४ चैत्र २०८२ बुधबार
image/svg+xml
खेल

इङ्ग्ल्यान्डसँग नेपालको खेल हेरेपछि क्रिकेट जगतले भन्यो : च्याम्पियन टोली यस्तै हुन्छ !

टि-२० विश्वकप

आइतबार भारतको मुम्बईस्थित वानखेडे रंगशालामा भएको आईसीसी पुरुष टी-२० विश्वकपको ग्रुप सीको खेलमा इङ्ल्यान्डले नेपाललाई ४ रनले हरायो। इङ्ल्यान्डले टस जितेर ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाएको थियो।

जवाफमा नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनायो। खेल अन्तिम बलसम्म तनावपूर्ण रह्यो। नेपाल १८५ को लक्ष्यबाट ४ रनले चुकेको थियो। प्लेयर अफ द म्याच विल ज्याक्स बने।

यो हारलाई क्रिकेट जगतले नेपालको ठूलो उपलब्धिका रूपमा हेरेको छ। विश्वभर सामाजिक सञ्जालमा नेपालको निडर प्रदर्शनको प्रशंसा भइरहेको छ। इङ्ल्यान्डको जितभन्दा नेपालको संघर्ष बढी चर्चामा छ।

सन् २००७ का विश्वकप विजेता भारतका पूर्वक्रिकेटर युवराज सिंहले लेखेका छन्, ‘नेपालप्रति धेरै सम्मान। उनीहरूले विश्वकै उत्कृष्ट टोलीहरूमध्ये एकलाई कडा टक्कर दिए र अन्त्यसम्म लडे। उनीहरूले विश्वास र हृदयले के गर्न सक्छ भनेर देखाए। यसरी नै टोलीहरूले प्रगति गर्नुपर्छ। यसरी नै च्याम्पियनहरूले प्रगति गर्छन्। क्रिकेट जगतले हेरिरहेको छ।’

दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर डेल स्टेनले भनेका छन्, ‘नेपाल, यदि तपाईंलाई कहिल्यै मेरो आवश्यकता पर्यो भने, म मेरो सेवा दिन तयार छु! अगाडि बढिरहनुहोस्!’ नेपाली बलर नन्दन यादवले १० वर्षसम्म क्रिकेटमा राज गर्ने खेलाडीले नेपालबारे पोस्ट गर्नुलाई ठूलो कुरा मानेका छन्।

खेलपछि इङ्ल्यान्डका कप्तान ह्यारी ब्रुकले खेल निकै रोमाञ्चक भएको बताए। उनले नेपालले धेरै पटक इङ्ल्यान्डलाई कठिन अवस्थामा पुर्‍याएको र विशेष गरी आदिल रशिदलाई राम्रोसँग खेलाएको उल्लेख गरे। उनले नेपालको प्रदर्शनलाई उत्कृष्ट भने।

त्यस्तै, इङ्ल्यान्डका अलराउन्डर विल ज्याक्सले नेपालको प्रदर्शनलाई उत्कृष्ट भनेका छन्। 

भारतका पूर्वक्रिकेटर आर अश्विनले लेखेका छन्, ‘नेपालले राम्रो काम गर्‍यो। उनीहरू विश्वका उत्कृष्ट उदीयमान टोलीहरू मध्ये एक हुन्। उनीहरूसँग धेरै सम्भावना छ।’

भारतका पूर्वक्रिकेटर इरफान पठान, आकाश चोपडा, इङ्ल्यान्डका पूर्वकप्तान माइकल भन, र पूर्व भारतीय ब्याट्सम्यान सञ्जय मांजरेकरले पनि नेपालको खेल र भविष्यको खुलेर प्रशंसा गरेका छन्।

कुशल भुर्तेलको धमाकेदार सुरुवातपछि रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीको साझेदारीले इङ्ल्यान्डलाई चुनौती दिएको थियो। लोकेश बमको अन्तिम प्रयासले क्रिकेट मैदान ‘नेपाल, नेपाल’ को नाराले गुन्जायमान बनेको थियो।

खेलपछि विश्व क्रिकेट जगतको प्रशंसाले नेपाल क्रिकेटको भविष्य उज्ज्वल देखाएको स्पष्ट छ। दुई पटकको च्याम्पियन इङ्ल्यान्डलाई हारको संघारमा पुर्‍याएर नेपालले आफूलाई उदीयमान शक्ति प्रमाणित गरेको छ।

प्रकाशित: २६ माघ २०८२ १३:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App