३ चैत्र २०८२ मंगलबार
image/svg+xml
खेल

नेपाली क्रिकेटको नयाँ अध्याय सुरु हुँदै, तर विवादमुक्त छैन एनपिएल-२

मंसिरको चिसो साँझसँगै कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशाला यतिबेला उत्साह, उमंग र जोसले भरिएको छ। पहिलोपटक फ्लड–लाइटको झिलिमिलीमा ‘डे–नाइट’ क्रिकेटको ऐतिहासिक अध्याय सुरु हुन लाग्दा नेपाल प्रिमियर लिग एनपिएलको दोस्रो संस्करणप्रति समर्थकको मोहनी आकर्षण झनै उजागर भएको छ। २७ दिन लामो यो फ्रेन्चाइज प्रतियोगिता नेपाली क्रिकेट इतिहासकै सबैभन्दा भव्य र रोमाञ्चक संस्करण हुने अपेक्षा गरिएको छ।

स्तरोन्नत रंगशालामा व्यवस्थित १० हजार रंगिचङ्गी सीट, तामझाम र सुरक्षा व्यवस्थासँगै दर्शकलाई अन्तर्राष्ट्रिय शैलीको अनुभूति दिलाउने गरी तयारी पूरा भएको छ। घाँसमै बसेर खेल हेर्नुपर्ने बाध्यता अब इतिहास बनेको छ। रुखमा झुन्डिएर क्रिकेट हेर्ने दिन गएका छन् । फ्लड–लाइट परीक्षण सफल भएपछि ३२ मध्ये २३ खेल डे नाइटमा हुने भएपछि समर्थकमा रात्रिकालीन क्रिकेटको नयाँ स्वाद चाख्ने उत्साह झनै बढेको छ।

फ्लड–लाइटमा बल्लो–पल्लो हुने खेलले मैदानमा शीतको असर, भिजेको आउटफिल्ड र गहुँगो बलका कारण बलरलाई चुनौती र ब्याटरलाई फाइदा दिलाउने अनुमानबिच टस जित्ने टोलीले पहिले बलिङ रोज्ने सम्भावना धेरै छ। तर रहस्य र रोमाञ्च यही हो– फ्लडलाइटमा प्रत्येक ओभरले खेलको रूपान्तरण गरिदिन सक्छ।

यसपटक ८ फ्रेन्चाइज टोलीमा फाफ डु प्लेसिस, इमरान ताहिर, डेविड मालन, गुलबद्दीन नैब, नजिब जाद्रानसहित ४८ विदेशी स्टारहरूको आगमनले कीर्तिपुरमा अन्तर्राष्ट्रिय स्तरको चमक थपिएको छ। प्रशिक्षक स्तरमै पनि प्रतिस्पर्धा उस्तै भव्य छ, विदेशी प्रशिक्षक शिवनारायण चन्दरपाउल, पुबुदु दशानायके र मोन्टी देशाईसँगै नेपाली राष्ट्रिय टिमका पूर्व क्याप्टेन ज्ञानेन्द्र मल्ल, प्रशिक्षक जगत टमाटाको पनि रणनीतिको परीक्षण हुनेछ ।  

पहिलो संस्करणले झण्डै एक अर्ब रुपैयाँको कारोबार गरेको एनपिएलको दोस्रो सिजनलाई यसपटक ‘तेब्बर कारोबार’ हुने क्यानको दाबीले पनि प्रतियोगितालाई आर्थिक र व्यावसायिक ऊर्जाले भरिदिएको छ। प्रायोजक, टिकट, ब्रोडकास्ट र ओटीटी आम्दानी बढ्दै गर्दा यसपटकको लिग ‘बिग–स्पोट्र्स शो’ मा परिणत हुने पक्का छ। 

विवाद र आलोचनाबाट पनि मुक्त छैन एनपिएल सिजन दुई। ब्रोडकास्ट टेन्डरदेखि ओटीटी अधिकारका विषयले क्यानलाई धरै प्रश्नको घेरामा पारेको छ। यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि परिसकेको छ। गत संस्करणमा पनि टेलिभिजन प्रसारणकै विषयले विवाद उत्पन्न भएको थियो। तर पनि उत्साहको ताप भने कम भएको छैन। उद्घाटन खेलको टिकट एकैदिनमा ‘सोल्ड–आउट’ हुनु नै यसको प्रमाण हो।

डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच सोमबार हुने उद्घाटन खेलेसँगै नेपाल ‘डे–नाइट क्रिकेटको युग’ मा प्रवेश गर्दैछ। टी–२० विश्वकपमा तेस्रोपटक छनोट भएको जोश र घरेलु मैदानमै विश्वस्तरीय क्रिकेटर हेर्ने उत्साहबिच एनपिएल–२ नेपाली क्रिकेटको ऊर्जा, उमंग र आशाको नयाँ शिखर बन्न तयार छ।

प्रकाशित: १ मंसिर २०८२ १२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App