२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

लोमान्थाङ- हाईअल्टिच्युड गल्फ हब

‘जहाँ इच्छा त्यहाँ उपाय। त्यही उपायको खोजीमा वर्षौ घोत्लिए इन्द्रधारा विष्ट। उपाय त्यस्तो खोजे जसले लोमान्थाङको मुहार फेरियोस। पर्यटनको हब बनोस। हो विष्टले विश्वकै अग्लो स्थानमा गल्फ प्रतियोगिता आयोजना गरेर लोमान्थाङको परिचय बदल्दै छन्। माटोको शहर लोमान्थाङ अहिले साहसिक खेलकुदको हब बन्ने रफ्तारमा अगाडि बढेको छ। गल्फबारे धेरै सोधखोज गरे। सोधखोजले मात्रै पुगेन आफै गल्फ खेल्न थाले।  

हिमालयन गल्फ कोर्षबाट गल्फमा रमाएका विष्टले लोमान्थाङमा गल्फ आयोजना गर्ने सपना बुने। सपनालाई नेपाल गल्फ संघले तदारुकता देखायो। विष्ट आफैं गल्फका भर्खरका एमेच्योर खेलाडी बनेर पोखरा काठमाडौंको कोर्षमा अनुभव लिए। अनि लोमान्थाङमा गल्फ कोर्ष बनाउने दृढतासहित योजना बुने। साकार रुप दिए। त्यसपछि विश्वकै उच्च स्थानमा गल्फ आयोनजा गर्दै वर्षौको सपना र योजनालाई मुर्त रुप दिने अन्तिम तयारीमा छन्।  

समुद्रीसहतदेखि ४६४५ मिटर उचाईमा कोर्ष बनाए। ९ होलको कोर्षमा नेपालका उत्कृष्ठ गल्फरले प्रतियोगिता खेल्ने छन्। गल्फकै लागि नेपालका गल्फरहरु शुक्रबार लोमान्थाङ आईपुग्ने छन्। शनिबार ९ होलको स्टेफल फोर्डको फरम्याटमा प्रतियोगिता खेल्ने छन्।  

गल्फ कोर्ष बनाउने विष्टको सपनालाई नेपाल गल्फ संघका केन्द्रीय सदस्य भूबहादुर गुरुङ(भुवन)ले ईटा थप्ने काम गरे। जोडबल विष्टको थियो। योजनालाई कार्यान्वयनमा लैजाने जिम्मा गुरुङले गरे। ‘लोमान्थाङको परिचय बदल्ने योजनामा छौ। त्यही अनुसार गल्फको हब बनाउने लक्ष्यलाई साकार रुप दिदैं छौं।’ गण्डकी प्रदेशका सदस्य समेत रहेका विष्टले भने,‘गल्फले लोमान्थाङको परिचय बदल्ने छ।’

परिचय बदल्न दुई महिना अघि मात्रै गल्फ कोर्षको प्रारम्भिक खाका कोरिएको थियो। कोरिएको सपनालाई भुवन गुरुङसहित चारजना एमेच्योर गल्फरले लोमान्थाङको नयाँ कोर्षमा ड्राइभ रेन्जसँगै आईरनको उपयोग गरिसके। चार गल्फरले प्रर्वद्धात्मक  प्रतिस्पर्धापछि विष्टकै अगुवाईमा नेपाल गल्फ संघको सक्रियतामा विश्वकै उच्च उचाईको गल्फ प्रतियोगिता आयोजना गर्ने सम्भावना बनेको हो।  

‘दुई महिना अघि हामीले प्रारम्भिक कोर्षमै ९ होल खेल्यौं। त्यसपछि केही मिलाउनुपर्ने होल तथा ड्राइभ हान्ने टि लाई मिलाउने काम गर्यौं।’भूबहादुर गुरुङले भने,‘कोर्ष तयार गरेपछि स्टेफल फोर्ड फरम्याटमा प्रतियोगिता आयोजना गर्ने निर्णयमा पुग्यौं।’ उनले लोमान्थाङमा हुने यो प्रतियोगिताले विश्वकै एडभेन्चर गल्फ खेल्ने गल्फरलाई आकर्षण गर्ने दावी गरे।  

गल्फ कोर्ष लोमान्थाङदेखि झण्डै २५ मिनेटको दुरी टाढा पर्छ। व्यवस्थापकीय जिम्मेवारी स्थानीयबासी लिएका छन्। लोमान्थाङ गाँउपालिकाले सहयोगी भूमिका खेलेको छ। प्रतियोगिताकै लागि गाँउपालिकाले १० लाख रुपैयाँ छुट्टाएको छ। प्रतियोगिताको लागि नेपालका बरिष्ठ एमेच्योर खेलाडीहरु बुधबार पोखरा आईसकेका छन्। पोखराबाट बिहीबार मुस्ताङको कागबेनी र शुक्रबार लोमान्थाङ आईपुग्ने छन्। शनिबार ४६४५ मिटरको उचाईको लोवाथाङस्थित गल्फ कोर्षमा प्रतिस्पर्धा हुने छ। आवश्यक तयारी सबै पुरा भईसकेको छ।

प्रकाशित: ८ भाद्र २०७९ १५:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App