८ वैशाख २०८१ शनिबार
खेल

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताः पुरुष क्रिकेट प्रतियोगिता काठमाडौँमा हुने

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिता काठमाडौँमा हुने लगभग निश्चित भएको बताएका छन्।

बिहीबार काठमाडौँमा आयोजित पत्रका सम्मेलनमा उनले यस्तो बताएका हुन्। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन अब ५० दिनमात्र बाँकी रहँदा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले हालसम्मको तयारीको विवरण सार्वजनिक गरेको छ।

असोज २३ गतेबाट मंसिर २ गतेसम्म क्यानले नेपाल टी–ट्वान्टी लिग आयोजना गर्न लागेका कारण पुरुष क्रिकेट प्रतियोगिता काठमाडौँमा गर्ने तयारी भइरहेको हो। यो नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको निर्धारित मितिभन्दा अगाडि हुने भएको छ। खेल काठमाडौँको मुलपानी र कीर्तिपुरको त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदानमा भदौ २२ गतेबाट २८ गतेसम्म हुने सम्भावना रहेको सदस्यसचिव घिसिङले बताए।

घिसिङले नवौं राष्ट्रिय खेलकुदका लागि ६० करोड रुपैयाँ बजेट माग गरिएकोमा पहिलो चरणमा १० करोड बजेट प्राप्त भएको बताए। पहिलो चरणमा प्राप्त भएको बजेट प्रदेशमा पठाउने काम सुरु गरिएको जानकारी दिए।

सदस्यसचिव घिसिङले दोस्रो चरणमा २३ करोड र अन्तिम चरणमा बाँकी २७ करोड रकम प्राप्त गर्ने विश्वास व्यक्त गरे। यस्तै राखेपले पहिलो चरणमा ४० दिनको प्रशिक्षणपछि स्थगित गरेको एशियन गेम्सको तयारी नवौं राष्ट्रिय खेलकुद लगत्तै हुने जनाएको छ।

यसअघि जेठ २४ गतेबाट असार २३ गतेसम्म २३ खेलको प्रशिक्षण भएको थियो। उक्त प्रशिक्षणमा २३० पुरुष र २८४ महिला खेलाडी सहभागी थिए। अहिले उक्त प्रशिक्षण स्थगित भएको छ। नवौं राष्ट्रिय खेलकुदका लागि ३९३ स्वर्ण, ३९३ रजत र ६०० काश्य पदकका लागि प्रतिष्पर्धा हुँदैछ।

राखेपले गण्डकीका आठ जिल्लामा प्रतियोगिता गराउने तयारी गरेको छ। प्रतियोगितामा ३६ खेलमा प्रतिस्पर्धा हुनेछ। ३६ खेलमध्ये एक टिमले अधिकतम महिलामा ३३५ र पुरुषमा ३७४ गरी जम्मा ७०९ खेलाडी संख्या हुनुपर्ने राखेपले जनाएको छ।

सात प्रदेश, तीन विभागीय टोली र एनआरएन गरी जम्मा ११ टिमले प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन्। राखेपले प्रतिस्पर्धामा सहभागी बन्ने ११ टिमले भदौ १५ गतेसम्म सहभागी खेलाडी संख्याको टुंगो लगाउनुपर्ने र २५ गतेसम्म खेलाडीको नामावलीसहित सम्पूर्ण विवरण पेस गर्न निर्देशन दिएको छ।

प्रकाशित: ९ भाद्र २०७९ १३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App