७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
खेल

राजर्षि गुरुकूलमा पौडी प्रतियोगिता

भक्तपुरको सल्लाघारीस्थित राजर्षि गुरुकूल स्कूलका विद्यार्थीहरू पौडीमा रमाएका छन्। स्कूलले आयोजना गरेको पौडी प्रतियोगितामा सहभागी विद्यार्थीका साथै विद्यालयमा अध्ययनरत विद्यार्थी पनि पौडीमा रमाएका हुन्।

शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अब्बल सो स्कूलले अन्तरसदनव्यापी स्वीमिङ प्रतियोगितामा सहभागी विद्यार्थीहरूले पौडीले आफूहरूमा छुट्टै खालको स्फुर्ति दिएको बताए।

प्रतियोगितामा सहभागी आरोही निरौलाले पौडीमा आफ्नो रुचि भएको र सो रुचिलाई स्कुलले पूरा गरेको बताइन्। उनले मात्र नभएर ४ कक्षाका अदिसी सराफ, ५ कक्षाकी विधात्री घिमिरेले पनि पौडिन पाउँदाको खुसी बेग्लै रहेको अनूभूति सुनाए।

उनीहरूले स्कुल बिदामा अन्य ठाउँमा गएर पौडीको अभ्यास गर्ने गरेको बताउँदै विद्यालयकै पोखरीमा पौडिएर आफ्नो सीप देखाउन पाउँदा खुसी लागेको बताएका थिए।

जीवन रक्षाका लागि समेत आवश्यक पर्ने सीपमध्येमा पौडीको सीप सिकाउन पनि सो प्रतियोगिता गरिएको विद्यालयका प्रिन्सिपल लियोन श्रेष्ठले बताए। उनले पौडीप्रति विद्यार्थीको रुचि बढाउन तथा पौडीका कारण विद्यार्थीमा पुग्ने फाइदाको अनुभूति सिकाउन समेत सो प्रतियोगिता गरिएको जानकारी दिए।

विद्यार्थीको मानसिक र शारीरिक क्षमता विकासमा सहयोग पुर्‍याउने उद्देश्यले सो प्रतियोगिता गरेको स्कूलले जनाएको छ।

प्रतियोगितामा विजयी विद्यार्थीलाई राष्ट्रिय खेलकुद परिषद्का प्रमुख पौडी प्रशिक्षक शंकर कार्की, विद्यालयका संस्थापक राजेश चौधरी र विद्यालयका प्रिन्सिपल लियोन श्रेष्ठले मेडल, प्रमाण पत्र र ट्रफी वितरण गरेका थिए।

कार्यक्तममा पौडीका मुख्य प्रशिक्षक शंकर कार्की, अर्थशास्त्री जय बञ्जाडे, विद्यालयका सल्लाहकार बिकेमान सिंह लगायतका अतिथिहरूले विद्यार्थीको सर्वांगीण विकासका लागि राजर्षि गुरुकूलले गरेको प्रयासको प्रशंसा गरेका थिए।

वक्ताहरूले स्कूलले शिक्षाका साथै खेलकुद र अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकता दिंदै आएको उल्लेख गर्दै भोलिका कर्णाधारका रूपमा रहेका विद्यार्थीको भविष्यका लागि खेलकुद जरुरी रहेकोमा जोड दिए। उनीहरूले पढाइसँगै खेलकुद जरुरी रहेकाले विद्यालय तहबाटै खेलकुदमा लगानी गर्नुपर्ने चर्चा गरे।

प्रकाशित: २३ भाद्र २०७९ ०४:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App