१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

प्रशिक्षणस्थलकै अभावमा महिला हक्कीको सफलता

पेनाल्टीमा हार र जीतको सम्भावना बराबर हुन्छ। पेनाल्टीमा पुग्नु नै कडा प्रतिस्पर्धा हो। महिला हक्कीको उपाधि प्रतिस्पर्धामा पेनाल्टीमा गण्डकी प्रदेश चुक्न पुग्यो। नेपाली सेनालाई कडा चुनौति दिएको गण्डकी पेनाल्टीमा चुक्यो। यद्यपी रजत पदकको इतिहासलाई भने दोहोर्यायो। नेपालगन्ज आयोजित आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला हक्कीमा सुदूरपश्चिमसँग पराजित गर्दै उपाधि विमुख भएको महिला हक्कीले नवौंमा रजत पदक जित्दै आफनोस्तरलाई यथावत राख्यो।  

पोखरा रंगशाला देशकै ठूलो रंगशाला हो। ४१५ रोपनी क्षेत्रफलको रंगशाला अधिकांश खेलका पूर्वाधार छन्। धेरै खेल त्यही रंगशालामा हुन्छ। तर हक्की भने त्यो परिवेशमा अभागी छ। मैदान छैन्। प्रशिक्षणस्थलको अभाव छ। राष्ट्रिय प्रतियोगिताको लागि प्रदेशस्तरीय छनोट सबै खेलका भए। हक्कीको भने सिधै प्रदेश छनोट गरियो। कास्की जिल्ला हक्की संघले प्रदेश टिमको नाम सिफारिस गरेर पठाईदियो।  

प्रदेश खेलकुद परिषदले झण्डै एक महिना बन्द प्रशिक्षण राख्यो। बन्द प्रशिक्षण शुरु गरियो। तर हक्कीलाई पीर थपियो। प्रशिक्षणस्थल थिएन। भएका मैदानको छेउकुना खोज्दै सिकाउनुपर्ने बाध्यता थियो। छेउकुनामा खेल्दा पनि अन्य संघले लखेट्थे। कहिले एउटाको खाली ठाँउ त कहिले अर्काको खाली खोज्दै प्रशिक्षण गर्नुपर्ने बाध्यता। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले प्रशिक्षण गर्दै आएको ठाँउलाई भाडा दिएर प्रशिक्षण नै रोक्नुपर्ने पीडा थियो।  

समस्यै समस्याको बीचमा पनि खेलाडीले भने बल र स्टिक लिएर रंगशाला कुद्थे। ‘खेलाडीको मेहनतले नै रजत पदकको हकदार बन्यौं,’ प्रशिक्षक राजन नेपालीले भने–‘लामो समय सँगै प्रशिक्षण गरेकोले पनि टिम कम्बिनेसन मिल्यो।’ कहिले फुटबलको बैकल्पिक मैदानको छेउमा त कहिले रंगशालाको दुईनम्बर गेटको आडैको खाली ठाँउमा प्रशिक्षण गरेको थियो। सानो ठाउँमै बल पास खेल्ने मात्रै खेलेर भएपनि प्रशिक्षण गरिएको उनको भनाई थियो। कास्की जिल्ला हक्की संघले नवौंकै लागि सुटिङको लागि छुट्टाएको जग्गालाई सम्याउँदै हक्की प्रशिक्षणस्थल बनाउन शुरु गरेको छ। त्यस ठाँउमा अहिले जग्गा सम्याईएको छ। आगामी अर्कोवर्षदेखि प्रशिक्षण गर्न सहज हुने कास्की जिल्ला हक्की संघले जनाएको छ।  

‘हक्कीलाई पोखरा रंगशालाभित्र टुहुरो बनाएका छन्। त्यही टुहुरो बनाईएको खेलले प्रदेशको लागि रजत पदक जित्यौं,’ कास्की जिल्ला हक्की संघका अध्यक्ष मिलन केसीले भने, ‘नवौंमा रंगशालाभित्र प्रशिक्षण गर्ने ठाँउनै हक्कीले पाएन। रंगशालाभित्रको छेउकुना खोज्दै खेलाडीले प्रशिक्षण लिए। खेलाडीको अथाह मेहनतले प्रतिफल प्राप्त भएको हो।’ उनले खेलाडीको हक्कीप्रतिको लगावकै कारण प्रतिफल मिलेको सुनाए । नवौंकै संघारमा संघकै पहलमा सुटिङको लागि राखिएको जग्गालाई सम्याएर हिटिङ हान्ने मिल्ने गरी सम्याएर राखिएको उनले जानकारी दिए।  

खेल मैदानको अभाव र प्रशिक्षकको अभाव उस्तै रह्यो । तर पनि महिला हक्की पदक विहीन भएको छैन्। चाहे त्यो सहानाप्रधान स्मृति होस या राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेशपछि नै किन नहोस। आवश्यक खेल सामाग्री अभाव उस्तै रह्यो । तरपनि खेलाडीमा जोश जाँगर भने कम भएन्। ‘खेलाडीको प्रयास र मेहनत नै पदकको लागि हकदार रह्यो,’ नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काले भने–‘पूर्वाधार र आवश्यक सामान सहित नियमित प्रशिक्षण पाए गण्डकी प्रदेशले स्वर्ण पदक जित्छ।’  

प्रकाशित: ६ कार्तिक २०७९ ०८:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App