फिफा विश्वकपमा सबैभन्दा धेरै चर्चा हुने खेल फाइनल हो। त्यसअघि हुने तेस्रो स्थानको खेल भने प्रायः ओझेलमा नै पर्छन्। धेरैका लागि यो त्यस्तो खेल हो, जुन खेल्न पनि मन लाग्दैन र हेर्न पनि विशेष आकर्षण रहँदैन।
किनभने यो उपाधिको लडाइँ होइन। अधुरो सपनापछि सान्त्वना खोज्ने प्रयास बन्छ। इङ्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुचेलले पनि यही यथार्थ स्विकार्छन्। धेरै समर्थक पनि यस्तो खेलमा खासै रुचि राख्दैनन्। अमेरिकाको मियामी शनिबार राति यस्तै एउटा खेल हुँदै छ। जहाँ विश्वकपका दाबेदार मानिएका फ्रान्स र इङ्ल्यान्ड भिड्दै छन्। न त इङ्ल्यान्डका खेलाडीहरू यो खेल खेल्न चाहन्छन्, न त फ्रान्सका। दुवैको लक्ष्य विश्वकपको फाइनल खेल्नु र उपाधि जित्नु थियो। तर सेमिफाइनलमा हारेसँगै अब दुवै टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएको छ।
‘हाम्रा कुनै पनि खेलाडी र फ्रान्सका पनि खेलाडी यो खेल खेल्न चाहँदैनन्,’ टुचेल भन्छन्,‘सबैको चाहना फाइनल थियो, त्यहाँ पुग्न सबैथोक दियौं। सबैले विश्वकप जित्ने लक्ष्यका साथ खेल्छन्, तर अवस्था यही हो।’
फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्पका लागि भने यो खेलको अर्थ अझ फरक छ। प्रशिक्षकका रूपमा उनको यो अन्तिम खेल हुनेछ। त्यसैले उनी निराशाबिच पनि टोलीलाई जितका साथ बिदाइ गराउने लक्ष्यमा छन्। ‘टोली आफ्नो लक्ष्यमा पुग्न सकेन र त्यो निराशा उनीहरूको महत्त्वाकांक्षा जत्तिकै ठूलो छ तर परिस्थिति स्वीकार गर्दै अन्तिम खेलमा सक्दो उत्कृष्ट प्रदर्शन गर्नेछौं,’ डेसच्याम्पको भनाइ छ। दुवै टोली विश्वकपको सेमिफाइनलमा पुग्दा फाइनल पुग्ने प्रबल दाबेदारमध्ये थिए। इङ्ल्यान्ड अर्जेन्टिनासँग र फ्रान्स स्पेनसँग पराजित हुन पुगे। पराजित भएपछि दुवै अब तेस्रो स्थानको खेलमा सीमित भएका छन्।
मैदानमा प्रशिक्षकहरूले उतार्ने सुरुआती टोलीले पनि उनीहरूले यो खेललाई कति महत्त्व दिएका छन् भन्ने संकेत दिनेछ। फ्रान्सका प्रशिक्षक डेसच्याम्पले भने यो खेललाई महत्त्व दिएको देखिन्छ। किनभने यो उनको फ्रान्सको प्रशिक्षकका रूपमा अन्तिम खेल हुनेछ। त्यसैले उनी केही बढी दृढ देखिए तर फ्रान्स र इङल्यान्डले मैदानमा उतार्ने सुरुआती टोलीले उनीहरूको वास्तविक सोच र प्राथमिकता प्रस्ट पार्नेछ। फ्रान्सका लागि स्पेनको विश्वस्तरीय मिडफिल्ड र बलियो रक्षापंक्ति नै हारको प्रमुख कारण बन्यो। सहज रूपमा सेमिफाइनलसम्म पुगेको फ्रान्स स्पेनसँग भिड्दा निरीह देखिन पुग्यो। स्पेनविरुद्ध फ्रान्सले ०.३१ अपेक्षित गोल मात्र सिर्जना गर्न सक्यो, जुन विश्वकप इतिहासमै उसको सबैभन्दा कमजोर प्रदर्शन थियो। इङ्ल्यान्ड भने फाइनलनजिक थियो।
त्यसैले इङ्ल्यान्डको हारप्रति प्रतिक्रिया पनि धेरै आयो। अर्जेन्टिनाविरुद्धको सेमिफाइनल इङ्ल्यान्ड फाइनलको संघारमा पुगेको जस्तो देखिन्थ्यो तर त्यसपछि जे भयो, त्यसबारे धेरै वर्षसम्म बहस हुनेछ। अग्रता दोब्बर बनाउने प्रयास गर्नुको सट्टा इङ्ल्यान्ड पछाडि हट्यो। फुटबल इतिहासकै महान् खेलाडी लियोनेल मेसीलाई चाहेजति बल नियन्त्रण गर्ने अवसर दियो। पछि यसको ठूलो मूल्य इङ्ल्यान्डले चुकाउनुपर्यो। इङ्ल्यान्डका लागि तेस्रो स्थानको खेल नयाँ अनुभव भने होइन। उसले सन् १९९० मा इटालीसँग र २०१८ मा बेल्जियमसँग तेस्रो स्थानको खेल खेलेको थियो। तर, दुवै खेलमा पराजित हुनु पुग्यो। फ्रान्स भने चौथो पटक तेस्रो स्थानको खेल खेल्दै छ। सन् १९५८ मा जर्मनीलाई हराएको फ्रान्स १९८२ मा पोल्यान्डसँग पराजित भएको थियो।
त्यसपछि फ्रान्सले १९८६ मा बेल्जियमलाई पराजित गरेको छ। ती तीनै खेलमा कम्तीमा पाँच गोल भएका छन्। मियामी हुने खेलमा दुवै टोलीले केही खेलाडीलाई विश्राम दिँदै परिवर्तन गर्ने सम्भावना धेरै छ तर केही खेलाडीका लागि व्यक्तिगत कीर्तिमान थप्ने अवसर भने अझै बाँकी छ।
इङ्ल्यान्डका ह्यारी केनले विश्वकपमा अहिलेसम्म १४ गोल गरिसकेका छन्। जर्मनीका गर्ड मुलरसँग उनी संयुक्त रूपमा विश्वकपको पाँचौं सर्वाधिक गोलकर्ता हुन्। केन ब्राजिलका रोनाल्डो नाजारियोको १५ गोलको कीर्तिमानभन्दा एक गोलले पछाडि छन्। किलियन एमबाप्पे विश्वकप इतिहासका दोस्रो (२०) सर्वाधिक गोलकर्ता हुन्। अर्जेन्टिनाका कप्तान लियोनेल मेसीको नाममा सर्वाधिक २१ गोलको कीर्तिमान छ।
एमबाप्पेको उमेरले उनलाई अझै धेरै अवसर दिनेछ। तर भविष्यले के ल्याउँछ भन्ने कसैले निश्चित रूपमा भन्न सक्दैन। डेसच्याम्पले पनि फ्रान्सका लागि आफ्नो प्रशिक्षण यात्राको अन्त्य सम्मानजनक रूपमा गर्ने अवसर पनि यही खेल हो। डेसच्याम्प सन् १९९८ मा खेलाडीका रूपमा र २०१८ मा प्रशिक्षकका रूपमा विश्वकप उचाल्दै दुर्लभ उपलब्धि हासिल गर्ने तीन व्यक्तिमध्ये एक हुन्। विश्वकपमा फ्रान्स र इङल्यान्डबिच चौथो भेट हुनेछ। पहिलो दुई भेटमा इङ्ल्यान्ड विजयी भएको थियो। इङ्ल्यान्डले १९६६ मा २–० र १९८२ मा ३–१ को जित निकालेको थियो। तर पछिल्लो भेट २०२२ को विश्वकप क्वार्टरफाइनल फ्रान्सले २–१ ले आफ्नो पक्षमा पार्दै बदला लियो।
इङ्ल्यान्डले फ्रान्सविरुद्ध पछिल्ला ९ खेलमध्ये एक खेल मात्र जितेको छ। त्यस अवधिमा दुई खेल बराबरी भए भने ६ खेलमा इङ्ल्यान्ड पराजित भएको छ। सन् १९८२ को विश्वकपमा ३–१ को जित निकालेयता इङ्ल्यान्डले फ्रान्सविरुद्ध लगातार चार खेल जित्न सकेको छैन। तीमध्ये दुई बराबरी र दुई हार छन्। तेस्रो स्थानको खेलमा अप्टा सुपरकम्प्युटरले फ्रान्सलाई बलियो दाबेदार मानेको छ। २५ हजार सिमुलेसनमध्ये ५०.७ प्रतिशत फ्रान्सले निर्धारित ९० मिनेटभित्र जित निकाल्ने अनुमान छ। त्यसमा इङ्ल्यान्डको सम्भावना २५.६ प्रतिशत देखिन्छ। २३.७ प्रतिशत खेल बराबरीमा हुने अनुमान छ।
प्रकाशित: २ श्रावण २०८३ ०८:०९ शनिबार



-600x400.jpg)

