१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

नेपाल प्रहरीकी विद्या राईले जितिन् किर्तिमानीसहित स्वर्ण

गण्डकी प्रदेशलाई पराजित गर्दै महिला हक्कीको विजेता नेपाली सेनाको टोली। तस्बिर उमेश पुन/नागरिक

नेपाल पुलिसकी विद्या राईले भारोत्तोलनमा कीर्तिमान राखेकी छन्। उनले स्न्याचमा कीर्तिमान कायम गर्दै स्वर्ण जितिन्। ८७ केजी माथि तौल समूहमा उनले स्न्याचतर्फ ७६ र क्लीन एण्ड जर्कमा ८८ गरी कुल १६४ केजी भार बहन गर्दै स्वर्ण जितेकी हुन्। स्न्याचमा यसअघि ७५ केजीको कीर्तिमान रहेकोमा विद्याले १ केजी बढी भार बहन गरेको हुन्।

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत भारत्तोलनमा सशस्त्र प्रहरी बलको एपीएफ क्लवले पहिलो स्वर्ण पदक जितेको छ। पोखरा उद्योग वाणिज्य संघको हलमा बुधबार महिला ८७ केजी तौल समूहमा एपीएफकी नीशा बलालले स्वर्ण पदक जितिन्। उनले स्न्याचमा ६२ र क्लीन एण्ड जर्कमा ७७ गरी कुल १३९ केजी भार बहन गर्दै एपिएफलाई पहिलो स्वर्ण दिलाएकी हुन्।

प्रतियोगितामा नेपाल पुलिसकी जयन्ती श्रेष्ठले स्न्याचमा ६३ र क्लीन एण्ड जर्कमा ७४ गरी कुल १३७ केजी भार बहन गर्दै रजत जितिन् भने नेपाल आर्मीकी अस्मिता राई कास्यमा सीमित भइन्। उनले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ८८ गरी कुल १२५ केजी भार उठाएकी हुन्।

एपिएफकी शिखा थापाले रजत र गण्डकीकी सिन्जल गुरुङले कास्य पदक जितिन्। शिखाले स्न्याचतर्फ ४० र क्लीन एण्ड जर्कमा ५३ गरी कुल ९३ केजी भार बहन गरिन् भने गण्डकीलाई पहिलो कास्य दिलाउन सिन्जलले स्न्याचमा ४० र क्लीन एण्ड जर्कमा ५० सहित ९० केजी भार उठाइन्। घरेलु टोली गण्डकीले यसअघि रजत जितेको थियो।

टेनिस मेन्स डबल्समा गण्डकीलाई स्वर्ण

टेनिस मेन्स डवल्समा गण्डकीले स्वर्ण पदक जितेको छ। पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीले स्वर्ण पदक हात पारेको हो। निकै प्रतिस्पर्धात्मक खेलमा गण्डकीका प्रदीप खड्का र अनिल शाहीको जोडीले विभागीय टोली आर्मीका प्रनभ खनाल र अकि जुवेन रावतको जोडीलाई फाइनलमा पराजित गरेको हो।

सुपरटाइमा निर्धारण भएको नतिजामा पहिलो सेट गण्डकीको टिमले ७–५ ले जिते पनि दोश्रो सेट भने ४–६ ले गुमाउन पुग्यो। सुपरटाइमा गण्डकीले १०–८ ले आफ्नो पक्षमा पार्दै स्वर्ण पदक हात पारेको हो। यस अघि टिम इभेन्टमा गण्डकीले एक स्वर्ण हात पारिसकेको छ।

महिला भलिबलमा बागमती तेस्रो

महिला भलिबलमा बागमती प्रदेश तेस्रो भएको छ। म्याग्दीको बेनीमा बुधबार भएको खेलमा घरेलु टिम गण्डकीलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै बागमती तेस्रो भएको हो। बागमतीले दोस्रो, तेस्रो र चौथो सेटमा गण्डकीलाई २५–१२, २५–२१ र २५–१७ अन्तरमा पराजित गरेको हो।

विभागीय टिम एपीएफ र पुलिस बीच दिउँसो १ बजे फाइनल खेल हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ। एपीएफले बागमती र पुलिसले गण्डकीलाई पराजित गर्दै फाइनलमा पुगेका हुन्।

पुरुष बास्केटबलमा गण्डकी र एपीएफ फाइलनमा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बास्केटलब फाइभ अन फाइभ प्रतियोगितामा गण्डकी र एपीएफ फाइनलमा प्रवेश गरेका छन्। बुधबार भएको खेलमा गण्डकीले आर्मीलाई ७०–६६ स्कोरले हराउँदै फाइनलमा प्रवेश गरेको हो।

खेलको पहिलो हाफमा आर्मीले १६–१९ स्कोरले अग्रता लिएको थियो। दोस्रो हाफमा गण्डकीले ३९–३२ स्कोरका साथ अग्रता लिँदै तेस्रो र चौथोमा क्रमशः ५३–५० र ७०– ६६ अंकले जित हासिल गरेको छ। आजै भएको पहिलो खेलमा एपीएफ फाइनलमा प्रवेश गरेको छ।

एपीएफले बागमती प्रदेशलाई ९२–६५ स्कोरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। बुधबारै सम्पन्न थ्री अन थ्रीतर्फ एपीएफले बागमतीलाई २१–१६ स्किोरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ। दोस्रो खेलमा घरेलु टोली गण्डकीले आर्मीलाई २०–१७ स्कोरले हराउँदै फाइनलको यात्रा तय गरेको छ। फाइनल खेल गण्डकी र एपीएफ बीच बिहीबार हुँदैछ।

महिला ज्याभ्लिन थ्रोमा पुलिसकी चन्द्रकलाको राष्ट्रिय कीर्तिमान

एथलेटिक्स महिला ज्याभ्लिन थ्रोमा पुलिसकी चन्द्रकला लाम्गाडेले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन्। उनले बुधबार ४७.६० मिटर मिटर थ्रो गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन्। यसअघि यो कीर्तिमान आर्मीकी लक्ष्मी थारुको नाममा थियो।

आठौं राष्ट्रिय खेलकुदमा उनले ४५.२७ मिटर थ्रो गर्दै कीर्तिमान बनाएकी थिइन्। सोही इभेन्टमा आर्मीकी लक्ष्मी थारुले ४५.५६ मिटर थ्रो गर्दै रजत पदक जितिन्। एपीएफकी सीमाकुमारी थारुले ४५.२० सकेन्डमा पूरा गर्दै काँस्य पदक जितिन्।

ज्याभ्लिन थ्रोमा आर्मीका रोहितलाई स्वर्ण

पुरुष ज्याभ्लिन थ्रोमा त्रिभुवन आर्मी क्लबका रोहित चौधरीले स्वर्ण पदक जितेको छन्। उनले बुधबार बिहान पोखरा रंगशालामा ६४.२५ मिटर थ्रो गर्दै स्वर्ण पदक जितेका हुन्। एपीएफका रमेश पोख्रेल र मनोज डगौंराले क्रमशः रजत र कास्य पदक जिते। पोख्रेलले ५५.४३ र डगौंराले ५३.३९ मिटर थ्रो गरे।

सेपाकताक्रोमा ५ स्वर्णसहित आर्मीको वर्चस्व

पूर्वी नवलपरासीको कावासोतीमा सञ्चालन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको सेपाकताक्रोका तीन वटै विधाका ६ स्वर्णमध्ये ५ स्वर्ण विभागीय टिम आर्मीले जितेको छ। बुधबार सम्पन्न पुरुष रेगुतर्फको फाइनलमा आर्मीले गण्डकीलाई २–१ को सेटमा हराउँदै स्वर्ण हात पारेको हो।

आर्मीका सन्जित धिमाल, सूर्य चौधरी, उमेश महतो, दिपेश जंग थापा रोशन तामाङको समूहले स्वर्ण जितेका हुन्। विभागीय टिम आर्मीले यो सँगै सेपाकताक्रोको डबल, रेगु र क्वार्ड विधाको महिलातर्फका तीन वटै र डबल विधाका पुरुषतर्फका १ स्वर्ण र रेगु विधाको पुरुषतर्फ १ स्वर्ण गरी ५ स्वर्ण जितेको हो।

पूर्वी नवलपरासीको कावासोतीमा रहेको योङ्गस्टार क्लबको कर्भडहलमा सञ्चालन भएको महिला र पुरुषको फरक–फरक ३ वटा विधामा प्रतियोगितामा प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र नेपाली सेनाका ९८ खेलाडीले भाग लिएका थिए।

थ्री बाइ थ्री महिला बास्केटबलमा गण्डकीलाई काँस्य

तनहुँ जिल्लामा भएको थ्री बाइ थ्री महिला बास्केटबल प्रतियोगितामा गण्डकी प्रदेशले काँस्य पदक हात पारेको छ। बुधबार भएको खेलमा बागमती प्रदेशलाई ९–७ अंकको अन्तरमा गण्डकीले जित हासिल गरेको हो।

मंगलबार भएको सेमिफाइनल खेलमा आर्मीसँग पराजित भएको थियो भने बागमती प्रदेश एपीएफसँग पराजित भएको थियो। आजै भएको फुल कोर्ट महिला बास्केटबलमा पनि गण्डकी प्रदेशले काँस्य पदक हात पारेको थियो।

आठ सय मिटर दौडमा फूलमति र सोमलाई स्वर्ण

एथलेटिक्स ८ सय मिटर दौडमा एपीएफकी फूलमति राना र आमीका सोमबहादुर कुमालले स्वर्ण पदक जितेका छन्। पोखरा रंगशालामा बुधबार भएको दौडमा महिलातर्फ एपीएफकी फूलमतिले निधारित दुरी २ मिनेट २७.३६ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन्।

आर्मीकी सरस्वती भट्टराईले २ मिनेट २७.५० सेकेण्डमा पूरा गर्दै रजत र आर्मीकै रेखा लिम्बुले २ मिनेट ३०.४८ सेकेण्डमा पूरा गर्दै काँस्य पदक जितिन्। पुरुषतर्फ निर्धारित दुरी १ मिनेट ५४.०८ सेकेण्डमा पूरा गर्दै आर्मीका सोमले स्वर्ण जिते। पुलिसका तेजबहादुर कार्कीले रजत र आर्मीकै सुनिल सुनारले काँस्य पदक जिते। निर्धारित दुरी कार्कीले १ मिनेट ५५.२१ सेकेण्ड र सुनारले १ मिनेट ५५.५२ सेकेण्ड पूरा गरे।

सफ्ट टेनिस मिक्स डबल्समा प्रदेश १ लाई स्वर्ण

पोखरा रंगशालास्थित टेनिस कोर्टमा बुधबार सफ्ट टेनिस प्रतियोगिता सम्पन्न भएका छ। प्रतियोगितामा प्रदेश १ का युकेश योञ्जन र श्रेया योञ्जनको जोडीले ५–२ को सेटमा बागमती प्रदेशका प्रदीप खत्री र जर्जीयाँ चौधरीको जोडीलाई पछि पार्दै स्वर्ण जितेको हो। प्रतियोगितामा बागमतीले रजतमा चित्त बुझाउनु पर्‍यो।

नेपाल पुलिसका कमल भण्डारी र विष्णा भण्डारी साथै एपीएफका हरकसिंह धामी र भगवती विकले काँस्य पदक प्राप्त गरे। यसअघि मंगलबार सफ्ट टेनिस डबल्सतर्फको दुई स्वर्ण विभागीय टोली नेपाल प्रहरी र एपीएफले बाँडेका थिए। पुरुषतर्फ पुलिसका नरबहादुर लुङगेली र कमल भण्डारीको जोडीले, महिलातर्फ एपीएफका भगवती बि.क.र समृद्धि महर्जनको जोडीले स्वर्ण दिलाएका थिए।

महिला बास्केटबलको काँस्य गण्डकीलाई

तनहुँ जिल्लामा भएको महिला बास्केटबल प्रतियोगितामा गण्डकी प्रदेशले काँस्य पदक हात पारेको छ। बुधबार भएको खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई ४६–२४ अंकको अन्तरमा काँस्य पदक हात पारेको हो। प्रतियोगिताको पहिलो चरणमा गण्डकी प्रदेशले १६–९ को अन्तर कायम गरेको थियो।

यसैगरी गण्डकी प्रदेशले दोस्रो, तेस्रो र चौथो चरणमा क्रमशः १०–४, १२–७ र ८–४ को अन्तर बनाउँदै जित हासिल गरेको हो। गण्डकी प्रदेशलाई काँस्य पदक दिलाउन गण्डकीकी सीमा गर्बुजाले १९ अंक जोडेकी थिइन्। मंगलबार भएको सेमिफाइनल खेलमा गण्डकी प्रदेश त्रिभुवन आर्मीसँग पराजित भएको थियो भने सुदूरपश्चिम प्रदेश बागमती प्रदेशसँग पराजित भएको थियो। प्रतियोगिता अन्र्तगत यसअघि महिला पुरुष सिंगल्सतर्फका खेल सम्पन्न भइसकेका छन्।

चार सय मिटर हडल्स पुरुषमा आर्मीलाई स्वर्ण

चार सय मिटर हडल्समा त्रिभुवन आर्मीका रामप्रसाद थारुले स्वर्ण पदक जितेका छन्। थारुले ४ सय मिटर ५३.५३ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जिते। आर्मीकै जीवन चौधरीले ५३.८९ सेकेण्डमा पूरा गर्दै रजत पदक जिते। एपीएफका तिरप्रताप महत्तोले ५३.९२ सेकेन्डमा पार गर्दै कास्य पदक जिते।

रग्बीमा पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मीलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बीमा पुरुषतर्फ सशस्त्र प्रहरीको एपीएफ क्लब र महिलातर्फ नेपाली सेनाको त्रिभूवन आर्मी क्लवले स्वर्ण पदक जितेका छन्।

पोखराको लेखनाथस्थित भण्डारढीक खेल मैदानमा भएको प्रतियोगितामा पुरुषतर्फ एपीएफले लुम्बिनी प्रदेशलाई १०–७ को स्कोरले हराउँदै स्वर्ण पदक जितेको हो भने महिलातर्फ आर्मीले मधेश प्रदेशलाई १०–० को फराकिलो अन्तरले हराउँदै स्वर्ण पदक जितेको हो।

पुरुषतर्फ गण्डकी प्रदेशले काश्य पदक जितेको छ। काश्य पदकका लागि बुधबार नै भएको खेलमा गण्डकीले त्रिभुवन आर्मीलाई १०–५ को स्कोरमा पछि पार्दै विजयी भएको हो। महिलातर्फको कास्य पदक भने सुदूरपश्चिमको पोल्टामा परेको छ। सुदूरपश्चिमले मधेश प्रदेशलाई ५–० ले पराजित गर्दै कास्य पदक जितेको हो।

महिला हक्कीमा आर्मीले जित्यो स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला हक्कीमा विभागीय टोली नेपाली सेनाको त्रिभूवन आर्मीले स्वर्ण पदक जितेको छ। पोखरामा बुधबार भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै आर्मीले स्वर्ण पदक जितेको हो। टाईब्रेकरमा आर्मीका लागि सीताकुमारी चौधरी, सरस्वती तामाङ र सीतामाया बलले गोल गरे।

त्यसअघि खेलको नवौं मिनेटमा नेपाल आर्मी सरस्वती तामाङले १ गोल गरेकी थिइन्। त्यसको दुई मिनेटपछि गण्डकीको तर्फबाट सबिना पुन रानाले एक गोल थपिन्। खेल १–१ को बराबरीमा पुगेपछि टाइब्रेकरमा पुगेको हो।

महिला हक्कीमा प्रदेश १ लाई हराउँदै सुदुरपश्चिमले कास्य पदक जितेको छ। बुधबार बिहान भएको पहिलो खेलमा सुदुरपश्चिमले प्रदेश १ लाई २–० गोल अन्तरले हराएको हो। सुदुरपश्चिमका लागि खेलको १० औं मिनेटमा निलम जोशी र २६ औं मिनेटमा डम्बरा थापाले गोल गरेकी थिइन्। प्रतियोगितामा सात टिम सहभागी थिए।

प्रकाशित: २ कार्तिक २०७९ १०:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App