१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

जितको लय भेट्टाउने अवसर

नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले बंगलादेश कठिन प्रतिद्वन्द्वी भए पनि घरेलु मैदानमा जित निकाल्नेमा विश्वस्त रहेको बताएका छन्। नेपालले मंगलबार एक मात्र अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशलाई त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आतिथ्यता गर्दै छ। नेपाल पछिल्ला ६ खेलमा लगातार जितविहीन छ। त्यसैले बंगलादेशविरुद्धको खेल नेपालका लागि जितयात्रा समाउने अवसरसमेत हुनेछ।  

नेपालले पछिल्लो पटक सन् जनवरी २९ र फेबु्रअरी १ मा दशरथ रंगशालामै मोरिससविरुद्धको दुई मैत्रीपूर्ण खेलमा जित निकालेको थियो। त्यसपछि भने नेपालले जितको स्वाद चाख्न पाएको छैन। थाइल्यान्डविरुद्धको मैत्रीपूर्ण खेल २–० ले गुमाएको नेपाल टिमोर लिस्टेसँग २–२ को बराबरीमा रोकिएको थियो। त्यस्तै ओमानलाई पनि नेपालले २–० को नतिजा सुम्पिएको थियो।

सन् २०२३ को एएफसी एसियन कप छनोटमा पनि नेपालले सुखद नतिजा ल्याउन सकेन। राष्ट्रिय टोलीका तत्कालीन मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग विवादका कारण बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले प्रशिक्षण छोडेका थिए। अल्मुताइरीले तत्कालीन कप्तान तथा गोलकिपर किरणकुमार लिम्बुलाई समेत बन्द प्रशिक्षण छोडेका खेलाडीलाई समर्थन गरेको भन्दै उनलाई समेत टोलीमा राखेनन्।  

अधिकांश युवा खेलाडीका साथ कुवेत भ्रमणमा निस्किएको नेपाल पहिलो खेलमा जोर्डनसँग २–०, घरेलु टोली कुवेतसँग ४–१ र इन्डोनेसियासँग ७–० ले पराजित भएको थियो। नेपालले पछिल्लो समय ६ खेलमा ६ खेलमा १९ गोल खाएको छ भने मात्र ३ गोल गरेको छ। त्यसैले बंगलादेशविरुद्धको खेल नेपालका लागि जितलयका साथै गोललयमा समेत फर्कने अवसर हो।  

‘हामी बंगलादेशविरुद्धको खेलका लागि पूर्ण रूपमा तयार छांै, टोलीको प्रशिक्षण राम्रो भएको छ,’ हुमागाईंले भने, ‘बंगलादेश सहज टोली पक्कै होइन। तर हामी घरेलु समर्थकलाई जितको उपहार दिन चाहन्छौं। टोलीबाट कुन खेलाडी खेल्छ भन्ने कुरा भोलि मात्र थाहा हुन्छ। टोलीमा रहेका सबै २३ खेलाडी नै उत्कृष्ट छन्। यस पटक मात्र टोलीमा परेका अभिषेक चौधरी र ऋतिक खड्काले पनि डेब्यु गर्ने सम्भावना प्रबल छ। नेपालले पछिल्लो समय जुन रणनीतिमा खेल्थ्यो भन्ने कुराको अर्थ हुँदैन। सबै प्रशिक्षकको भिन्न रणनीति हुन्छ र मैले आफ्नो टोली योजनामा अभ्यस्त हुने खेलाडीलाई मात्र टोलीमा समावेश गरेको छु। जसले गर्दा सुखद नतिजाको आशा राखेको छु।

नेपालले पछिल्लो पटक गत वर्ष साफ च्याीम्पयनसिपको समूहचरणमा बंगलादेशविरुद्ध खेलेको थियो।जुन खेल १–१ को बराबरीमा सकिएको थियो। यता कप्तान किरणले पनि आफूहरू बंगलादेशको चुनौतीको सामना गर्न तयार रहेको बताए।  

‘प्रशिक्षकले भनेझैं हाम्रो प्रशिक्षण राम्रो भइरहेको छ,’ किरणले भने, ‘टोली पछिल्लो पाँच साताबाट सँगै प्रशिक्षणमा छ। यद्यपि व्यस्त खेलतालिकाका कारण म भने तीन दिन मात्र प्रशिक्षणमा सहभागी भएको छु। बंगलादेश सहज प्रतिद्वन्द्वी होइन। उनीहरू पनि उच्च लयमा छन्। तर हामी उनीहरूविरुद्ध सुखद नतिजा ल्याउनेमा आशावादी छाैं।’

तत्कालीन प्रशिक्षक अल्मुताइरीले टोलीबाट बाहिर राखेपछि अन्य १० खेलाडीसहित टोलीमा फर्कंदा त्यहाँको अवस्था कस्तो पाउनुभयो भन्ने प्रश्नमा भने किरण निकै आक्रोशित देखिँदै आफूहरूलाई नियतवश टोलीबाट निकालिएको दोहोर्‍याए।

‘तपाईंहरूले पनि बुझनुभएकै होला, हामीलाई नबोलाइएको होइन, निकालिएको हो भन्नुस्,’ किरणले भने, ‘हामीले आफ्नो स्वार्थका लागि नभई राष्ट्रका लागि खेल्ने हो। हामीलाई यो समूहको त्यो समूहको भनेर नभन्नुहोस्, हामीले समग्र टोलीका रूपमा नेपालको प्रतिनिधित्व गर्ने हो।’  

यसअघि प्रशिक्षण सुरु भएपछिको पहिलो पत्रकार भेटघाटमा समेत किरणले अल्मुताइरीले आफूहरूमाथि नियतवश षड्यन्त्र गर्दा समेत सञ्चारमाध्यमले प्राथमिकता नदिएको गुनासो गरेका थिए। यता बंगलादेशका प्रशिक्षक जाभियर काभेराले भने टोली उच्च लयमा रहेकाले सहजै नेपालको चुनौती पार गर्नेमा विश्वस्त रहेको बताए 

‘विगतमा हामीले कस्तो खेल्यौं, त्यसले अर्थ राख्दैन,’ उनले भने, ‘टोली उच्च लयमा छ। प्रशिक्षण पनि राम्रो भएको छ। हामीले केही दिनअघि मात्र कम्बोडियालाई हराएका थियोंै। त्यसैले टोलीको मनोबल पनि उच्च छ। घरेलु टोलीविरुद्ध खेल्न कठिन भए पनि हामी सुखद नतिजा ल्याउनेमा विश्वस्त छौं।’

प्रकाशित: ११ आश्विन २०७९ ०१:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App