२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण अन्योलमा

विश्वकप फुटबलको लोकप्रियता विश्वभर नै छ। त्यसैले त विश्वकप फुटबल नजिकिँदै गर्दा खेलप्रेमीका लागि त ठूलै उत्सव आएजस्तो हुन्छ। तर, यही लोकप्रिय खेल हेर्न नपाउँदा के होला? आगामी मंसिर ४ गते कतारमा विश्वकप फुटबल सुरु हुँदै छ।

संघारमा कतार विश्वकप हुँदा नेपालमा यसको चर्चा यस पटक फरक तरिकाले भइरहेको छ। त्यो हो, मिडिया हबले किनेको प्रसारण अधिकारमाथि अदालती झमेला। त्यसैले यस पटक नेपालमा विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण अन्योलमा पुगेको छ। दक्षिण एसियाका लागि भारतीय कम्पनी भायकम १८ ले विश्वकप फुटबलको प्रसारण अधिकार लिएको छ।

सोही कम्पनीबाट मिडिया हबले नेपालमा प्रसारण अधिकार लिएको हो। महँगो रकम खर्चिएर प्रसारण अधिकार लिए पनि त्यसविरुद्ध अदालतमा रिट परेसँगै विश्वकपको प्रत्यक्ष प्रसारणमा अन्योल सिर्जना भएको छ। एक टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्ने र त्यसका लागि ग्राहकबाट पाँच सय रूपैयाँ लिने तयारी गरेको थियो मिडिया हबले।

तर, अरिरिक्त शुल्क लिन लागेको भन्दै त्यसविरुद्ध अदालतमा रिट पर्‍यो। अदालतले यथास्थितिमै राख्न अल्पकालीन अन्तरिम आदेश जारी गर्‍यो। विश्वकप प्रसारण अधिकार पाएको मिडिया हबविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा सुनुवाई गर्दै न्यायाधीश प्रकाशकुमार राउतको एकल इजलासले गत कात्तिक २२ मा दर्शकबाट पाँच सय रूपैयाँ अतिरिक्त शुल्क लिने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

सो आदेशपछि नेपालमा प्रसारण तयारी गरिरहेको मिडिया हब अन्योलमा परेको छ। विश्वकप अल्पकालीन अन्तरिम आदेश जारी गर्ने क्रममा अदालतले कात्तिक ३० गतेलाई पेसी तोकेको छ। कतार विश्वकप सुरु हुन चार दिन मात्र समय बाँकी राखेर बोलाइएकाले प्रत्यक्ष प्रसारण प्रभावित हुने सम्भावना बढेको छ। सर्वोच्चको आदेशविरुद्ध मिडिया हबले भ्याकेट निवेदन दिएको थियो, जसको सुनुवाईका लागि शुक्रबार पेसी तोकिए पनि सुनुवाई भएन। आइतबार पेसी तोकिए पनि सुनुवाई भएन।

सर्वोच्चको आदेशविरुद्ध मिडिया हबले भ्याकेट निवेदन दिएको थियो, जसको सुनुवाईका लागि शुक्रबार पेसी तोकिए पनि सुनुवाई भएन।

त्यसैले कारण विश्वकप २०२२ को प्रसारणलाई लिएर अन्योल बढेको छ। ‘मंसिर ४ गतेदेखि विश्वकप सुरु हुँदै छ। त्यसैले हामीसँग कम समय छ,’ मिडिया हबका कार्यकारी निर्देशक सोम धितालले भने, ‘यो हाम्रो मात्र सरोकारको विषय हैन, जनताले नै रुचाएको खेलको विश्वकप हो। त्यसैले यस विषयमा छिटो निकास आउँदा जनताको लोकप्रिय खेल हेर्न अवरोध हुँदैनथ्यो। तर, यसको गम्भीरता बुझिएन।’ कात्तिक ३० गतेसम्म समय कुर्दा समय गुज्रने भन्दै मिडिया हबले ‘भ्याकेट’ (आदेशविरुद्धको निवेदन) दिएको थियो।

सोही अनुरूप दुई पटक पेसी तोकिए पनि सुनुवाई भएन। ‘दुई पटक पेसी तोकिए पनि सुनुवाई नहुनु दुखद हो। हामीले फिफाको नियमभित्र रहेर नै दर्शकबाट विश्वकप प्रसारणबापत अतिरिक्त पाँच सय रूपैयाँ उठाउने निर्णय गरेका हौं,’ धितालले भने। भारतीय कम्पनी भायकप १८ बाट ४५ करोडमा नेपालका लागि प्रसारण अधिकार लिएको मिडिया हबले जनाएको छ। उक्त सम्झौतामध्ये आधाभन्दा धेरै बुझाइसकेको मिडिया हबका कार्यकारी निर्देशक धितालले बताए।

त्यसबाहेक स्थानीय स्तरमा पनि पाँच करोड खर्च भइसकेको उनको दाबी छ। फिफाले विश्वकपका खेलको प्रसारणमा नेपालको ‘टेरिटोरी लक’ गर्ने भएकाले मिडिया हबबाहेक नेपालमा अन्य कुनै पनि माध्यमबाट कतार विश्वकपका खेल हेर्न नपाइने धितालले जानकारी गराए। अदालती प्रक्रिया चाँडै नटुङ्गिए नेपाली दर्शक विश्वकपबाट वञ्चित हुने जोखिम रहेको उनले बताए। कतार विश्वकप २०२२ सुरु हुन मात्र एक साता बाँकी रहँदा नेपाली आमदर्शकले भने विश्व फुटबलको महाकुम्भ हेर्न नपाउने सम्भावना बढेको छ।

प्रकाशित: २८ कार्तिक २०७९ ०१:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App