coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

हालान्ड उत्कृष्ट लयमा

स्ट्राइकर एर्लिङ हालान्ड इङ्लिस प्रिमियर लिगको पहिलो लगातार चार अवे खेलमा गोल गर्ने पहिलो खेलाडी बनेको दिन म्यानचेस्टर सिटीले शनिबार उल्भरहम्टनमाथि ३–० को जितसहित कम्तीमा २४ घन्टाका लागि अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

हालान्डले जारी सिजन सबैखाले प्रतियोगितामा गरेर सिटीबाट १० खेलमा गोल संख्या १४ पुर्‍याइसकेका छन्। उनी यसै सिजन जर्मन बुन्डेसलिगाको क्लब बोरुसिया डर्टमन्डबाट सिटी भित्रिएका थिए। ज्याक ग्रिलिसले खेलको ५५ सेकेन्डमै गरेको गोलमा सिटीले अग्रता लिएको थियो। जारी सिजन उनको यो पहिलो गोल पनि हो।

गत सिजन एस्टन भिल्लाबाट सिटी आएका ग्रिलिसले राम्रो प्रदर्शन गर्न सकिरहेका थिएनन्। १६औं मिनेटमा हालान्डले सिटीको अग्रता दोब्बर पारेका थिए। हालान्डले बर्नार्डो सिल्भाको पासमा बललाई जाली चुमाएका हुन्। ६९औं मिनेटमा फिल फोडेनले सिटीको अग्रता ३–० मा पुर्‍याए।

३३औं मिनेटमा नाथन कोलिन्सले रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि उल्भरहम्टनले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो। पेप ग्वार्डिओलाको टोलीले उल्भरहम्टनविरुद्धको पछिल्ला पाँच भेटमा पाँचै खेल आफ्नो पक्षमा पारेको छ। यस क्रममा सिटीले उल्भरहम्टनमाथि १६ गोल गरेको छ भने तीन गोल मात्र खाएको रेकर्ड छ।

सिटी सात खेलबाट १७ अंकसहित शीर्ष स्थानमा उक्लिएको हो, जुन दोस्रो स्थानको आर्सनलभन्दा दुई अंकले बढी हो। आर्सनलले एक खेल कम खेलेको छ। आर्सनलले आइतबार ब्रेन्टफोर्डको सामना गर्नेछ। सो खेल जितेमा आर्सनल शीर्ष स्थानमा फर्कनेछ। आर्सनल पछिल्लो खेलमा म्यानचेस्टर युनाइटेडसँग पराजित भएको थियो।

ग्वार्डिओलाले यसै साता हालान्डले आफूहरूको अपेक्षाअनुसारकै प्रदर्शन गरिरहेको बताएका थिए। सिजनमा उत्कृष्ट सुरुआतपछि अगस्टमा प्रिमियर लिग प्लेयर अफ मन्थ भएका हालान्डले सेप्टेम्बरमा समेत सो दाबी बलियो पारेका छन्।

सिटीका लागि उनले लगातार सात खेलमा गोल गरेका छन्। ६ सिजनमा पाँचौं पटक लिग जित्न आतुर सिटी पछिल्ला २२ अवे खेलमा अपराजित रहँदै आएको छ। गत सिजन टोटनहमविरुद्धको अवे खेल गुमाएपछि सिटी अवे खेलमा निरास हुनु परेको छैन। यसअघि शुक्रबार राती भएको खेलमा एस्टन भिल्लाले साउथहम्टनलाई १–० ले हराएको थियो भने फुलहमले नटिङ्घम फरेस्टमाथि ३–२ को जित निकालेको थियो।

प्रकाशित: २ आश्विन २०७९ ००:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App