४ चैत्र २०८२ बुधबार
image/svg+xml
खेल

सूर्यकुमारले मलाई ‘धेरै मेसेज गर्थे’ भन्ने अभिनेत्रीविरुद्ध सय करोडको मानहानि मुद्दा

रियालिटी शो ‘एमटीभी स्प्लिट्सभिल्ला’मा देखिएकी बलिउड अभिनेत्री खुशी मुखर्जीले हालै एक कार्यक्रममा भारतीय टी-२० कप्तान सूर्यकुमार यादवले पहिले आफूलाई बारम्बार सन्देश पठाउने गरेको दाबी गरेकी थिइन्।

उनले भनेकी थिइन्, ‘म कुनै पनि क्रिकेटरसँग डेट गर्न चाहन्न। मेरा पछि धेरै क्रिकेटरहरू छन्। सूर्यकुमार यादवले मलाई धेरै सन्देश पठाउने गर्थे। अब हामी धेरै कुरा गर्दैनौं, र म कुनै पनि सम्बन्धमा रहन चाहन्न।’

पछि एनडीटीभीसँगको अन्तर्वार्तामा उनले सूर्यकुमारसँग कुनै रोमान्टिक सम्बन्ध थिएन भन्ने स्पष्ट पारेकी थिइन्। उनले बयानलाई गलत बुझिएको र सन्दर्भबिना बढाइचढाइ गरिएको भनेकी थिइन्। उनले आफ्नो इन्स्टाग्राम खाता ह्याक भएको दाबी पनि गरिन्।

उनले सोधिन्,  ‘के हामी साथीको रूपमा कुरा गर्न सक्दैनौं?’

टाइम्स अफ इन्डियाको रिपोर्टअनुसार सोसल मिडिया इन्फ्लुएन्सर फैजान अन्सारी (सूर्यकुमार यादवका फ्यान) ले मंगलबार मुखर्जीविरुद्ध सय करोड भारतीय रुपैयाँको मानहानि मुद्दा दायर गरेका छन्। 

मुम्बईमा बस्ने अन्सारीले उत्तर प्रदेशको गाजीपुर प्रहरी चौकीमा उजुरी दिएका छन्, जसमा खुशीको दाबी झूटो, हानिकारक र प्रचारका लागि भएको उल्लेख छ। सूर्यकुमारको परिवार पनि गाजीपुरसँग जोडिएको छ। उनका आमाबाबु गाजीपुरका थिए।

अन्सारीले भनेका छन्, ‘हामी खुशी मुखर्जीविरुद्ध तुरुन्तै एफआईआर दर्ता गर्न चाहन्छौं। मैले मेरो लिखित उजुरीमा पनि यो कुरा उल्लेख गरेको छु र कडा कारबाहीको लागि अनुरोध गरेको छु। कम्तिमा सात वर्षको जेल सजाय हुनुपर्छ।’

उनले थपे, ‘यो मुद्दालाई संसारको हरेक कुनामा पुर्‍याउनु मेरो जिम्मेवारी हो। म कसैसँग डराएको छैन। म केवल न्याय चाहन्छु। जतिसुकै कठिनाइ आए पनि खुशी मुखर्जीविरुद्ध तुरुन्तै एफआईआर दर्ता गरियोस् भन्ने मेरो माग छ। न्याय नपाएसम्म म गाजीपुर सहरमै रहनेछु।’

अन्सारीले थप भने, ‘त्यसैले म यस विषयमा सय करोड रुपैयाँको मानहानि मुद्दा दायर गर्दैछु। सबै कुरा स्पष्ट रूपमा उल्लेख गरिएको छ। यसअघि हामीले पुनम पाण्डेविरुद्ध पनि सय करोड रुपैयाँको मानहानि मुद्दा दायर गरेका थियौं। हाम्रो कानुनी टोली धेरै बलियो छ।’

उनको यो कदमलाई धेरैले सूर्यकुमारप्रतिको फ्यानडम र समर्थनको रूपमा हेरेका छन्। तर केहीले यसलाई बढाइचढाइ र प्रचारको रूपमा पनि लिए। अन्सारीले यदि खुशीले मेसेज पठाएको कुरा प्रमाणित गरेमा सार्वजनिक रूपमा माफी माग्ने कुरा पनि बताएका छन्। एजेन्सी 

प्रकाशित: ३ माघ २०८२ ०९:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App