२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

महिला फुटबलमा रौतहट अब्बल

मानव विकास सूचकांकमा रौतहटको स्थान देशमा ७७औँ रहेको भए पनि महिला फुटबलको क्षेत्रमा भने रौतहट देशमै अब्बल साबित गर्दैछ।

नेपालको सबै विभागीय टोली तथा राष्ट्रिय टोलीमा पनि रौतहट टोली महिला खेलाडीको सम्मान जनक उपस्थिति रहनु र हरेक वर्ष नयाँ खेलाडीले देशको विभिन्न टोलीमा स्थान पाइनुले महिला फुटबलमा रौतहट अब्बल रहेको देखाउँछ।

रौतहटको चन्द्रपुर नगरपालिका ६ मा शेरबहादुर दर्लामी खेल मैदान छ। हरेक बिहान अहिले पनि ७० जना बालिकाहरुले नियमित प्रशिक्षण लिने र अभ्यास गर्ने काम गरिरहेका छन्। १२ वर्षदेखि १६ वर्ष उमेर समूहका किशोरीहरुले नियमित अभ्यास गरिरहँदा भविष्यमा अझ राम्रो गर्न रौतहट तयार भइरहेको आफूलाई लागेको रौतहट जिल्ला फुटबल संघका अध्यक्ष भगवान दर्लामीको भनाइ छ।

रौतहटको फुटबललाई माथि उकास्न शेरबहादुर दर्लामीको ठूलो भूमिका रहेको छ। आफू पनि खेलाडी रहेका दर्लामीले आफ्नो जीवन नै फुटबलको विकासमा लगाएका थिए। उनको निधनपछि उनले अभ्यास गराउने गरेको खेल मैदानको उनकै नाममा शेरबहादुर दर्लामी खेल मैदान राखिएको छ। भदौ २१ देखि हुन गइरहेको साफ महिला फुटबल च्याम्पियनसिपको टोलीमा रौतहटका ७ महिला खेलाडी रहेका छन्।

यसैगरी नेपाली सेना, नेपालप्रहरी र सशस्त्रप्रहरी बलको महिला टोलीमा रौतहटका ५५ जना खेलाडी समावेश छन्। नेपालको विभागीय र राष्ट्रिय टोलीमा रौतहटका महिला खेलाडीको सम्मान जनक उपस्थिति हुनु रौतहटको लागि गौरवको विषय भएको अध्यक्ष भगवान दर्लामीको भनाइ छ। रौतहटमा प्लान इन्टरनेशनल नेपालनामको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था कार्यरत रहँदा किशोरीहरुमा ठूलो लगानी गरेको थियो।

विपन्न समुदायका बालिका तथा किशोरीलाई प्लानले निकै सहयोग गर्ने गरेको थियो र सोही सहयोगले बालिका तथा किशोरीहरु खेलकुदतर्फ आकर्षित भएका थिए। सन् २०१७ मा यो संस्था रौतहटबाट बाहिरिए पछि पनि यस क्षेत्रका गरिब परिवारका किशोरीहरुले खेलकूदलाई निरन्तरता दिइरहेको दर्लामी बताउँछन्।

महिला फुटबल रौतहटको एउटा सम्पत्ति बनिइसकेको अवस्थामायसलाई संरक्षण र प्रचार गर्नुपर्ने आवश्यकता रहेको दलामीको भनाइ छ। महिला फुटबलले रोजगारी र आत्म सम्मान दुवै दिएको अनुभव रहेकाले अझै पनिकिशोरीहरु यसतर्फ आकर्षित भइरहने र नेपालमा रौतहटेलीमहिलाको फुटबल अब्बल भइरहने विश्वास रहेको छ।

प्रकाशित: १७ भाद्र २०७९ १३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App