coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

‘भदौ १५ भित्र सम्पूर्ण खेलस्थल टुङ्गो लाग्छ’

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले भदौ १५ भित्र नवौं राष्ट्रिय खेलकुदको सम्पूर्ण खेलस्थल टुङ्गो लाग्ने बताएका छन्।

सदस्यसचिव घिसिङले असोज २८ बाट गण्डकी प्रदेशमा सुरु हुने प्रतियोगिताको खेलस्थलको निरीक्षणका लागि सम्बन्धित खेल संघका प्रतिनिधि र मुख्य प्रशिक्षकले सम्भावित खेलस्थलको निरीक्षण गरिरहेको र उनीहरूको प्रतिवेदनको आधारमा अन्तिम निर्णयमा पुग्ने बताए।

‘नवौं राष्ट्रिय खेलकुदको मिति नजिकिँदै गर्दा खेलस्थलको टुङ्गो नलागेका बारे धेरै प्रश्न उठ्ने गरेका छन्,’ घिसिङले भने, ‘हामी भदौ १५ मा खेलस्थल सार्वजनिक गर्नेछौं। राष्ट्रिय खेलकुदका अधिकांश खेल गण्डकी प्रदेशमै हुनेछन्। जसमध्ये अधिकांश खेल कास्कीको पोखरामा खेलाइनेछ। गण्डकी प्रदेशको ११ जिल्लामध्ये आठ जिल्लामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका खेल आयोजना हुनेछन्।’

घिसिङले आठौं राष्ट्रिय खेलकुद प्रदेश संरचनामा गरिए पनि त्यो नाममा लागि मात्र गरिएको दाबी गरे। ‘आठौं राष्ट्रिय खेलकुद पनि प्रदेश संरचनाकै आधारमा भएको थियो,’ घिसिङले भने, ‘तर त्यसमा छनोटदेखि लिएर अन्य सबै विषय केन्द्रले नै हेरेको थियो। यसपटक भने हामीले खेलाडी छनोटदेखि अन्य सबै काम सम्बन्धित प्रदेशलाई नै दिइसकेका छौं। खेलाडी छनोटको कार्य जारी छ।

भदौ २५ सम्म हामीले छनोट भएका खेलाडीको अन्तिम नामावली बुझाउन भनेका छौं। ’ असोज २८ गतेबाट कात्तिक ३ गतेसम्म चल्ने प्रतियोगिताका लागि सात प्रदेश, तीन विभागीय र एक एनआरएन टोली गरी कुल ११ टोलीका करिब ७ हजार ९ सय ९९ खेलाडीले ३ सय ९३ स्वर्ण, ३ सय ९३ रजत र ६ सय कांस्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रत्येक टोलीमा ३ सय ३५ महिला र ३ सय ७४ पुरुष खेलाडी रहनेछन्।

त्यस्तै सदस्यसचिव घिसिङले आफूहरूले १९औं एसियाली खेलकुदको ४० दिने बन्द प्रशिक्षण सञ्चालन गरेको र अहिले प्रशिक्षण रोकिए पनि नवौं राष्ट्रिय खेलकुद लगत्तै पुनः राष्ट्रिय टोलीको निरन्तर प्रशिक्षण हुने बताए।

'हामीले १९औं एसियाली खेलकुदको ४० दिने बन्द प्रशिक्षण सञ्चालन गरेका थियौं,’ घिसिङले भने, ‘तर नवौं राष्ट्रिय खेलकुदका लागि सम्बन्धित प्रदेश र विभागको आग्रहमा त्यो हालका लागि स्थगित भएको हो। राष्ट्रिय टोलीमा रहेका खेलाडीले अहिले सम्बन्धित प्रदेश र विभागबाट निरन्तर प्रशिक्षण गरिहेका छन्। नवौं लगत्तै पुनः प्रशिक्षणका कार्यक्रम सञ्चालन हुनेछन्।’  

प्रकाशित: १० भाद्र २०७९ ०२:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App