४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

एन्फा टेक्निकल सेन्टरबारे छलफल गर्छौः उपाध्यक्ष खड्का

कास्कीको माछापुच्छ«े गाँउपालिका भिंडाबारी निर्माणाधिन एन्फा टेक्निकल सेन्टरको विषयमा अखिल नेपाल फुटबल संघ(एन्फा)का बरिष्ठ उपाध्यक्ष बीरबहादुर खड्काले सेन्टरको यथार्थ बुझ्न स्थानीयसँग छलफल गर्ने बताएका छन्। उनले योजना रद्द भईनसकेको जनाउँदै स्थानीय सरोकारवालासँग बसेर छलफल गरेर अगाडि बढ्ने स्पष्ट पारे।  

‘एन्फा टेक्निकल सेन्टर योजना रद्द भएको छैन्। तर, दुई खोलाको बाढीको त्रासको हल्ला छ,’उनले शनिबार पोखरामा बि.जी फुटबल एकेडेमीको उदघाटन गर्दै भने, ‘स्थानीयसँग बसेर छलफल गरेर अगाडि बढ्छौं।’ कास्कीको धितालस्थित भिंडाबारीमा तीन वर्ष अघि एन्फा टेक्निकल सेन्टर निर्माणको लागि पर्ती जग्गा अध्ययन गरी छनोट गरिएको थियो। स्थानीयले फुटबलको योजना अघि बढ्ने भएपछि पर्ती जग्गा योजना बनाउने दिनेगरी सर्वसम्मत निर्णय गरेका थिए।  

केही व्यक्तिगतले आफनो पर्ती जग्गाको बीचमा पर्ने लालपूर्जायुक्त ७ रोपनी जग्गा समेत एन्फा टेक्निकल सेन्टरलाई लिखितम गरेर गाँउपालिकालाई बुझाईसकेका छन्। जग्गामा कुनैपनि विवाद नभएको स्थानीयबासिन्दाले बताउँदै आएका छन्। ३३७ रोपनी जग्गा छ। स्थानीय एकनारायण अधिकारीले आफुहरुको ७ रोपनी जग्गा लालपूर्जाको फोटोकपीसहित गाँउपालिकालाई लिखितम गरेर बुझाईएको बताए। ‘जग्गाको विवाद छैन। स्थानीयको जग्गा छैन्। हाम्रा दाजुभाइको नाममा रहेको ७ रोपनी जग्गा गाँउपालिकालाई लिखितम गरी ल्याप्चे लगाएर दिईसकेका छौं,’ उनको भनाई थियो।  

लामो समयसम्म पनि एन्फा टेक्निकल सेन्टर निर्माण गर्ने विषयमा चासो नभएपछि स्थानीय माछापुच्छ«े गाँउपालिकाले नै चासो दिएर कास्की जिल्ला फुटबल संघको बर्तमान कार्यसमिति तथा पूर्व अध्यक्ष मिलन गुरुङसँग छलफल गरेको थियो। छलफलकै क्रममा स्थानीयबासीले जग्गाको विवाद नरहेको उल्लेख गरेका हुन्। स्थानीयले पर्ती जग्गामा अहिले केही व्यक्तिगतले खेतीपाती र पशुपालन गरेको उल्लेख गर्दै खाली गराउन गाँउपालिका समक्ष निवेदन समेत दिईसकेका छन् । ‘हिँउदमा घाँस र वर्षामा धान झुल्ने हुदाँ व्यक्तिगत जग्गा हो कि भन्ने भान परेको छ। त्यसैले खाली गरेर एन्फा टेक्निकल सेन्टरलाई कुनै बाधा नहोस भन्दै निवेदन दिएका छौं,’ उनको भनाई थियो, ‘जग्गामा अवरोध छैन्, मुअब्जाको दावा नरहने गरी सही छाप गरेर दिईसकेका छौं।’  

कास्की जिल्ला फुटबल संघका महासचिव बुद्धिबहादुर खत्री क्षत्रीले गाँउपालिकाले जग्गाको बैधानिकताको विषयमा टुंग्याउनुपर्नेमा जोड दिए। ‘हामीले आवश्यक कागजपत्र पाईसकेको अवस्था छैन्। कागज छैन भनेर योजना विफल बनाउने योजना छैन्। सोचाई पनि हुदैन्। तर प्रोजेक्टले जग्गा खरीद गरेर काम भने गर्दैन्’ छलफलको क्रममा उनले भने, ‘बैधानिकता टुंग्याएर मात्रै काम गर्नुपर्छ। अन्यथा समस्या आउँछ।’  

कास्कीको माछापुच्छ«े गाँउपालिका–६ धितालमा प्रस्तावित ‘एन्फा टेक्निकल सेन्टर’ दुई खोलाको दोभानमा छ। मर्दी खोलाको किनारमा १२० मिटर लामो तटबन्ध बाँधिएको छ। खोला किनारमा अझै लामो तटबन्ध बाँध्नुपर्ने छ। अर्कोतिर इदी खोलाको कटान रोक्न पनि तटबन्ध लगाउनुपर्ने खाँचो छ प्रस्तावित टेक्निकल सेन्टर गाउँपालिकाको धिताल–६ मा पर्छ। वडा नं ६ का वडाध्यक्ष टेकनाथ गौतमले एक करोड ४० लाखको टेण्डर आह्वान भई घटिघटाउमा ६९ लाखमा १२० मिटर लम्बाईको मर्दी खोलामा तटबन्ध लगाइएको बताए। उनका अनुसार २ मिटर गहिराई डेढमिटर चौडाई र ३ मिटर उचाईको तटबन्ध लगाइएको छ।  

स्थानीय वडा नं ८ का वडाध्यक्ष एवं पर्यटन व्यवसायी राम गुरुङले एन्फाको यो ड्रिम प्रोजेक्ट कार्यान्वयनमा ल्याउन संघ, प्रदेश र स्थानीय सरकारसँगै एन्फाले के कसरी लगानी गर्ने विषयमा निर्णय हुनुपर्ने बताए। गाँउपालिका उपाध्यक्ष सरिता अधिकारीले एन्फा टेक्निकल सेन्टरको लागि आवश्यक सबै खाले सहयोग गर्ने प्रतिबद्धता जनाईन्। ‘एन्फालाई योजना कार्यान्वयनमा ल्याउन सहजीकरणको भूमिका गाउँपालिकाले खेल्छ। त्यो हाम्रो प्रतिबद्धता हो,’ उपाध्यक्ष अधिकारीको भनाई थियो।  

प्रकाशित: २६ कार्तिक २०७९ १०:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App