नेपालको एक मात्र अन्तर्राष्ट्रिय फुटबल मैदानको पुनर्निर्माणका लागि एसियन फुटबल फेडेरेन्सन (एएफसी)ले अखिल नेपाल फुटब संघ (एन्फा)लाई निर्देशन दिएको छ।
गत अगस्ट १० मा एएफसीका सहमहासचिव सिनमान गिलको नेतृत्वमा टोलीले दशरथ रगंशालाको निरीक्षण गर्न आएको थियो। निरीक्षण गरेपछि गत शनिबार एएफसीले दशरथ रगंशाला फुटबल खेल्न अझै अयोग्य रहेको बताएको थियो।
एएफसीले रंगशालामा विभिन्न समस्या देखाउँदै अन्तर्राष्ट्रिय स्तरको खेल खेलाउन नमिल्ने जनाएको थियो। यसअघि पनि दशरथ रगंशाला पटक-पटक अन्तर्राष्ट्रिय खेल खेलाउन अयोग्य ठहर हुँदै आइरहेको छ।
एएफसीले रगंशालाको आधुनिकीकरण गर्न निर्देशन दिएको एन्फाका महासचिव किरण राईले बताए। उनले भने, 'एएफसीले फेरि निर्देशन गर्दा उहाँहरूले रगंशालाको आधुनिकीकरण गर्न सुझाव दिनुभएको छ। फिफाको नयाँ स्ट्यान्डर्ड अनुरुप बनाउनुपर्छ भनेर उहाँहरूले हामीलाई भन्नुभयो।'
नेपालले घरेलु मैदानमा आगामी अक्टोबर १४ र नोभेम्बर १८ मा एएफसी एसियन कप छनोटको प्रतियोगिता खेल्ने तालिका थियो। तर, गत शनिबार एएफसीबाट रगंशालामा खेल खेलाउन नमिल्ने भनेर आदेश आयो।
एएफसीले फ्लडलाइट राम्रो नभएको, मैदानको स्तर पनि राम्रो नभएको, खेलाडी, मिडिया, भिआइपीहरू सबैका लागि प्रवेशद्वार एउटै रहेको र त्यसले सुरक्षा समेतको खतरा देखाउँदै अन्तर्राष्ट्रिय खेलका लागि दशरथ रंगशाला अझै अयोग्य रहेको बताएका हो।
एएफसीले फ्लडलाइटदेखि सिटसम्मको कुरालाई पुन: निर्माण गर्न सुझाव दिएको महासचिव राईले बताए।
'उहाँहरूले फ्लडलाइटको यालाइमेन्ट एकदमै राम्रो हुनुपर्छ, बस्ने सिटहरूको प्लन्निङ पनि एकदमै राम्रो हुनपर्यो भन्ने कुराहरूमा निर्देशन दिनुभएको छ,' महासचिव राई भन्छन्, 'साथै मैदानमा पनि राम्रो ड्रेनेज हुन पर्यो जहाँ अटोमेटिङ वाटर सिस्टम राम्रो हुन्नु पर्यो भने कुरा व्यक्त गर्नु भएको हो।'
एएफसीले मिडिया, खेलाडी, भिभिआइपी, भिआइपीहरूको प्रवेश गर्ने गेट एउटै भएर सुरक्षाको समेत खतरा रहेको बताएको थियो। यसको लागि एएफसीले गेटको पुनर्निर्माण अथवा यी सबैको लागि छुटाछुट्टै गेट हुनुपर्ने समेतको निर्देशन दिएको हो।
घरेलु मैदानमै आयोजना हुने भनिएको एएफसी एसियन कप छनोटको खेल दशरथ रंगशालामा नभएर अन्य कुनै वैकल्पिक स्थानमा खेल हुने भएको छ।
नेपाली राष्ट्रिय पुरुष टोलीले सन् २०२३ नोभ्भबेर १७ मा यमनविरुद्ध फिफा विश्वकप २०२६ को छनोट खेल खेलेको थियो। त्यसयता, दशरथ रगंशालामा यति ठूलो प्रतियोगिता आयोजना हुन सकिरहेको छैन।
त्यस्तै, यसअघि सन् २०२४ मार्च २१ मा नेपाल र बहराईनबीचको खेल घरेलु मैदानमै आयोजना हुने तय थियो। तर, त्यसबेला पनि एएफसीले दशरथ रंगशालालाई अयोग्य ठहर गर्दै नेपाल बाहिर खेलको आयोजना भएको थियो।
नेपालमा एक मात्र अन्तर्राष्ट्रिय स्तरको रगंशाला हुँदा यो समस्याले झन् विकराल रूप लिँदै गइरहेको छ। रगंशालाको पुनर्निर्माणको लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने योजनामा एन्फा रहेको महासचिव किरण राईले बताए।
'रगांशलाको पुनर्निर्माण एन्फाले मात्र चाहेर गरेर हुँदैन सरकारको सहयोग बिना यी कुरा सम्भव छैनन्। सबै कुरा हेर्दा बजेटदेखि सरकारकै मातहतमा रहँदा नेपाल सरकारले सहयोग नगरी केही हुन्न,' महासचिव राईले नागरिक दैनिकसँग भने, 'एन्फा राखेपको मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने योजनामा छ।'
प्रकाशित: १५ भाद्र २०८२ १४:३२ आइतबार





