।
यसअघि यी दुई खेलाडीबीच भएको एकमात्र प्रतिस्पर्धामा बर्ग्स जापान ओपनको अन्तिम १६ मा अल्काराजसँग पराजित भएका थिए। तर यसपटक उनले प्रभावशाली प्रदर्शन गर्दै स्पेनिस खेलाडीलाई निराश बनाए।
जितपछि बर्ग्सले शीर्ष खेलाडीविरुद्धको सफलता आफ्नो लागि विशेष भएको बताए। उनले ठूला खेलाडीसँग खेल्दा उनीहरूप्रति बढी सम्मान गर्ने बानी कहिलेकाहीँ आफ्नो खेलमा बाधक बन्ने गरेको उल्लेख गर्दै नियमित अभ्यास र प्रतिस्पर्धाबाट आत्मविश्वास बढेको बताए।
'यो मेरा लागि निकै कठिन रहेको कुरा हो। म प्रायः यी खेलाडीलाई धेरै सम्मान गर्छु। त्यो मेरो संस्कृतिको हिस्सा हो र मलाई त्यसमा गर्व छ। तर उनीहरूविरुद्ध खेल्दा कहिलेकाहीँ त्यसले असर गर्छ,' बर्ग्सले भने।
उनले ठूला खेलाडीसँग अभ्यास र प्रतिस्पर्धा गर्ने अनुभव बढ्दै जाँदा उनीहरूलाई हराउन सकिन्छ भन्ने विश्वास पनि बढेको बताए।
यता अल्काराजले आफ्नो प्रदर्शन अपेक्षाअनुसार हुन नसकेको स्वीकार गरे। उनले रिटर्नमा सही स्थान बनाउन नसकेको र खेलका क्रममा धेरै गल्ती गरेको बताए।
'मैले आफूले चाहेजस्तो खेल्न सकिनँ। धेरै गल्ती भए र रिटर्नमा राम्रो स्थान भेट्टाउन सकिनँ। उनी राम्रो खेले र सर्भिस पनि उत्कृष्ट गरे। तर खेलको लय समातेर र्यालीमा प्रवेश गरेपछि पनि मैले धेरै गल्ती गरें,' अल्काराजले भने।
करिब पाँच महिनासम्म नाडीको चोटका कारण कोर्टबाहिर रहेका अल्काराज अगस्टको अन्त्यमा यूएस ओपनमार्फत फर्किएका थिए। उनले त्यस प्रतियोगिताको क्वार्टरफाइनलसम्म यात्रा गरेका थिए। त्यसपछि जापान ओपनको उपाधि रक्षा गरेका उनी साङ्घाईमा भने अपेक्षाकृत कमजोर प्रदर्शन गर्दै बाहिरिए।
यस प्रतियोगितामा अल्काराजसँगै २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच र यूएस ओपनका उपविजेता बेन शेल्टन पनि बाहिरिएका छन्।
प्रकाशित: २७ आश्विन २०८३ ०९:१२ मंगलबार


-600x400.jpg)


