२० असार २०८३ शनिबार
image/svg+xml
खेल

नकआउट चरणमा इतिहासकै दोस्रो जित निकाल्ने लक्ष्य

दक्षिण अमेरिकी राष्ट्र कोलम्बिया र अफ्रिकी टोली घाना फिफा विश्वकप विश्वकपको नकआउट चरणमा आफ्नो इतिहासकै दोस्रो जित रच्ने लक्ष्यसहित मैदान उत्रनेछन्।

उत्तर अमेरिकामा जारी फिफा विश्वकपको अन्तिम ३२ मा रहेका कोलम्बिया र घाना अमेरिकाको कानसास सिटी स्टेडियममा शनिबार बिहान प्रतिस्पर्धा गर्दै छन्।  दुवै टोलीको लक्ष्य विश्वकपको नकआउट चरणमा दोस्रो जित निकाल्दै क्वार्टरफाइनलनजिक पुग्ने रहेको छ।  

कोलम्बियाले विश्वकपमा आफ्नो उत्कृष्ट प्रदर्शन सन् २०१४ मा गरेको थियो।  ब्राजिलमा भएको त्यस संस्करणमा कोलम्बिया अन्तिम आठसम्म पुग्दा टोलीका नायक थिए, कप्तान जेम्स रोड्रिगेज। उक्त विश्वकपमा ६ गोलसहित उनी गोल्डेन बुट विजेता हुन्।  एक दशकपछि पनि उनी टोलीका प्रमुख खेलाडीका रूपमा मैदान उत्रने तयारीमा छन्।

घानाविरुद्ध विश्वकपमा कोलम्बियाका लागि उनको १०औँ सुरुआती खेल हुनेछ।  जससँगै उनले कार्लोस भाल्देरामा र फ्रेडी रिन्कोनको कीर्तिमान बराबरी गर्नेछन्।

समूहचरणको अन्तिम खेलमा पोर्चुगलसँग गोलरहित बराबरी खेल्दै कोलम्बिया समूह ‘के’ को शीर्ष टोली बनेको थियो। त्यस खेलमा जेम्सले विपक्षीको अन्तिम तेस्रो क्षेत्रमा ३८ सफल पास दिएका थिए, जुन विश्वकपमा कोलम्बियाली खेलाडीले गरेको उत्कृष्ट प्रदर्शनमध्ये एक हो। यद्यपि टोलीले खेलभर सबैभन्दा धेरै २४ प्रहार गरे पनि गोल गर्न भने सकेन।

प्रशिक्षक नेस्टोर लोरेन्जोको टोली कोलम्बियाले समूह चरणमा चार गोल गरेको थियो। तीमध्ये डिफेन्डर डानियल मुन्योसको नाममा दुई गोल रह्यो।  उनले डिआर कंगोविरुद्ध निर्णायक गोल गरेका थिए।

विश्वकपको एउटै संस्करणमा कोलम्बियाका लागि जेम्स रोड्रिगेज र येरी मिनापछि दुई वा सोभन्दा बढी गोल गर्ने खेलाडीका रूपमा मुन्योसको नाम थपिएको छ।

रक्षात्मक रूपमा पनि कोलम्बिया उत्कृष्ट लयमा छ। पछिल्ला ६ विश्वकप खेलमा उसले दुई गोल मात्र बेहोरेको छ। चार खेलमा क्लिनसिट कोलम्बियाको नाममा छ। घानाविरुद्ध पनि गोल नखाए विश्वकप इतिहासमा पहिलोपल्ट लगातार तीन खेल क्लिनसिट राख्ने उपलब्धि दक्षिण अमेरिकी टोलीले बनाउनेछ।

घानाका प्रशिक्षक कार्लोस क्वेरोजका लागि यो खेल विशेष हुनेछ। उनी सन् २०१९ देखि २०२० सम्म कोलम्बियाका प्रशिक्षक पनि थिए। विश्वकप सुरु हुनुअघि मात्र घानाको जिम्मेवारी सम्हालेका उनले टोलीलाई पाँच सहभागितामध्ये तेस्रो पटक नकआउट चरणमा पुर्‍याएका छन्। लगातार पाँच विश्वकपमा प्रशिक्षकका रूपमा सहभागी हुने दोस्रो प्रशिक्षकको कीर्तिमान पनि उनको नाममा छ।

घानाले समूह चरणमा रक्षात्मक खेलमार्फत सफलता पाएको थियो।  इ्ङल्यान्डसँग गोलरहित बराबरी खेलेको घानाले बल नियन्त्रणमा औसत ३६.१ प्रतिशत राख्यो। जुन नकआउट चरणमा पुगेका टोलीहरूमध्ये दोस्रो सबैभन्दा कम हो  तर रक्षात्मक अनुशासनका कारण उसले नतिजा निकाल्न सफल भयो। आक्रमणमा घानाले अझै अपेक्षाअनुसार प्रदर्शन गर्न सकेको छैन। टोलीले समूह चरणमा दुई गोल गरेको छ। महत्त्वपूर्ण खेलाडी मानिएकारो एन्टोइन सेमेन्योले अहिलेसम्म एउटा पनि प्रहार लक्ष्यमा राख्न सकेका छैनन्। क्रोएसियाविरुद्धको खेलमा उनको खुट्टामा सामान्य चोट लागेको थियो तर उनी कोलम्बियाविरुद्ध खेल्न तयार रहने अपेक्षा गरिएको छ। प्रशिक्षक क्वेरोजले युवा विंगर अब्दुल फातावुलाई सुरुआती टोलीमा अवसर दिन सक्ने सम्भावना पनि छ। उनले सीमित समय मैदानमा बिताए पनि घानाका लागि सबैभन्दा धेरै सफल ड्रिबल र अवसर सिर्जना गरेका छन्।

कोलम्बिया र घाना विश्वकपमा पहिलो पटक एकअर्काविरुद्ध खेल्न लागेका हुन्।  कोलम्बियाले अफ्रिकी टोलीविरुद्ध खेलेका पछिल्ला चार विश्वकप खेलमा एक गोलको अन्तरले जितेको छ। यद्यपि नकआउट चरणमा अफ्रिकी टोलीसँगको एकमात्र भेटमा भने सन् १९९० मा क्यामरुनसँग अतिरिक्त समयमा पराजित भएको थियो। घानाले भने विश्वकपमा दक्षिण अमेरिकी टोलीविरुद्ध जित निकाल्न सकेको छैन।

सन् २००६ मा ब्राजिलसँग र सन् २०२२ मा उरुग्वेसँग पराजित भएको थियो।  सन् २०१० को क्वार्टरफाइनलमा उरुग्वेविरुद्ध लुइस स्वारेजको चर्चित ह्यान्डबल घटनापछि पेनाल्टी सुटआउटमा हार बेहोरेको खेल अझै घानाको विश्वकप इतिहासको सबैभन्दा पीडादायी क्षणमध्ये एक मानिन्छ।

एक तथ्यांक विश्लेषणले यस खेलमा कोलम्बियालाई स्पष्ट रूपमा बलियो दाबेदार मानेको छ। तथ्यांकले कोलम्बियाको जित्ने सम्भावना ६८.९ प्रतिशत देखाएको छ।  घानाको सम्भावना ११.६ प्रतिशत मात्र छ। निर्धारित ९० मिनेटमा खेल बराबरी हुने सम्भावना १९.५ प्रतिशत रहेको अनुमान गरिएको छ। दुवै टोलीको विश्वकप नकआउट इतिहास धेरै समृद्ध छैन।  घानाले नकआउट चरणका तीन खेलमध्ये एक जितेको छ। कोलम्बियाले चार नकआउट खेलमध्ये एक मात्र जितेको छ। त्यसैले यस पटक दुवै टोलीका लागि इतिहास दोहोर्‍याउने र नयाँ अध्याय लेख्ने अवसर एकैसाथ उपस्थित भएको छ।  

प्रकाशित: २० असार २०८३ ०७:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App