उत्तरी अमेरिकी राष्ट्रमा भइरहेको फिफा विश्वकपको २३औं संस्करणले विजेता पाउने संघारमा पुस्तौंदेखिको प्रतिद्वन्द्विता एकपटक फेरि सबैभन्दा ठूलो मञ्चमा दोहोरिँदै छ।
पहिलोपल्ट ४८ राष्ट्र सहभागी यस विश्वकपमा आइतबार सेमिफाइनल समीकरण पूरा भइसकेका छन्, जहाँ दक्षिण अमेरिकाको एउटा र तीनवटा युरोपेली राष्ट्र पुगे। अमेरिकामा आइतबार बिहान अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३–१ र इङ्ल्यान्डले नर्वेलाई २–१ उपाधिनजिक पुगेका छन्। विश्वकप फाइनल पुग्ने लक्ष्यसहित इङ्ल्यान्ड र अर्जेन्टिना बुधबार अमेरिकाको एटलान्टा सहरमा आमनेसामने हुँदै छन्। विश्व फुटबलका लागि यो एउटा सेमिफाइनल खेलमा सीमित बन्ने छैन। इतिहास, भावना, राजनीति र अविस्मरणीय क्षणहरूले भरिएको अर्को अध्याय पनि हुनेछ। विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनल मेसीले आफ्नो करियरमा पहिलोपल्ट विश्वकपमा इङ्ल्यान्डविरुद्ध खेल्दै छन्।
थोमस टुचेलको प्रशिक्षणमा रहेको इङ्ल्यान्ड १९६६ पछि पहिलोपटक विश्वकप उपाधि जित्न चाहन्छ। यी दुई टोलीबीच राजनीतिक कारणले वर्षौंदेखि टकराव छ, जुन फुटबलमा पनि देखिन्छ। विश्वकप प्रतिद्वन्द्विता भने सन् १९६२ देखि सुरु भएको हो। जसले त्यसयता फुटबल इतिहासका केही सर्वाधिक चर्चित क्षण जन्माएको छ। द्वन्द्वकै कारण अर्जेन्टिना र इङ्ल्यान्डको अन्य कुनै पनि राष्ट्रसँग खेल हुँदा अर्जेन्टिनी र इङ्लिस रेफ्री राखिदैन। इङ्ल्यान्ड र अर्जेन्टिनाबिचको प्रतिस्पर्धा मैदानभित्र सीमित छैन। जुन सन् १९८२ को फकल्यान्ड युद्धपछि निम्तिएको हो। त्यस समयदेखि दुई देशबिच राजनीतिक सम्बन्ध चिसिँदै गयो। त्यसको प्रभाव फुटबलमा अहिलेसम्म देखिन्छ।
अर्जेन्टिनी समर्थकहरूले अझै पनि गीतहरूमा फकल्यान्ड युद्धको सन्दर्भ जोड्छन्। दुवै देशका सञ्चारमाध्यमले पनि वर्षौंसम्म यस भिडन्तलाई राष्ट्रिय प्रतिष्ठासँग जोडेर प्रस्तुत गर्दै आएका छन्। रोचक पक्ष के छ भने यी दुई भिड्दा खेल निकै प्रतिस्पर्धात्मक बन्ने गर्छ। विश्वकपका पाँचपटक भिडन्तमा इङ्ल्यान्डले तीन र अर्जेन्टिनाले दुई खेल आफ्नो पक्षमा पारेका छन्। तर अर्जेन्टिनाले जितेका दुवै खेल विश्वकप इतिहासका सबैभन्दा स्मरणीय खेल मानिन्छन्। सन् २००२ पछि यी दुई टोली पहिलोपल्ट विश्वकपमा आमनेसामने हुन लागेका हुन्। त्यसैले अहिलेका धेरै युवा समर्थकका लागि यो प्रतिस्पर्धा नयाँ अनुभव भए पनि यसको इतिहास भने निकै लामो र नाटकीय छ।
चिलीमा आयोजित विश्वकपमा दुवै टोली पहिलोपटक आमनेसामने भएका थिए। त्यति बेला इङ्ल्यान्डका हस्ती हुन्, रोन फ्लावर्स, बोबी चाल्र्टन र जिम्मी ग्रिभ्स। यी तीनैको गोलमा इङ्ल्यान्डले ३–१ को सहज जित निकालेको थियो। दुवै टोलीले समूह चरणमा समान अंक जोडे। गोलअन्तरका आधारमा इङ्ल्यान्ड क्वार्टरफाइनल पुग्दा अर्जेन्टिना बाहिरिन पुग्यो। त्यसपटक इङ्ल्यान्डको यात्रा पनि क्वार्टरफाइनलमै सीमित भयो। जहाँ इङ्ल्यान्ड ब्राजिलसँग पराजित हुन पुग्यो।

१९६६: सुरु भएको दुस्मनी
सन् १९६६ को प्रतिद्वन्द्विता भने सदैव याद रहनेछ। यही विश्वकप हो, इङ्ल्यान्ड च्याम्पियन बनेको। जसको प्रतीक्षा इङ्ल्यान्ड अहिलेसम्म पनि गर्दै छ। यही विश्वकपबाट यी दुईबिचको वास्तविक प्रतिस्पर्धा सुरु हुन थाल्यो। यति बेला क्वार्टरफाइनलमा यी दुई भिडेका थिए। त्यो खेल इङ्ल्यान्डको पक्षमा १–० ले रह्यो। धेरैले यी दुई राष्ट्रबीच कटु प्रतिस्पर्धाको सुरुआत यही खेललाई मान्छन्। इङ्ल्यान्डका नायक थिए, गोलकर्ता ज्योफ हस्र्ट। अर्जेन्टिनाले त्यो गोल अफसाइड भएको दाबी गर्दै आएको छ। खेलको सबैभन्दा ठूलो विवाद अर्जेन्टिनाका कप्तान एन्टोनियो राट्टिनको रातो कार्ड थियो। रेफ्रीसँग लगातार बहसपछि उनले मैदान छाड्न अस्वीकार गरे।

त्यही कारणले झन्डै आठ मिनेट खेल रोकियो। खेलपछि इङ्ल्यान्डका प्रशिक्षक अल्फ राम्सेले अर्जेन्टिनाका खेलाडीलाई ‘जनावर’ को संज्ञा दिँदै आफ्ना खेलाडीलाई उनीहरूसँग जर्सी नसाट्न निर्देशन दिएका थिए। सन् १९६६ विश्वकप विजेता टोलीका सदस्य जर्ज कोहेनले पछि सम्झँदै भनेका थिए, ‘उनीहरूले ट्याकल मात्रै गरेका थिएनन्, घाँटीको कपाल तान्थे। कान तान्थे, थुक्थे र हामीलाई डराउन खोज्थे। उनीहरूले आफ्नो वास्तविक फुटबल खेलेनन्।’ यसै खेलपछि पहेंलो र रातो कार्ड प्रयोग गर्ने अवधारणा विकसित भएको मानिन्छ। त्यो प्रणाली पहिलोपल्ट सन् १९७० को विश्वकपमा लागू गरिएको थियो।
१९८६: ह्यान्ड अफ गड र शताब्दीकै गोल
मेक्सिको विश्वकपको यो क्वार्टरफाइनल फुटबल इतिहासकै सबैभन्दा चर्चित खेलमध्ये एक हो। फकल्यान्ड युद्ध सकिएको चार वर्षपछि भएको यो खेलमा राजनीतिक तनाव पनि चरममा थियो। डिएगो म्याराडोनाले पहिलो गोल हातले गरे। रेफ्रीले त्यो नदेखेपछि गोलले मान्यता पायो। पछि उनले त्यसलाई ह्यान्ड अफ गड अर्थात् भगवानको हात भनेका थिए। तर केही मिनेटपछि उनले पाँच इङ्लिस खेलाडीलाई छल्दै गरेको दोस्रो गोललाई धेरैले विश्वकप इतिहासकै उत्कृष्ट गोल मान्छन्। ग्यारी लिनेकरले अन्तिम समयमा एक गोल फर्काए पनि अर्जेन्टिना २–१ ले विजयी भयो। अन्ततः विश्वकप उपाधिसमेत जित्यो। म्याराडोनाले त्यस हातले गरेको गोलका लागि सन् २००५ मा मात्र माफी मागेका थिए। तर इङ्ल्यान्डका गोलकिपर पिटर शिल्टनले त्यो माफी स्वीकार गरेनन्।
पछिल्ला दशक लियोनल मेसीको जमानाजस्तै सन् १९९८ ताका डेविड बेकह्यामको युग थिए। त्यही सालको विश्वकपमा बेकह्याम सबैभन्दा ठूला स्टारमध्ये एक हुन्। उनै स्टारको अधुरो सपना बन्यो, विश्वकप। फ्रान्स विश्वकपमा भएको अन्तिम १६ को खेल बेकह्यामका लागि करियरकै सबैभन्दा कठिन क्षण बन्यो। डिएगो सिमियोनेलाई लात हानेपछि उनले रातो कार्ड पाए। माइकल ओवेनले विश्वकप इतिहासकै उत्कृष्ट व्यक्तिगत गोलमध्ये एक गरे। निर्धारित समयमा खेल २–२ को बराबरीमा सकिए पनि पेनाल्टी सुटआउटमा इङ्ल्यान्ड पराजित भयो। ‘रेफ्रीलाई भ्रममा पार्न सफल भएँ। वास्तवमा त्यो पहेंलो कार्ड थियो, तर मेरो प्रतिक्रिया देखेर रातो कार्ड दिइयो,’ एक वर्षपछि सिमियोनेले स्वीकार गरेका थिए।
२००२: बेकह्यामको बदला
चार वर्षअघिको पीडा बिर्साउने अवसर डेभिड बेकह्यामले जापानमा पाए। माइकल ओवेनलाई माउरिसियो पोचेटिनोले फल गरेपछि प्राप्त पेनाल्टीलाई उनले गोलमा परिणत गर्दै इङ्ल्यान्डलाई १–० को महत्वपूर्ण जित दिलाए। त्यो जितसँगै इङ्ल्यान्ड नकआउट चरणमा पुग्दा अर्जेन्टिना समूहचरणबाटै बाहिरियो। डेनमार्कलाई हराएर क्वार्टरफाइनल पुगेको इङ्ल्यान्ड पछि ब्राजिलसँग पराजित भयो। यही विश्वकपमा ब्राजिल पाँचौंपल्ट च्याम्पियन भएको हो। त्यस बेलादेखि यी दुई टोली विश्वकपमा फेरि भेट भएको छैन। त्यसैले एटलान्टामा हुने यो सेमिफाइनल फाइनल पुग्ने लडाइँ मात्र नहुन सक्छ। २४ वर्षपछि विश्वकपमा पुनः जीवित भएको एउटा ऐतिहासिक प्रतिद्वन्द्विताको नयाँ अध्याय पनि बन्नेछ।
प्रकाशित: २९ असार २०८३ ०६:४४ सोमबार





