ओपनर अभिषेक शर्मा र वैभव सूर्यवंशीको विष्फोटक ब्याटिङको मद्दतले न्युजिल्यान्डविरुद्धको तेस्रो टी-२० खेलमा भारत जिततर्फ अग्रसर भएको छ।
जितका लागि पाएको १९९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा भारतले ७.१ ओभरमै १ विकेट गुमाएर १३३ रन जोडेको छ।
वेलिङ्टनमा जारी खेलमा भारतलाई अब जितका लागि ७७ बलमा मात्र ६६ रन आवश्यक छ। क्रिजमा अभिषेक शर्मा मात्र २५ बलमा ७ चौका र ८ छक्का प्रहार गर्दै ८० रनको आक्रामक इनिङ्स खेलेर अविजित छन्।
पहिलो विकेटका रूपमा वैभव सूर्यवंशी ७.१ ओभरमा १३३ रनको कुल स्कोर हुँदा आउट भए। उनले मात्र १९ बल खेल्दै ४ चौका र ४ छक्काको मद्दतमा ४५ रन बनाए। उनलाई म्याथ्यु फिसरको बलमा ड्यारेल मिचेलले क्याच आउट गरेका हुन्।
भारतीय ब्याट्सम्यानसामु न्युजिल्यान्डका बलरहरू निकै महँगा साबित भएका छन्। बलिङतर्फ ज्याकोब डफीले २ ओभरमा ४४ रन, एडम मिल्नेले २ ओभरमा ३३ रन, माइकल ब्रेसवेलले २ ओभरमा ३६ रन र काइल जेमिसनले १ ओभरमा २० रन खर्चिए। म्याथ्यु फिसरले आफ्नो पहिलो बलमै १ विकेट हात पारेका हुन्।
यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोली न्युजिल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १९८ रनको योगफल तयार पारेको थियो। न्युजिल्यान्डका लागि ड्यारेल मिचेलले ५२ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ८९ रनको अविजित इनिङ्स खेले।
त्यस्तै, फिन एलेनले २५ बलमा ५ छक्काको मद्दतले ४० रन बनाउँदा बेभोन ज्याकोब्सले २३ बलमा ४ चौका र १ छक्कासहित अविजित ३९ रन जोडे। टिम सेफर्ट २ रन तथा ग्लेन फिलिप्स १७ रनमा आउट भएका थिए।
भारतका लागि बलिङतर्फ अर्शदीप सिंह, अक्षर पटेल र नितिश कुमार रेड्डीले १-१ विकेट लिएका थिए भने भुवनेश्वर कुमार र प्रिन्स यादव विकेटविहीन रहे।
प्रकाशित: १० कार्तिक २०८३ १५:२३ मंगलबार




