भुटानमा जारी एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालले पहिलो जित दर्ता गरेको छ । थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा शुक्रबार भएको खेलमा नेपालले साउदी अरेबियामाथि १-० को साँधुरो जित निकालेको हो ।
साउदीविरुद्ध सुरुवातबाटै दबाब बनाएपनि गोल गर्न भने नेपालले ९० औं मिनेसम्म कुर्नु परेको थियो । पूर्णिमा राईले वानटचमा गोल गर्दै नेपाललाई महत्वपूर्ण ३ अंक दिलाइन् ।
नेपाल खेलको ३८औं मिनेटमा पेनाल्टीमा गोल गर्न भने चुकेको थियो । मीना देउवाले प्रहार गरेको बल पोलमा लागेर फर्केको थियो । रिबाउन्डमा पनि गोल गर्न नसकेपछि नेपाल पहिलो हाफमा नै अग्रता बनाउनबाट असफल भएको थियो ।
नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेलेको थियो । शुक्रबारको जितपछि नेपालको चार अंक भएको छ ।
आफ्नो पहिलो खेलमा उत्तर कोरियासँग १५–० को फराकिलो हार बेहोरेको साउदी अरेबियाको एसियन कपमा छनोट हुने सम्भावना सकिएको छ ।
छनोटको आफ्नो अन्तिम खेलमा नेपालले बलियो टोली उत्तर कोरियासँग आइतबार प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको हरेक समूहबाट समूह विजेता एसियन कपमा छनोट हुने छन् भने दुई उत्कृष्ट उपविजेता पनि छनोट हुने प्रावधान रहेको छ।
प्रकाशित: २३ श्रावण २०८२ १५:३८ शुक्रबार





