१ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
खेल

हारपछि कप्तान ऐरीले भने- ब्याटिङ राम्रो भएन, भोलिको खेलमा जित्ने कोसिस गर्छौं

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले युएईविरुद्धको पहिलो ऐतिहासिक रात्रिकालीन खेलमा ब्याटिङ पक्ष कमजोर रहँदा हार बेहोर्नुपरेको स्वीकार गरेका छन्।

सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सम्पन्न खेलमा ६ विकेटको पराजयपछि प्रतिक्रिया दिँदै उनले युवा टोली भएकाले अनुभवको कमी देखिएको बताए।

‘हाम्रो ब्याटिङ आज राम्रो हुन सकेन, तर समग्रमा हामीले राम्रै खेलेका थियौं,’ कप्तान ऐरीले भने, ‘यो युवा टोली हो, अनुभव बढ्दै गएपछि पक्कै राम्रो हुनेछ।’ उनले पिचको बाउन्स कम (लो) भएका कारण ठूला सट प्रहार गर्न कठिन भएको उल्लेख गरे।

स्पिनर सन्दीप लामिछानेको प्रशंसा गर्दै कप्तान ऐरीले उनको खेलले टोलीलाई फाइदा पुगेको बताए। ‘सन्दीप हाम्रो मुख्य बलर हुन्, उनको प्रदर्शनले टोलीलाई ठूलो राहत मिल्यो र हामीले खेलमा कमब्याकको प्रयास गरेका थियौं,’ उनले थपे।

सन्दीपले यस खेलमा ३ विकेट लिएका थिए।

प्रतिकूल मौसम र वर्षाका बाबजुद रंगशालामा उपस्थित भएर साथ दिने नेपाली दर्शकप्रति उनले आभार प्रकट गरे। ‘पानी परे पनि दर्शकहरूले कुरेरै हामीलाई साथ दिनुभयो,’ दीपेन्द्रले भने, ‘भोलिको खेलमा पनि यसरी नै आइदिनुहोला, हामी जित्ने कोसिस गर्नेछौं।’

नेपाल र युएईबीचको दोस्रो तथा अन्तिम टी–२० खेल भोलि मंगलबार कीर्तिपुर मैदानमै हुनेछ।

प्रकाशित: ७ वैशाख २०८३ २१:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App