१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

मानसिक समस्याले औषधि खाइरहेका छन् स्टोक्स

इङ्ल्यान्डका टेस्ट कप्तान बेन स्टोक्सले मानसिक स्वास्थ्य समस्यासँगको मुद्दाका विषयमा लड्न हरेक दिन औषधि सेवन गर्नुपरेको खुलासा गरेका छन्।

गत वर्ष मात्र स्टोक्स मानसिक स्वास्थ्य समस्याका कारण केही समय क्रिकेटबाट टाढिएका थिए। ३१ वर्षे स्टोक्सका पिता गेडको पनि ब्रेन क्यान्सरका कारण दुई वर्षअगाडि निधन भएको थियो। बुबाको निधनपछि खेलमा फर्कन उनले निकै संघर्ष गरेर जसका कारण उनी करिब ६ महिना नै खेलकुदमा टाढिए।

‘यस किसिमको परिस्थितिका कारण औषधि सेवन गर्नपर्छ भन्ने कल्पना नै गरेका थिइनँ। यी सबै कुरा भन्न मलाई कुनै अफ्ठ्यारो महसुस पनि हुँदैन,’ उनले भने, ‘म खेलमा फर्किएपछि यो अवस्था रोकिएन। अहिले पनि म औषधि सेवन गरिरहेको छु र यो प्रक्रिया चलिरहेको छ।’

स्टोक्स यसै वर्षको सुरुआतमा टेस्ट कप्तानका रूपमा चयन भएका थिए। नयाँ प्रशिक्षक ब्रेन्डन म्याकुलमको प्रशिक्षणमा टोलीले राम्रो गरिरहेको पनि छ।

यद्यपि, स्टोक्सलाई भने अझ पनि व्यस्त अन्तर्राष्ट्रिय क्रिकेटका कार्यक्रमहरू सामना गर्न कठिन भइरहेको छ। विश्वकप विजेता उनले गत जुलाईमा एकदिवसीय क्रिकेटबाट संन्यास लिएका थिए। सबै फरम्याटका क्रिकेट खेल्न नसक्ने महसुस गर्दै उनले एकदिवसीय क्रिकेटबाट राजीनामा दिएका हुन्। पछिल्ला समय उनी मानसिक स्वास्थ्यका बारे खुला रूपमा विचार राख्दै आएका छन्। एक डकुमेन्ट्रीमा समेत आफूलाई चित्रण गर्न उनले अनुमति दिए।

‘कहिलेकाहीं मानिसहरू यस विषयमा बोल्न डराइरहेको मैले थाहा पाएको छु। यो मलाई पनि भएको थियो। यद्यपि, हामीले यस विषयमा बोलेनौं भने कमजोर बन्नेछौं। त्यसले तिमी मानसिक रूपमा सही अवस्थामा छैनौ भन्ने पनि स्पष्ट हुन्छ,’ उनले भने, ‘जसले संघर्ष गरिरहेको हुन्छ, त्यसबारे मानिसहरू पनि धेरै सोध्न चाहदैनन्। तर, म सहज र खुसी तरिकाले यसबारे भन्न सक्छु।’ स्टोक्सका पिताले क्यान्सरसँग संघर्ष गरिरहँदा आफू पर्याप्त मात्रा साथमा नहुनुलाई उनी दुखद क्षण मान्छन्। यद्यपि, त्यस्तो स्थितिमा आफू खराब लयबाट गुज्रिदा मानिसहरूको आलोचनाले आफूलाई निकै दुखी बनाएको उनले बताए।

त्यस समयमा क्रिकेट छाड्न मन लागेको उनले खुलासा गरेका छन्। ‘वास्तवमा नै मलाई त्यस समय क्रिकेट छाड्न मन लागेको थियो। तर,मैले केही समय आराम गरें। जब बुबाबारे सम्झिएँ, तब निकै रिसाएको थिएँ,’ स्टोक्सले भनेका छन्। बिहीबार उनको टोली ओल्ड ट्राफोर्डमा दक्षिण अफ्रिकाविरुद्ध दोस्रो टेस्टमा प्रतिस्पर्धा गर्दै छ। तीन खेलको शृंखलामा इङ्ल्यान्डले पहिलो टेस्टमा भने जित निकालेको थियो।

प्रकाशित: ८ भाद्र २०७९ ०१:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App