१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

राखेपद्वारा खेलकर्मी सम्मानित

राष्ट्रिय खेलकुद परिषद्(राखेप) ले ५९औं वार्षिकोत्सवका अवसरमा चार खेलाडीसहित १६ जनालाई शनिबार सम्मान गरेको छ।

भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा आयोजित एक कार्यक्रमबीच उनीहरूलाई पुरस्कृत गरिएको हो। सम्मानित हुने खेलाडीमा सिनियरतर्फ पुरुषमा फुटबलका किरण चेम्जोङ र महिलामा पारा तेक्वान्दोकी पलेशा गोबर्धन तथा जुनियरको पुरुषमा एथ्लेटिक्सका सन्दीप थारु र महिलामा टेबलटेनिसकी इभाना थापा छन्।

प्रशासन र प्राविधिकततर्फ ६ कर्मचारी पनि पुरस्कृत भए। सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कारको प्रशासनमा डिल्लीराम काफ्ले र प्राविधिकमा उसुका प्रकाश महर्जन, उत्कृष्ट परिषद् सेवा पुरस्कारको प्रशासनमा दीपा बास्तोला र प्राविधिकमा भारोत्तोलनका जीवन गौतम तथा परिषद् सेवा पुरस्कारको प्रशासनमा अर्जुनबहादुर कार्की र प्राविधिकमा जिम्न्याष्टिककी सजनी मानन्धर पुरस्कृत भए।

राखेपमा करार सेवामा कार्यरत कर्मचारीतर्फ केशव खरेल सम्मानित भए। खेल पत्रकारमा द हिमालयन टाइम्सका महेश आचार्य र राससकी मुना कार्की सम्मानित भए। उनीहरूलाई नगद पुरस्कारसहित ट्रफी प्रदान गरिएको थियो। उत्कृष्ट स्थानीय तहमा भरतपुर महानगरपालिका, उत्कृष्ट राष्ट्रिय खेल संघमा नेपाल ट्रायथलन संघ र उत्कृष्ट खेल सामाग्री उत्पादकमा कामारु ट्रेडिङ प्राली सम्मानित भए।

सो अवसरमा राखेपमा २५ वर्ष र २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई क्रमशः दीर्घ सेवा पदक र परिषद् सेवा पदक प्रदान गरिएको थियो। उनीहरूलाई राखेपका संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवा, युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राखेपका उपाध्यक्ष शिव कोइराला, खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र राखेपका सदस्यसचिव टंकलाल घिसिङलगायतले पुरस्कृत गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सीमित श्रोत र साधनका बाबजुद नेपाली खेलाडीले हासिल गरेको उपलब्धि प्रशंसनीय रहेको उल्लेख गर्दै खेल पूर्वाधार र खेलाडीको सुविधा वृद्धि गर्नेमा सरकार प्रयत्नशील रहेको बताए।  

खेलकुद मन्त्री गहतराजले प्राथमिक तहदेखि नै खेलकुदलाई शिक्षामा समावेश गर्नु पर्नेमा जोड दिँदै अब आउने नियमावलीमा खेलाडीको पुरस्कारलाई कानुनी रूपमै व्यवस्था गरिएको जानकारी दिए। राखेपका उपाध्यक्ष कोइरालाले खेलकुदलाई आर्थिक उपार्जनको माध्यम पनि बनाउनुपर्ने आवश्यकता औंल्याए।

सदस्यसचिव घिसिङले उमेरसमूह र सिनियर खेलाडीको प्रतियोगिताका लागि तालिका बनाएर अगाडि बढ्ने तयारी भइरहेको बताए। उनले एसियाली खेलकुदमा स्वर्णको खडेरी तोड्ने गरी तयारी गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै दक्षिण एसियाली, एसियाली खेलकुद र ओलम्पिकको तयारीमा जुट्नु पर्ने आवश्कता औंल्याए।

प्रकाशित: १९ भाद्र २०७९ ०१:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App