१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नवौ राष्ट्रिय खेलकुदः मनाङमा फुलकन्ट्याक्ट कराँते र बास्केटबल प्रशिक्षण

मनाङको पिसाङस्थित नवनिर्मित बास्केटबल कोर्टमा प्रशिक्षण गर्दै बास्केटबल टोली। तस्बिर सौजन्य दिपकबहादुर गोदार।

गण्डकी प्रदेशले असोजको पहिलो सातादेखि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बन्द प्रशिक्षण शुरु गरेको छ। पोखरामा सबै जसो खेलको बन्द प्रशिक्षण चल्दा फुल कन्ट्याक्ट कराँते र बास्केटबलको टोली भने मनाङमा हाईअल्टिच्युड ट्रेनिङ सुरु गरेको छ। गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङको अगुवाई र सक्रियतामा मनाङमा बन्द प्रशिक्षण गराउने योजना कराँते र बास्केटबल टोलीको प्रशिक्षण सुरु गरिएको हो। टोलीले दुईदिनदेखि मनाङको पिसाङमा प्रशिक्षण सुरु गरेको छ। पिसाङअघि मनाङकै तालमा प्रशिक्षण गरेर टोली माथि उक्लिएको हो।  

युवा तथा खेलकुद मन्त्री गुरुङले प्रदेशस्तरीय छनोट प्रतियोगिता लगत्तै खेलाडीहरुलाई मनाङमा हाई अल्टिच्युड प्रशिक्षण गराउने प्रतिबद्धता जनाएका थिए। प्रतिबद्धता अनुसार कराँते र बास्केटबल टोलीले दुईसाता प्रशिक्षण गर्न मनाङ पुगेको हो। ‘प्रदेशले खेलाडीलाई डाईटको सुविधासहित विशेष प्रशिक्षणको व्यवस्था गरिदिएका छौं,’ युवा तथा खेलकुद मन्त्री गुरुङले भने, ‘दुईसाता प्रशिक्षण गरेपछि खेलाडीमा थप उत्साह र उर्जा थपिन्छ भन्ने विश्वास छ।’  

पहिलो दिन खेलाडीले मनाङको नासो गाउँपालिकास्थित तालको खेल मैदानमा प्रशिक्षण गरे। दोस्रो दिन पिसाङ पुगे। पिसाङस्थित नवनिर्मित बास्केटबल कोर्टमा दुवै टोलीले प्रशिक्षण गरेका छन्। फुल कन्ट्याक्ट कराँतेमा महिला(५० केजी) सरगम कुमाल, धनकला राना(५५ केजी) पुरुष तर्फ अभिषेक (४० केजी), नारायण विक(४५ केजी), मोसेस कुमाल(६० केजी) रहेका छन्। प्रशिक्षकमा सुवास खड्का, लक्ष्मण कुँवर र दिपकबहादुर गोदारले विशेष सहयोगी भूमिका खेलेका छन्।  

बास्केटबल तर्फ विकास गुरुङ निकेश राखल मगर, जासङ सुुनुवार, रवी पौडेल, सुदिप पौडेल क्षत्री, स्पन्दन प्रधानाङ्ग, अमृत कोईराला, लेखमान गुरुङ, रुपेश खड्का, पुष्कल छन्त्याल, सुदिप कार्की, गिमन पुर्जा पुन, सुजन महर्जन, खिमराज गर्बुजा पुन, एन्जेल पुन, सुविन श्रेष्ठ रहेका छन्। प्रशिक्षकमा प्रदिप रसाईली र टिम व्यवस्थापकमा सुरेश गुरुङ रहेका छन्।  

‘दशैंको फूलपातीसम्म प्रशिक्षण गरेर फर्किन्छौं,’ पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष एवं फुलकन्ट्याक्ट कराँतेका पूर्व राष्ट्रिय खेलाडी दिपकबहादुर गोदारले भने, ‘विहान र साँझ दुई समय प्रशिक्षण गराईएको छ।’ नेपालगन्जमा आयोजित आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले फुल कन्ट्याक्ट कराँतेमा ४ स्वर्ण, तीन रजत र दुई कास्य पदक जित्दै टिम च्याम्पियन बनेको थियो। ‘आठौंको इतिहास दोहोर्याउने लक्ष्यसहित प्रशिक्षण गराईएको छ,’ नेपाल क्योकुशिन कान कराँतेका नेपाल ब्रान्च चिफ समेत रहेका पूर्व राष्ट्रिय खेलाडी लक्ष्मण कुँवरले प्रशिक्षणपछि भने, ‘नयाँ ठाँउसँगै हाई अल्टिच्युडमा गराइएको प्रशिक्षणले प्रतिफल प्राप्त हुनेछ।’  

उनका अनुसार खेलाडीलाई मनाङको झण्डै ३ हजार २ सय मिटर मिटरको उचाईमा कुनै शारीरिक समस्या भने आएको छैन्। ताल, पिसाङ, भ्राका र मनाङमा प्रशिक्षण गराउने योजना छ। ‘दुईदिनपछि मनाङ गाँउ जान्छौं। मनाङमा केही दिन प्रशिक्षण गरेपछि फेरी भ्राका, पिसाङ हुदैं तालमा प्रशिक्षण गरेपछि पोखरा फर्किने छौं,’ विशेष प्रशिक्षणमा सहयोगी भूमिका खेलेका प्रशिक्षक गोदारले सुनाए।  

बास्केटबल टोलीले भने नयाँ ठाँउमा नयाँ अनुभवसाथ प्रशिक्षण गर्न पाउँदा छुट्टै उत्साह खेलाडीमा थपिएको प्रशिक्षक प्रदिप रसाईलीले सुनाए। ‘कोर्ट राम्रो छ। आवश्यक सामान सबै छन्। ध्यान केवल  प्रशिक्षणमा केन्द्रीत छौं,’ उनको भनाई थियो। 

प्रकाशित: ६ आश्विन २०७९ ०८:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App